धान रोपाइँ गर्न पानी पर्खंदै तनहुँका किसान

हिमाल प्रेस १० साउन २०८० ८:५७
6
SHARES
धान रोपाइँ गर्न पानी पर्खंदै तनहुँका किसान

तनहुँ– असार महिना विशेषगरी धान रोप्ने समय हो। असारको अन्तिम सातासम्म प्रायःजसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो। तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ।

पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको भानु नगरपालिका-२ का देव कमलीले बताए।

‘यस वर्ष त रोपाइँ नै ढिला भयो, विगतमा असारको २२/२३ गतेसम्ममा रोपाइँ सकिन्थ्यो, अहिले साउनको आधा समय सकिन लागिसक्यो। तर रोपाइँ सकिएको छैन,’ उनले भने।

रोपाइँ गर्ने बेलामा पानी नपर्दा किसानलाई सास्ती परेको छ। पानीको जोहो होला र धान रोपौँला भनेर किसान पानीको पर्खाइमा छन्।

पानी अभावले आधा खेतमा मात्रै रोपाइँ गरिएको व्यास नगरपालिका-७ कलेस्तीका शिवलाल प्रधानको भनाइ छ।

‘बल्लतत्ल आधी खेलमा रोपाइँ सकियो, यसपाली राम्रो उब्जनी हुँदैन भन्ने डर छ,’ उनले भने, ‘कुवा, पधेँरो, खोला र खोल्सीको पानीले खेती गरिने खेतमा पानीको अभावले धान रोपाइँ गर्न सकिएको छैन।’

पहिला जेठदेखि नै पर्याप्त पानी पर्ने गरेकोमा यसवर्ष मध्य साउनमा पनि पानी नपरेकाले खेत रोप्न नसकिएको उनले बताए।

पर्याप्त वर्षा भएपछि कुवा, पधेँरो, खोला, खोल्सीको पानीको मुहान बढेर आएपछि सबैजसो खेतमा धान रोपिने गरेको व्यास-७ का प्रदीप घिमिरे बताउँछन्।

‘यस वर्ष पानी नपर्दा खेतीयोग्य जमिन बाँझिदैछन्,’ उनले भने।

समयमा पर्याप्त वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझिने क्रम बढेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुल तिवारीले जानकारी दिए।

‘समयमा वर्षा भएको भए सबै खेतमा रोपाइँ हुने थियो, यस वर्ष १५ प्रतिशत खेतीयोग्य भूमि बाँझै रहने देखिन्छ,’ उनले भने, ‘ अघल्ला वर्षमा असार मसान्तमा अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो, तर यस वर्ष किसान वर्षाको पर्खाइमा छन्।’

यस वर्ष साउन ९ गतेसम्ममा ७५ प्रतिशतमात्रै रोपाइँ सकिएको उनको भनाइ छ।

‘केही वर्षा भएकाले यस वर्ष ८५ प्रतिशत रोपाइँ हुने देखिएको छ,’ उनले भने, ‘ वर्षा नहुँदा खेती हुने फाँटमै पानी नपुगेर रोपाइँ नभएको पाइएको छ।’

तनहुँमा कुल ११ हजार हेक्टर जमिनमा २४ हजार मेट्रिक टन बर्खे धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ।

जिल्लामा रामधान, सावित्री, हर्दिनाथ १, हर्दीनाथ हाइब्रिड १ लगायत धान लगाउने गरिएको छ। सिँचाइ सुविधा भए चुँदीफाँट, कलेस्ती फाँट, माझफाँट, साँगे फाँट, पुट्टार फाँट, रिस्ती फाँटलगायत फाँटमा पर्याप्त मात्रामा धान फल्छ।

प्रकाशित: १० साउन २०८० ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =