धनुषाका किसानको पीडा- खेतमा पानी लगाउन रात कुर्नुपर्छ, नरहरमै झगडा पर्छ

हिमाल प्रेस ७ साउन २०८० १३:०८
4
SHARES
धनुषाका किसानको पीडा- खेतमा पानी लगाउन रात कुर्नुपर्छ, नरहरमै झगडा पर्छ फाइल तस्बिर। हिमाल प्रेस

धनुषा– कमला नदीमा पानीको सतह कमहुँदा सिरहा र धनुषाका किसानलाई सिँचाइ गर्न समस्या भएको छ।

कमला नदीमा पानीको सतह घट्दा कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको कमला सिँचाइ नहर प्रणालीमा पर्याप्त पानी पुग्न सकेको छैन।

‘धान रोपाइँ गर्न ढिलाइ भइसक्यो, तर खेतमा पर्याप्त पानी पुग्न सकेको छैन,’ धनुषाका किसान अमोद यादवले भने, ‘वर्षा कम भए पनि अघिल्लो वर्ष हामीले कमला नदी प्रणालीबाटै सिँचाइ गरेर धान रोपाइँ गर्‍यौं।’

कमला नदीमा पानीको सतह घटेर खेतसम्म पानी पर्याप्त पुग्न नसकेपछि धान रोपाइँ गर्न समस्या भएको उनले बताए।

‘पहिला-पहिला असार, साउन र भदौ महिनामा कमला नदीमा ठूलो बाढी नै आउथ्यो,’ सिरहाको औरहीका किसान राघव साहले भने, ‘हामी कमला सिँचाइको नहरबाटै सिँचाइ गरेर धान रोपाइँ गर्दथ्यौँ, तर पछिल्लो केही वर्षदेखि कमला नदीमा पानीको बहाव घट्दै गएको छ।’

धानखेतीका बेला पानीको अत्यधिक माग भए पनि कमला नदीमा पानीको बहाव घटेर नहरमा पानी कम आउन थालेपछि किसान चिन्तामा डुबेका छन्।

‘एकातिर लामो समयदेखि वर्षा भएको छैन, अर्कातिर नहरमा चाहे जति पानी आएको छैन,’ राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघका अध्यक्षसमेत रहेका धनुषाका किसान गजाधर यादवले भने, ‘यस्तो अवस्थामा किसानले कसरी सिँचाइ गर्छ र धान रोपाइँ गर्छन्?’

धानखेतीका बेला पानीको अत्यधिक माग भए पनि कमला नदीमा पानीको बहाव घटेर नहरमा पानी कम आउन थालेपछि किसान चिन्तामा डुबेका छन्।

विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तनको प्रभावका कारण इतिहासमै पहिलो पटक यस वर्ष कम वर्षा भएर नदीमा पानीको बहाव कम हुँदै गएको उनले बताए।

‘कमला नदीमा पानीको बहाव कम हुनु किसानका लागि असाध्यै चिन्ताको कुरा हो,’ उनले भने, ‘सिँचाइका लागि कमला नदीमा पर्याप्त पानी आवश्यक छ, वर्षैभरि कमला नदीमा पानी ल्याउन तत्काल सुनकोशी-कमला डाइभर्सनको काम तत्काल अघि बढाउनुबाहेकको विकल्प छैन।’

सुनकोशीबाट कमला नदीमा पानी झार्न सकिए वर्षभरि कमला नदीमा पानी आउँछ, यसबाट सिरहा, धनुषा र सप्तरीमा सिँचाइ सुविधा पुग्ने उनको दाबी छ।

अहिले कमला नदीमा पानीको सतह कम भएर सिँचाइ नहरमा पानी पर्याप्त नआउँदा कतिपय ठाउँमा किसानबीच कुटाकुटसमेत हुने गरेको छ।

कमला सिँचाइ नहर प्रणालीमा कम पानी आउँदा किसानबीच पहिला म खेतमा पानी हाल्छु त पहिला म हाल्छु भन्दै झडप र कुटपिटसमेत हुन थालेपछि कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले आलोपालो विधिबाट किसानको खेतमा पानी पठाउन थालेको छ।

‘पानीका विषयमा कतिपय ठाउँमा किसानबीच विवाद हुने र कुटपिटसमेत हुने गरेको पाइएकाले अहिले आलोपालो गरेर पानी पठाउन थालेका छौं,’ कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्र यादवले भने, ‘अहिले पानीको माग धेरै छ, तर नहरमा कम पानी आइरहेको छ, यस्तो अवस्थामा आलोपालोबाट पानी नपठाउनेबाहेक हामीसँग कुनै विकल्प छैन।’

नहरमा पानी कम आउँदा पनि अचेल रातदिन खटेर किसानको खेतमा पानी पुर्‍याइरहेको प्रमुख यादवको भनाइ छ।

निर्माण गरिएको कमला सिँचाइ पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुँदै आएको छ।

अघिल्ला वर्षमा वर्षा नहुँदा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने समस्यालाई दृष्टिगत गरी कमला नदीबाट सिँचाइ गर्न विभिन्न पूर्वाधार निर्माण गरिएको प्रमुख यादवले जानकारी दिए।

प्रकाशित: ७ साउन २०८० १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 16 =