फाइल तस्बिर
काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकार पक्राउ गर्ने र खोजी गर्ने प्रहरी गतिविधिको विरोध गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपाले समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्ने र सञ्चारमाध्यमलाई त्रसित पार्ने काम भइरहेको भन्दै आपत्ति जनाएको हो।
पार्किङमा अवरोध पुर्याउनेदेखि जनआस्थाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीसम्मका घटना स्मरण गराउँदै नेकपाले पछिल्लो समय नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई न्युजरुमबाटै पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
यी घटनालाई संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकमाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै नेकपाले सरकार शृङ्खलाबद्ध रूपमा प्रेस स्वतन्त्रताविरुद्ध उत्रिएको देखिएको नेकपाले जनाएको छ।
‘नेपाली कम्युनिस्ट पार्टी सरकारको यसप्रकारको असंवैधानिक र अलोकतान्त्रिक रवैयाको घोर निन्दा एवं भर्त्सना गर्दै राज्य आतंक तत्काल बन्द गर्न र पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
शुक्रबार प्रहरीले काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालय पुगेर तीन जना पत्रकारलाई पक्राउ गरेको थियो।



