कोशीमा अस्थिरता : दलले देलान् त निकास?

हिमाल प्रेस १६ साउन २०८० ७:१७
2
SHARE
कोशीमा अस्थिरता : दलले देलान् त निकास?

काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्ने समय आज सकिँदैछ। सर्वोच्च अदालतले गत ११ साउनमा ७ दिनको म्याद र कोशी प्रदेश प्रमुखले दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदैछ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन प्रदेश प्रमुख परशुराम खापुङले १२ साउनमा दाबी पेस गर्न आह्वान गरेका थिए।

२१ असारमा मुख्यमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापाको नियुक्तिलाई सर्वोच्चले बदर गर्दै ७ दिनभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

मुख्यमन्त्री बन्दा थापाले दाबी गर्दा सभामुखसमेतको हस्ताक्षरलाई प्रदेश प्रमुखले मान्यता दिएका थिए। अब मुख्यमन्त्रीमा दाबी गर्ने दलले बहुमत पुर्‍याउन सभामुखको हस्ताक्षर प्रयोग गर्न पाउने छैनन्।

‘सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब देखिएको हुँदा २०८०/४/१७ भित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नू’ भन्ने परमादेश जारी भएको र सोहीअनुसार सरकार गठनको आह्वान गरिएको’ प्रदेश प्रमुखको कार्यालयले बताएको थियो।

सर्वोच्चले १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आदेश गरेको थियो। यसअनुसार गठबन्धन सरकार नबने संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता हिक्मत कार्की नै पुनः मुख्यमन्त्रीका रूपमा नियुक्त हुन सक्नेछन्।

सत्ता गठबन्धनका मुख्य दल कांग्रेस, नेकपा माओवादी केन्द्रले भने गठबन्धनबाटै मुख्यमन्त्री नियुक्त गर्न सहमत भएका छन्। ९२ सदस्यीय कोशी प्रदेशसभामा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपा गरी ४६ सांसद छन् भने एमाले, राप्रपा गठबन्धनका पनि ४६ सांसद छन्।

यस्तो अवस्थामा प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सरकार गठनका लागि बहुमत (४७) जुटाउने रणनीति बालुवाटारमा शनिबार बसेको कांग्रेस, नेकपा माओवादी केन्द्रको बैठकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको बुझिएको छ। यद्यपि हालसम्म कोसीका सभामुखको राजीनामा आइसकेको छैन।

यस्तो छ तयारी

सत्तारुढ गठबन्धनले बहुमत पुर्‍याएर मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले ४७ मत जुटाएर मुख्यमन्त्रीका लागी दाबी गर्ने तयारी गरेका हुन्।

शनिबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरू सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउन सहमत भएका थिए। कोशीमा सत्तारुढ गठबन्धनमा कांग्रेसका २९, मा‍ओवादी केन्द्र (सभामुखसहित) का १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सा‌ंसद छन्। प्रमुख प्रतिपक्षीतर्फको नेतृत्वमा भने एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन्।

प्रकाशित: १६ साउन २०८० ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =