पुष्पकमल दाहाल ‘प्रचण्ड’। फाइल तस्बिर
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट व्यक्ति (भीआईपी)लाई पक्राउ गर्ने क्रम जारी राखे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।
सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ नियत राखेको भए त्यसको परिणाम सरकारकै लागि घातक हुने बताए।
‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ,’ उनले भने। यस्ता घटना दोहोरिन नदिन उनले सरकारलाई आग्रह गरे।
पक्राउको कारणमा दिइएको ‘सुरक्षा थ्रेट’ सामान्य मानिसले समेत बुझ्ने खालको बहानामात्र भएको प्रचण्डको दाबी थियो। सुरक्षा जोखिम नै रहेको भए पक्राउ गर्नुको साटो सम्बन्धित व्यक्तिको सुरक्षामा सुरक्षाकर्मी थप गर्नुपर्ने उनको तर्क थियो।
‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ उनले भने, ‘सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिन पर्यो नि।’
सरकारले ‘सुरक्षा थ्रेट’ भन्दै शनिबार मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई नियन्त्रणमा लिएको थियो।
यसैबीच, प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले बोल्नुपर्ने विषय नै उठाएको प्रतिक्रिया दिए।
त्यसलाई स्वाभाविक भन्दै उनले यस विषयलाई लिएर अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको बताए।
प्रधानमन्त्री बालेनको स्थानमा अरू कोही भएको भए पनि महासभामा त्यही विषयमा बोल्ने उनको धारणा थियो।



