वैदेशिक रोजगारमा समस्यामा परेका १९२ जनालाई क्षतिपूर्ति, छ हजार बढीलाई परामर्श

हिमाल प्रेस २४ चैत २०८० १६:२२
16
SHARES
वैदेशिक रोजगारमा समस्यामा परेका १९२ जनालाई क्षतिपूर्ति, छ हजार बढीलाई परामर्श वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर : सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी

तनहुँ- वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरूप दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ। सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरुप उक्त रकम प्राप्त गरेका हुन्।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्धार तथा जालसाजीमा परेका उनीहरूले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेको कार्यक्रम संयोजक लुना रानाले जानकारी दिइन्।

उनका अनुसार व्यास नगरपालिकाका ६७ जनाले ६१ लाख ९१ हजार, भानु नगरपालिकाका १६ जनाले एक लाख २० हजार, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले ११ लाख, म्याग्दे गाउँपालिकाका २२ जनाले ४५ लाख ५० हजार, भिमाद नगरपालिकाका २५ जनाले ६४ लाख ७९ हजार, बन्दीपुर गाउँपालकाका ११ जनाले दुई लाख, देवघाट गाउँपालिकाका ११ जनाले २१ लाख, आँबुखैरेनी गाउँपालिकाका चार जनाले ५० हजार, ऋषिङ गाउँपालिकाका १४ जनाले दुई लाख ५० हजार क्षतिपूर्ति पाएका छन्।

तनहुँबाहेक अन्य ठाउँका सात जनाले २१ लाख क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी दिइन्। जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १८ ठगीका, १४ मृत्यु, छ जेल, १२ करार उल्लंघन, १४ उद्धार र ६३ अन्य उजुरी परेका थिए।

छ हजार बढीलाई परामर्श

कार्यक्रममार्फत हालसम्म छ हजार छ सय ९१ जनालाई परामर्श प्रदान गरिएको छ। वैदेशिक रोजगारीमा जानुपूर्व सुरक्षित रुपमा जानका लागि सर्वसाधारणलाई आवश्यक परामर्श प्रदान गरिएको छ।

रानाका अनुसार व्यासका एक हजार चार सय ५६, शुक्लागण्डकीका एक हजार ७३ तथा भानु नगरपालिकाका एक हजार १४, म्याग्देका पाँच सय १७, भिमादका छ सय ७१, बन्दीपुरका तीन सय ९९, देवघाटका तीन सय चार, घिरिङका तीन सय ८३, ऋषिङका पाँच सय ५४ र आँबुखैरेनी गाउँपालिकाका तीन सय २० जनालाई परामर्श सेवा दिइएको छ।

प्रकाशित: २४ चैत २०८० १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =