काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले सबस्टेसनका उपकरण परीक्षण तथा सञ्चालनका लागि आज कोसी प्रदेशका पाँच जिल्लासहित मोरङका केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेको छ ।
प्राधिकरणको केरौन १३२/३३ केभी सबस्टेसन आयोजनाले सार्वजनिक सूचना जारी गर्दै कात्तिक आज र भोलि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच डेड इन्ड टावरदेखि टेक अफ ग्यान्ट्रीसम्म लाइनलाई लुप इन लुप आउट (एलआईएलओ) गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्नु पर्ने अवस्था आएको सूचनामा उल्लेख छ ।
यसका लागि दुहबी ग्रिड महाशाखाअन्तर्गतको प्रसारणलाइन अवरुद्ध गरी सबस्टेसनका उपकरण परीक्षण तथा सञ्चालन गर्नुपर्नेछ ।
विद्युत् आपूर्ति बन्द हुने क्षेत्रमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण भाग तथा मोरङ जिल्लाको उर्लाबारी र पथरी आसपासका क्षेत्र रहेका छन् ।
वर्षाका कारण कात्तिक १४ गते शनिबार काम सुरु हुन नसकेमा वा आंशिक रूपमा मात्रै काम गर्न सकिने अवस्था आएमा विद्युत् आपूर्ति बन्द हुने समय थपिनेछ ।
यस्तो अवस्थामा कात्तिक १५ गते आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म र कात्तिक १६ गते सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म पनि विद्युत् आपूर्ति बन्द हुनसक्ने प्राधिकरणले जनाएको छ।



