बागलुङमा बढ्याे धान उत्पादन

हिमाल प्रेस ७ पुष २०८० १५:४२
28
SHARES
बागलुङमा बढ्याे धान उत्पादन

बागलुङ- गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन्। रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो।

गत वर्ष करिब १० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएकामा यस वर्ष एक सय मेट्रिक टन बढी धान उत्पादन भएको छ। बागलुङ मध्यपहाडी क्षेत्र भएको हुँदा थोरै क्षेत्रमा मात्र सिँचाइको व्यवस्था छ। सीमित सिँचाइको सुविधा हुँदाहुँदै पनि यहाँका किसानले धान उत्पादनमा मेहनत गर्दै आएका छन्।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष ६ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार छ सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो।

यस वर्ष पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ।

जिल्लाको सबैभन्दा बढी जैमिनी नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा धान उत्पादन हुने गरेको छ। यस वर्ष किसानलाई मौसमले साथ दिएको र उन्नत जातका बीउ प्रयोग गरेका कारण धान उत्पादनमा वृद्धि आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश सिलवालले जानकारी दिए।

उनी भन्छन्,‘अहिले पनि बागलुङका धेरै किसानाले रैथाने जातको धानको बीउ प्रयोग गर्ने गरेको पाइन्छ,बिस्तारै नयाँ जातका बीउ प्रयोग गर्न थाल्नुभएको छ,नयाँ प्रविधि पनि अपनाउन थाल्नुभएको छ,पोहोर सालको भन्दा यस वर्ष केही मात्रमा धान उत्पादनमा वृद्धि भएको छ।’

उनका अनुसार यस वर्ष बर्खे धान पाँच हजार सात सय सात हेक्टरमा र चैते धान १० हेक्टर क्षेत्रफलमा लगाइएको थियो।

जैमिनी नगरपालिकाका किसान तिलक सापकोटाले अघिल्लो वर्षभन्दा यस वर्ष ५० प्रतिशतले धान उत्पादन बढी भएको बताए।

गत वर्ष धान भित्र्याउने बेलाको हावाहुरी र ढिलो भएको वर्षाका कारण उत्पादनमा गिरावट आएको उनको भनाइ छ।

गत वर्षसम्म रैथाने बीउ लगाएको जनाउँदै यस वर्ष नयाँ प्रजातिको बीउ लगाउँदा उत्पादन बढेको सापकोटाले बताए।

प्रकाशित: ७ पुष २०८० १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =