‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा

हिमाल प्रेस २३ असार २०८० १४:४५
6
SHARES
‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा फाइल तस्बिर पशु सेवा विभाग।

गोरखा- ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ। असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन्।

पालेका गोरु मर्न थालेपछि किसान मारमा परेका छन्। लम्पी स्किनले गोरु मरेपछि रोपाइँ गर्न नपाएको गण्डकी गाउँपालिका-३ फुजेलका विष्णुप्रसाद पन्तले बताए। ‘रोपाइँ गर्ने बेलामा गोरु मरे,’ उनले भने, ‘धेरै किसानको गोठमा गोरु बिरामी छन्। रोपाइँ गर्न समस्या भएको छ।’

लम्पी स्किन रोगका कारण हल गोरु नै मरेपछि निरास बनेका पन्तले रोपाइँ गर्न ट्याक्टर खोज्न थालेको बताए। रोपाइँ गर्ने बेलामा गाउँमा लम्पी स्किनले गोरु मर्न थालेपछि किसान चिन्तामा छन्। ‘खेताला पनि पाउन गाह्रो छ,’ पन्तले भने।

लम्पी स्किनले गोरु मरेपछि सहिद लखन गाउँपालिका–६ घैरुङका किसानलाई पनि रोपाइँ गर्न समस्या भएको स्थानीय चेतबहादुर गुरुङले बताए। ‘कसैको हल गोरु नै मरेको छ। कसैको एउटा मरेर हलपाटे बनेको छ,’ उनले भने, ‘जसको घरमा गए पनि गोरु बिरामी छ भन्ने मात्र जवाफ आउँछ। गोरु नपाएर अहिलेसम्म खेत रोप्न पाएको छैन।’

गोरखामा लम्पी स्किन फैलिँदै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डा. शर्मिला कुमालले बताइन्। जिल्लामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पी स्किनबाट संक्रमित भएका छन्। यस रोगबाट एक सय चार गोरु मरिसकेका छन्। जिल्लाका ११ वटै स्थानीय तहमा लम्पी स्किनको संक्रमण फैलिएको उनको भनाइ छ। रासस

प्रकाशित: २३ असार २०८० १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =