नेविसंघको जम्बो समिति विस्तार : सिटौला समूहले आपत्ति जनाउँदै दियो विद्रोहको चेतावनी

हिमाल प्रेस २३ साउन २०८० १३:२३
176
SHARES
नेविसंघको जम्बो समिति विस्तार : सिटौला समूहले आपत्ति जनाउँदै दियो विद्रोहको चेतावनी

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति मनोनयनमा एकलौटी गरेको भन्दै कृष्णप्रसाद सिटौला समूहले विद्रोहको चेतावनी दिएको छ। तदर्थ समितिको सभापतिमा दुजाङ शेर्पालाई मनोनयन गरेको डेढ वर्षपछि सोमबार पार्टी सभापति शेरबहादुर देउवाले ७१० जनालाई मनोनीत गरेका छन्।

नेविसंघको केन्द्रीय समिति विस्तार गर्दा एकलौटी गरेको आरोप लगाउँदै सिटौला समूहले विद्यार्थी आन्दोलनमा लागेकाहरूलाई छुटाएर नेताका नजिक भएका तर संगठनलाई योगदान नै नदिएकालाई मनोनीत गरेको आरोप लगाएको छ।

नेविसंघका पूर्वमहामन्त्रीसमेत रहेका बागमती प्रदेशसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहेका सिटौला समूहका नेता कुन्दनराज काफ्लेले संघर्ष गर्नेहरूलाई छुटाएर नेताका नजिककालाई समावेश गरिएको संगठनको निर्णय मान्न नसकिने बताए।

सिटौला समूहका विद्यार्थी नेता मनिष सिंखडाले नेताको खल्तीबाट नाम झिकेर मनोनित गरिएको भन्दै आपत्ति जनाए। उनले भने, ‘हिजो संघर्ष गरेका देशभरका संघर्षशील साथीहरूलाई छुटाएर नेताको खल्तीबाट मनोनित गरिएको छ। यति ठूलो जम्बो कमिटी बनाउँदा पनि संगठनका लागि योगदान दिएकाहरुलाई छुटाउनु राम्रो होइन। यो स्वीकार्न सकिँदैन।’

उनले त्रिभुवन विश्वविद्यालयका नेता योगेन्द्र रावल, शंकरदेव क्याम्पसका नेता दीपक ओझा, जनमैत्री क्याम्पसका इकाइ अध्यक्ष निराजन शाही, आईओएम टिचिङका नेता सुमित बोहोरा, रुपेश शाह, नवराज ढकाल, दुर्गा कापडीसहित कम्तीमा २० जना छुटेको बताए।

‘अहिलेको मनोनयनलाई संसोधन गरेर छुटेकाहरूलाई समावेश नगरे हामी विद्रोहमा जान बाध्य हुनेछौँ’ सिंखडाले भने। नेविसंघको जम्बो समिति बनाएको प्रति सभापति शेरबहादुर देउवाको चौतर्फी आलोचना भइरहेको छ। त्यसो त नेविसंघको मनोनयनमा परेकाहरू कोही अहिले क्रियाशील नभएका, कोही विदेश गइसकेकाहरू पनि छन्।

प्रकाशित: २३ साउन २०८० १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =