चिनियाँ ‘एचक्यू ००२’ धानलाई मान्यता, ४४ प्रजातिका धान विस्थापित

हिमाल प्रेस १८ चैत २०८० १८:३९
20
SHARES
चिनियाँ ‘एचक्यू ००२’ धानलाई मान्यता, ४४ प्रजातिका धान विस्थापित

काठमाडौँ– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चिनियाँ धानको बीउ ‘एचक्यू ००२’लाई मान्यता दिएको छ। मन्त्रालयले दुई वर्षको अनुसन्धानपछि चिनियाँ धानको बीउलाई नेपालमा मानयता दिएको हो।

गत साता कृषि मन्त्रालयले उक्त धानको बीउलाई मन्त्रीस्तरीय निर्णय गर्दै सूचीकृत गरेको हो। हाल मान्यता दिएको चिनियाँ बीउसहित एक सय ४२ जातका धानको बीउ सूचीकृत भएको कृषि मन्त्रालयले जनाएको छ।

चिनियाँ ‘एचक्यू ००२’ जातको धानको बीउ प्रतिहेक्टर आठदेखि नौ प्रतिमेट्रिक्टन उत्पादन गर्न सकिने बीउबिजन गुणस्तर केन्द्रले जानकारी दिएको छ। चिनियाँ धानलाई पाँचखाल बीज भण्डार काभ्रे, राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रले सिफारिस गरिएको केन्द्रले जनाएको छ।

चीनमा विकास गरिएको ‘एचक्यू ००२’ धानको बीउलाई दुई वर्ष परीक्षणसँग अध्ययन गरेर मात्र उत्पादनका लागि योग्य ठहरिएको बीउबिजन गुणस्तर केन्द्रका वरिष्ठ बाली विशेषज्ञ प्रकाश आचार्यले बताएका छन्।

उनका अनुुसार मध्यपहाडी क्षेत्रमा उत्पादन गर्न सकिने यस धानले पहाडी क्षेत्रका लागि पहिलोपटक हाइब्रिडका रूपमा सिफारिस गरिएको हो। चिनियाँ धानलाई दोलखा र दैलेखमा दुई वर्षसम्म परीक्षण गर्दा यसबाट उत्पादन भएको चामल नटुक्रिने र चामल मोटो भएको वरिष्ठ बाली विशेषज्ञ आचार्यले बताए।

‘चिनियाँ ‘एचक्यू ००२’ धानको बीउ नेपाली किसानका लागि उपयुक्त देखियो। रोग र किरा कम लाग्ने यो बीउमा सिँचाइको धेरै आवश्यकता पर्दैन। चिनियाँ ‘एचक्यू ००२’ धानको बीउ मध्यपहाडी र पहाडी जिल्लामा उत्पादन राम्ररी हुन्छ,’ उनले भने, ‘चिनियाँ ‘एचक्यू ००२’ प्रतिहेक्टर ९ दशमलव १७ मेट्रिकटनसम्म उत्पादन हुन्छ। चिनियाँ धान पहाडी क्षेत्रका लागि पहिलोपटक हाइब्रिडका रूपमा सिफारिस भएको छ।’

नेपालमा चिनियाँ दुई जातका धानका बीउले मान्यता पाएका छन्। १४ वर्षअघि २०६६ सालमा ‘डिवाई १८’ ले धानका बीउलाई मान्यता दिएको कृषि मन्त्रालयले जनाएको छ। विदेशी धानको विउलाई दुईदेखि तीन वर्षको परीक्षणपछि मात्र मान्यता दिने गरेको कृषि मन्त्रालयले जनाएको छ। १४ बर्षअघि मान्यता पाएको चिनियाँ धानको बीउ भित्री मधेशमा राम्रो उत्पादन भइरहेको कृषि मन्त्रालयले जनाएको छ।

४४ प्रजातिका धान विस्थापित

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले २०२३ देखि २०७९ भित्र हिमाल, पहाड र तराईलाई केन्द्रित गरी १ सय ४२ प्रजातिका धानका बीउ सूचीकृत गरेको जनाएको छ।

यस्तै, नार्कले परावनीपुर–१, जया, आइआर–८, आइआर–२०, आइआर–२२, आइआर–२४, चन्दिना, दुर्गालक्ष्मी, खजुरा–२, मल्लिकाजस्ता धानलाई सूचिकृतबाट हटाएको जनाएको छ। नेपाल बाली तथा आनुवांशिक केन्द्र नार्कले २०२३ देखि लगाउँदै आएको धानलाई बजारीकरण गर्न रोक लगाएको हो। नार्कले २०२३ देखि ०४४ सालसम्म उत्पादन हुँदै आएका धानका ४४ प्रजातिका बीउ उत्पादन घटेको, रोग, पानीको अभावलगायत कारणले विस्थापित गर्नुपरेको जनाएको छ। यस प्रजातिका धानमा किसानले रोप्न छाडेपछि हटाउनु परेको नार्कका प्रवक्ता लुमानिधी पाण्डे लौडारीले जानकारी दिए। उत्पादन घट्दै र अन्य समस्या देखिएका धानलाई नार्कले विस्थापित गर्दै आएको उनको भनाइ छ।

हाल उत्पादन हुने धानका प्रजाति

पहाड र तराईका केही भुभागमा बर्खे र चैते गरी दुईपटक धान उत्पादन हुने गरेको छ। चन्दननाथ–१, चन्दननाथ–३, ताइचुङ–१७६, ताइनुङ–२४२, हिमाली, छोमरोङ, कञ्चन, ताइनान–१, ताइनान–२ धान उच्च पहाडीसँगै पहाडी क्षेत्रमा उत्पादन हुने गरेको नार्कले जनाएको छ। यस प्रजातिका धान प्रतिहेक्टर सात प्रतिटनसम्म उत्पादन भइरहेको कृषि विभागले जनाएको छ।

मनसुली, जानकी,सावित्री, मकवानपुर–१, राधा–७, राधाकृष्ण–९, राधा–४, राधा–११, राधा–१२, रामपुर मनसुली, मिथिला, राम, हर्दिनाथ–२, तरहरा–१, बर्खे–३००४, सुनौली सुगन्धा, लल्का बासमती,सुक्खा–१, सुक्खा–२, सुक्खा–३, सुक्खा धान–४, –६, राधा–१३, बहुगुणी–१, बर्खे–२०१४, साँवा मसुली,सुक्खा–५, सुक्खा धानबहुगुणी धान–२, हर्दिनाथ–३ जस्ता उन्नत जातका धान तराईमा उत्पादन हुने गरेको कृषि विभागले जनाएको छ। विभागका अनुसार चैते धानहरूमा चैत–२, चैत–४, चैत–६, हर्दिनाथ–१, चैत–५, विन्देश्वरीजस्ता उन्नत जातका धानको खेती हुने गरेको छ।

विकल्पमा सुक्खा सहन सक्ने राधा–४, सुक्खा–१ देखि सुक्खा–६ सम्मका उन्नत जातका धानखेती समेत नेपालमा हुने गरेको विभागको भनाइ छ।

प्रकाशित: १८ चैत २०८० १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =