संघीय शिक्षा ऐन मंगलबारको मन्त्रिपरिषद्‌बाट पारित हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १४ साउन २०८० १४:३९
896
SHARES
संघीय शिक्षा ऐन मंगलबारको मन्त्रिपरिषद्‌बाट पारित हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट संघीय शिक्षा ऐनको मस्यौदा पारित गरेर सदनमा पठाउन लागिएको बताएका छन्।आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले यसलाई गुणात्मक प्रकृतिको कदम हुने बताए।

‘म आज तपाईंहरूको अगाडि प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु। पर्सी मंगलबार मन्त्रिपरिषद्को बैठकबाट पहिलोचोटि संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ। मलाई लाग्छ, यो आफैँमा निकै गुणात्मक प्रकृतिको कदम हुनेछ। र यसले शिक्षा क्षेत्रमा अहिले देखापरेका थुप्रै समस्याहरूलाई सम्बोधन गर्ने तागत त्यो ऐनले राख्नेछ,’ उनले भने।

संविधान बनेको लामो समयसम्म पनि संघीय शिक्षा ऐन नआएकोमा आलोचना हुँदै आएको थियो। पछिल्ला शिक्षा मन्त्रीहरूले यही विषयलाई प्राथमिकतामा राखेको बताउने गरेका थिए।

त्यस्तै उनले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले जेहाद छेडिसकेको बताए। ‘जसरी अहिले भ्रष्टाचारविरोधी र बेथितिविरुद्ध सरकारले अभियान चलाएको छ। राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ। तस्करीविरुद्ध जेहाद छेडिएको छ’, उनले भने, ‘यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ, यो कदम समृद्धिका लागि यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो।’

उनले अहिलेकोअभियान बेपत्ता घाइते र अपांगहरूको सपना साकार गर्ने लडाइँ भने। ‘यो पक्षमा सरकार समाजवादी मोर्चाको समर्थन चाहिएको छ। हेर्दै जानुहोला अरु फाइलहरू खुल्दै जानेछन्। त्यतिबेला तपाईंहरूको समर्थन चाहिन्छ’, उनले भने, ‘एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौँ।’

प्रकाशित: १४ साउन २०८० १४:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 12 =