वाम शक्ति एकीकरणको सुरुआत भइसक्यो : झलनाथ खनाल

हिमाल प्रेस २४ चैत २०८० ७:०२
4
SHARES
वाम शक्ति एकीकरणको सुरुआत भइसक्यो : झलनाथ खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा वाम शक्ति एकीकरणको सुरुआत भइसकेको बताएका छन्।

केन्द्रीय राजनीतिमा फेरिएको नयाँ सत्ता समीकरणले नेपालमा कम्युनिस्टहरू एकढिक्का हुन सुरु भएको संकेत गरेको बताउँदै खनालले २०८४ कोे आम निर्वाचनअघि नै नेपालका वाम शक्तिबीच एकता हुने बताएका हुन्।

शुक्रबार गृह जिल्ला इलाम आउने क्रममा सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा पत्रकारसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन्। ‘अहिलेको सरकार गठनबाट वाम एकताको यात्रा सुरु भइसकेको छ’, उनले भने, ‘आम निर्वाचनसम्म पुग्दा सबै कम्युनिस्ट एक भएर जान्छन्।’

पूर्वप्रधानमन्त्री खनालले वाम एकताको कार्यदिशा आफैँले अगाडि बढाएको बताए। त्यही अनुरूप अहिले सरकार गठन भएको उनको भनाइ छ।

‘एकता भन्ने कुरा जहिले पनि सम्भव छ। अझ वाम एकता हुन त ढिला भइसक्यो। विचार र सिद्धान्त मिलेपछि कसैले रोक्न सक्दैन’, उनले भने, ‘तर अब टाउका मिल्ने होइन विचार मिल्नेबिच एकता हुनुपर्छ।’

पार्टी एकतापछि २०८४ सम्ममा चुनावी एकता हुने उनको भनाइ छ। ‘पार्टीसँगै चुनावी एकताका लागि मेरो अन्तिम कसरत हुनेछ’, नेता खनालले भने।

सम्मानित नेता खनालले नयाँ सरकार गठनसँगै आम नागरिकमा उत्साह जगाएको बताउँदै यतिबेला मुलुक ठुलो संकटमा रहेको बताए।

‘आर्थिक तरलता, राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार र युवा पलायनका कारण देश संकटमा परेको छ’, उनले भने, ‘आम नागरिक निराश भएका बेला बनेको नयाँ समीकरणका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले जनमुखी काम गर्नुपर्छ।’

खनाल इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्ना दलका उम्मेदवार जीतबहादुर राईलाई सघाउन इलाम आएका हुन्। वैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुने उपचुनावमा एकीकृत समाजवादीको छुट्टै उम्मेदवार रहेको छ। माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष राईलाई पार्टीले अघि सारेको छ।

 

प्रकाशित: २४ चैत २०८० ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =