रास्वपा सचेतक परियारले गरे पत्रकार पक्राउप्रति भर्त्सना

हिमाल प्रेस १४ कार्तिक २०८३ १०:५२ | Saturday, October 31, 2026
4
SHARES
रास्वपा सचेतक परियारले गरे पत्रकार पक्राउप्रति भर्त्सना

काठमाडौँ– सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचारका विषयमा समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयासप्रति घोर भर्त्सना गरेका छन्।

शुक्रबार साँझको घटनाविरुद्ध विज्ञप्ति जारी गरी रास्वपा सचेतक परियारले राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ उन्मुख देखिएको टिप्पणी गर्दै विरोध गरेका हुन्।

‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गर्दछु।संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखियो’, उनले लेखेका छन्, ‘पत्रकार विश्वमणि सुवेदी पक्राउ प्रकरण र नयाँ पत्रिकाको कार्यालयमा पुगेका सादा पोसाकका प्रहरी जत्थाको जंगे शैली लोकतान्त्रिक राज्य नेपालको सामान्य चरित्र हुँदै होइन।’

साथै सचेतक परियारले सरकारसँग यो ‘मिडिया धरपकड प्रकरण’को छानिबिनका लागि विशेष माग पनि गरेका छन्।

‘बिदाको मुखैमा गरिएको प्रहरीको यो हर्कत छानबिनयोग्य छ, म सरकारसँग यो ‘मिडिया धरपकड प्रकरण’को छानिबिनका लागि विशेष माग गर्दछु’, उनले लेखेका छन्, ‘पत्रकार/मिडियाको विषयलाई प्रेस काउन्सिलबाटै निरुपण गर्ने अभ्यास गर्न जोडदार माग गर्दछु।’

शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।

यस्तै पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए। मैनाली नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग अढाई घण्टा गलफती गरेको थियो।

यसको चौतर्फी आलोचना भएपछि सरकार र सरकार नेतृत्वकर्ता रास्वपा दुवैले पत्रकार पक्राउका विषयमा आफूहरूलाई कुनै जानकारी नभएको दाबी गर्दै वक्तव्य जारी गरेका थिए।

 

प्रकाशित: १४ कार्तिक २०८३ १०:५२ | Saturday, October 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast