
काठमाडौँ- मुलुकभर फैलिएकाे लम्पी स्किन महामारी नियन्त्रण गर्न नसकेको सरकार रोगबाट प्रभावित पशुको तथ्यांक संकलनमै चुकिरहेको पाइएको छ। विगत करिब चार महिनादेखि महामारीको रूपमा फैलिएको लम्पी स्किनबाट हजारौँ पशुको ज्यान गइसकेको छ। लाखौं पशु बिरामी भएर किसान चिन्तित भएका बेला संघीय सरकार भने तथ्यांक संकलनमै चुकिरहेको पाइएको हो।
संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु सेवा विभागको तथ्यांकलाई आधिकारिक मान्दै आएको छ। विभागले उपलब्ध गराएको तथ्यांकअनुसार नै कृषि तथा पशुपन्छी मन्त्री वेदुराम भुसालले गत असार २८ गते राष्ट्रिय सभामा मुलुकभर २८ हजार पशुको मृत्यु भएको बताएका थिए। पाँच लाख पशु लम्पी स्किनले बिरामी परेको तथ्यांक राष्ट्रिय सभामा मन्त्री भुसालले प्रस्तुत गरेका थिए।
तर, पशु सेवा विभागकाे तथ्यांक र प्रदेशकाे तथ्यांकमा धेरै अन्तर देखिन्छ। पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बुधबार उपलब्ध गराएको विभागको पछिल्लो तथ्यांकअनुसार मुलुकभर मृत्यु हुने पशुको संख्या २८ हजार ४ सय २४ रहेको छ। उक्त तथ्यांकमा सुदूरपश्चिममा मृत्यु हुने पशुको संख्या १० हजार ९ सय ३९ रहेको उल्लेख छ।

तर, सुदूरपश्चिम प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले सुदूरपश्चिममा मात्रै २५ हजार ९ सय ९१ पशुको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ। निर्देशनालयका अनुसार मृत्यु हुने पशुमा ५ हजार ४ सय ७९ बाच्छाबाच्छी छन्। १३ हजार १ सय ३० गाई, ६ हजार ९ सय १ गोरु र ४ सय ८१ भैँसी मरेका छन्।
पशु सेवा विभागले गत असार पहिलो सातायता लम्पी स्किन रोगबाट प्रभावित पशुको तथ्यांक संकलनका लागि ‘नेसनल कन्ट्रोल रुम’ बनाएको छ। सोहीमार्फत तथ्यांक संकलन गर्दै आएको छ।
विभागका सूचना अधिकारी ढकालले विभागको तथ्यांक कन्ट्रोल रुममार्फत संकलन गरिएकाले तथ्यांक कसरी फरक पर्यो आफूलाई थाहा नभएको प्रतिक्रिया दिए। ‘प्रदेशको तथ्यांक कस्तो हो थाहा भएन,’ उनले हिमाल प्रेससँग भने, ‘हम्रो तथ्यांक नेसनल कन्ट्रोल रुममार्फत आएको हो। कसरी फरक पर्यो थाहा भएन।’ यद्यपि सुदुरपश्चिम पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले गत असार २९ गते विभागलाई नै पठाएको विवरणमा सुदूरपश्चिममा मृतक पशु र बिरामी पशुको संख्या विभागले हालै सार्वजनिक गरेकाे तथ्यांककाे तुलनामा उच्च छ।
