गत वर्षभन्दा १३ प्रतिशत कम रोपाइँ, कुन प्रदेशमा कति?

हिमाल प्रेस १५ साउन २०८० १५:१८
8
SHARES
गत वर्षभन्दा १३ प्रतिशत कम रोपाइँ, कुन प्रदेशमा कति?

काठमाडौँ– साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत धान रोपाइँ भएको छ। कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार गत वर्षको साउन १२ सम्म ९० प्रतिशत रोपाइँ भएको थियो। केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले देशभर १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको बताए। जसमध्ये १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।

यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ। कोशीमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो।कोशी प्रदेशमा २ लाख ७५ हजार १३३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ हुन्छ। साउन १२ सम्म २ लाख ३१ हजार ११२ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।

मधेश प्रदेशमा हालसम्म ५९ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ। गत वर्ष सोही समयमा मधेशमा ८९ प्रतिशत भूभागमा धान रोपाइँ भएको थियो। मधेश प्रदेशमा ३ लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। हालसम्म २ लाख ९ हजार ८६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको केन्द्रले जानकारी दिएको छ।

बागमती प्रदेशमा हालसम्म ७२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ। गत वर्षको साउन १२ सम्म ९३ प्रतिशत रोपाइँ सकिएको थियो। बागमतीमा १ लाख १३ हजार ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। यसमध्ये हालसम्म ८१ हजार ४२० हेक्वटर क्षेत्रफलमा धान रोपाइँ गरिएको छ।

केन्द्रका अनुसार गण्डकी प्रदेशमा हालसम्म ८२ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ। गत वर्ष साउन १२ गतेसम्म यो प्रदेशका ९६ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो। गण्डकी प्रदेशमा १ लाख ४ हजार ६२२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ। जसमध्ये हालसम्म ८५ हजार ७९० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ गरिएको छ। लुम्बिनी प्रदेशमा ८१ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको केन्द्रको भनाइ छ। लुम्बिनीमा गत वर्ष यही समयमा ८५ प्रतिशत रोपाइँ सकिएको थियो।

लुम्बिनी प्रदेशमा ३ लाख ३९२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। जसमध्ये २ लाख ४३ हजार ३१८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। कर्णाली प्रदेशमा भने गत वर्षकोभन्दा बढेको छ। हालसम्म ८५ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ। गत वर्ष ७८ प्रतिशत मात्र रोपाइँ भएको थियो। कर्णाली प्रदेशमा ३८ हजार ७२७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिन्छ। हालसम्म ३२ हजार ९१८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ। गत वर्ष पनि यही समयमा ९९ प्रतिशत नै रोपाइँ सकिएको थियो। सुदूरपश्चिम प्रदेशमा १ लाख ७१ हजार ४७६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ। सुदूरपश्चिममा हालसम्म १ लाख ६९ हजार ७६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ।

प्रकाशित: १५ साउन २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =