इलाम-२ : वाम शक्ति एकगठ, शक्ति परीक्षणमा खनाल

किरण पौडेल ४ वैशाख २०८१ ७:४५
58
SHARES
इलाम-२ : वाम शक्ति एकगठ, शक्ति परीक्षणमा खनाल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका साथ इलाम-२ उम्मेदवार जितबहादुर राई।

काठमाडौँ- आमनिर्वाचनका बेला इलाम निर्वाचन क्षेत्र-२ विशेष चर्चामा हुन्थ्यो। उक्त क्षेत्रमा सुवास नेम्वाङ प्रतिस्पर्धामा उत्रिएपछि उनी निर्वाचित होलान् या अन्य उम्मेदवारले बाजी मार्लान् भन्ने चासो देशव्यापी रहनु स्वाभाविकै थियो। किनभने २०५६ पछिका पाँचवटा चुनावमा निरन्तर निर्वाचित नेम्वाङले चार कार्यकाल संसद्को नेतृत्व गरेका थिए।

उनै नेम्वाङको निधन भएपछि इलाम-२ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। यति बेला इलाममा सबै राजनीतिक दलले आफ्नो जमघट बढाएका छन्। सबैको ध्यान इलाम-२ मै छ।

मतदाताको घरदैलोमा ठूला राजनीतिक दल मात्रै होइन, एकल रूपमा उम्मेदवारी दिएका प्रतिस्पर्धीको पनि बाक्लो उपस्थिति भइरहेको छ। एमाले, रास्वपा, एकीकृत समाजवादी, कांग्रेसलगायतका दलले उक्त क्षेत्रमा निर्वाचनका लागि कमान्डर तोकेका छन्। त्यस्तै कमान्डरमध्येका एक हुन् एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल। उनलाई पार्टीले इलाम-२ का लागि कमान्डर तोकेको हो।

खनालको पनि गृहजिल्ला हो इलाम। एमालेमा रहँदा इलाम-१ बाट निरन्तर निर्वाचित हुँदै आएका उनका लागि २०७९ को निर्वाचन अफापसिद्ध भयो। यसपल्टको उपनिर्वाचनमा खनालले उम्मेदवारी दिने चर्चा नभएको होइन। एमाले, माओवादीलगायतका दलले एक भएर उम्मेदवारी दिएपछि खनाल हच्किए। इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी र विप्लव नेतृत्वको नेकपाले पनि साथ दिएको छ।

एकीकृत समाजवादीका तर्फबाट भने जितबहादुर राई मैदानमा छन्। ‘यसपटक हामी चुनाव जित्छौँ, हाम्रो उम्मेदवारको नाम नै जितबहादुर छ,’ खनालले एकीकृत समाजवादीका उम्मेदवार राईलाई सामुन्नेमा राखेर उम्मेदवारी दर्ताका दिन भनेका थिए।

एमाले विभाजनपछि भएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीलाई पाँच दलीय गठबन्धनले साथ दियो। तर नतिजा राम्रो आएन। इलाम-२ मा भने खनालको प्रस्तुति कमजोर देखियो। प्रतिनिधिसभा-प्रदेशसभा निर्वाचनमा पनि इलाम-२ मा खनाललाई पुरानै गठबन्धनले साथ दिएको थियो। समाजवादीले उपनिर्वाचनमा गठबन्धनबिना उम्मेदवारी दिएको छ। ‘चुनाव जित्ने अपेक्षा गरेको छु। अहिलेसम्म राम्रै भइरहेको छ’, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले भने।

प्रतिनिधिसभाको निर्वाचनमा इलाम-१ बाट पराजित भएपछि खनाल कांग्रेसप्रति आक्रामक भए। एमालेप्रति एकाएक नरम थिए। नेम्वाङको निधनपछि खनालले एमालेसँग झनै सुमधुर सम्बन्ध बनाएको इलामका एमाले नेताहरू बताउँछन्। खनाल आफैँ इलाम-२ बाट चुनाव लड्ने तयारीमा थिए। ‘सबै वाम शक्ति एक हुने हो भने म नाइँ भन्दिन,’ खनाल भन्थे, ‘म वाम शक्ति एक होऊन् भन्ने चाहन्छु।’

उनले एमालेसहितका शक्तिसँग उम्मेदवारीबारे कुरा पनि गरेका थिए। ‘उहाँ (खनाल) ले इच्छा गर्नुभएको हो तर एमाले अध्यक्ष केपी शर्मा ओली इच्छुक देखिनुभएन,’ एकीकृत समाजवादी इलामका अध्यक्ष भक्त केसी भन्छन्, ‘एमालेको एउटा कित्ता खनाललाई उम्मेदवार बनाउने पक्षमा थियो। अर्को पक्षले नबनाउने पक्षमा उभियो।’

केसीका अनुसार ओलीले इलाम-२ को उम्मेदवार चयन गर्दा अन्य दलसँग छलफल पनि गरेनन्। एमालेले पटकपटक जित्दै आएको क्षेत्र भएकाले पनि आफ्नै उम्मेदवार उभ्याउने निर्णय गरेको थियो। ‘हामीले क्षेत्र मात्र होइन, हाम्रा आदरणीय नेता (सुवास नेम्वाङ) लाई गुमाएका छौँ। यहाँ हामी जित्ने उम्मेदवार उठाउन चाहन्थ्याैँ’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘यही कारण हाम्रो रोजाइ र मतदाता/कार्यकर्ताको रोजाइमा सुहाङ नेम्वाङ परे।’

खनाल निकट स्रोतका अनुसार एमालेले इलाममा सुहाङ उठाउँदै गर्दा सल्लाह गरेन। यही कारण खनाल एमालेसँग बिच्किए। समाजवादीबाट पनि हरिबाला राई, सचिवालय सदस्य जितबहादुर राई र केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेत सिफारिस भएका थिए। ‘माओवादीको इलाम २ मा निर्णायक भोट छ। एमालेले माओवादीलाई प्राथमिकतामा राखेको हो। समाजवादीको कम मत छ, प्राथमिकतामै राखेन,’ वरिष्ठ अधिवक्ता एवम् इलामको वामपन्थी राजनीतिका जानकार जसबहादुर लुङ्गेली भन्छन्, ‘समाजवादीले पनि आफ्नो मत बुझ्न खोजेजस्तो लाग्छ।’

समाजवादी खनाललाई नै उम्मेदवार बनाउने तयारीमा थियो। गठबन्धनबाट उम्मेदवार नहुने भएपछि समाजवादीका प्राथमिकतामा परेका व्यक्ति थिए, जिल्ला अध्यक्ष भक्त केसी।

‘हो, मलाई प्रस्ताव आएको थियो। तर अहिलेसम्म निष्कलंक भएको व्यक्ति हुँ। त्यसै उठ्ने कुरा भएन,’ केसीले हिमाल प्रेससँग भने, ‘मेरो व्यक्तिगत कारण पनि उम्मेदवारी दिन नसक्ने स्थिति थियो।’

समाजवादीले सिफारिस गरेकामध्ये जितबहादुर अनुभवी हुन्। उनी माईजोगमाई गाउँपालिकाका अध्यक्ष पनि बनिसकेका हुन्। यसैले उनी उम्मेदवार भए।

इलाम-२ मा एकीकृत समाजवादीको शक्ति कमजोर छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समाजवादीले उक्त क्षेत्रमा समानुपातिकतर्फ ५८६ मत प्राप्त गरेको छ। आउँदो उपनिर्वाचनमा समाजवादीले पहिचानवादीको मत आस गरेको देखिन्छ। साझा उम्मेदवार भनिएका डकेन्द्र थेगिमदेखि रास्वपा उम्मेदवार मिलन लिम्बुसम्मले पहिचानकै मतको आस गरेका छन्। यही कारण समाजवादीको मत कति आउँछ भन्न सकिने अवस्था छैन।

प्रकाशित: ४ वैशाख २०८१ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =