‘लम्पी स्किन’ प्रकोपले ४० प्रतिशत दूध उत्पादन घट्यो

हिमाल प्रेस १८ असार २०८० १५:१८
2
SHARE
‘लम्पी स्किन’ प्रकोपले ४० प्रतिशत दूध उत्पादन घट्यो फाइल तस्बिर पशु सेवा विभाग।

मलेखु- ‘लम्पी स्किन’का कारण धादिङमा दूध उत्पादनमा असर परेकाे छ। यहाँका पशु किसानले लम्कीका कारण दूध उत्पादन घटेकाे बताएका हुन्। दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाईभैँसीमा रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन्।

भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्यांकअनुसार लम्पी स्किनको प्रकोप देखिनुअघि धादिङमा दैनिक एक सय १४ मेट्रिकटन दूध उत्पादन हुँदै आएकाेमा अहिले ३० देखि ४० प्रतिशत उत्पादन घटेको छ।

रोगका कारण दुहुना गाई र भैँसी बिरामी पर्ने र मर्ने समस्याले दूध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको स्रोतमा नै असर परेको छ । ‘रोग फैलिनुअघि दैनिक एक लाख लिटर दूध उत्पादन हुने अनुमानित तथ्यांक थियो। तर अहिले थोरैमा ३० प्रतिशत र बढीमा ४० प्रतिशतसम्म दूधको उत्पादन घटेको अनुमान लगाउन सकिन्छ,’ पशु विकास अधिकृत डा. सन्दीप सिलवालले भने, ‘रोगको संक्रमण बढ्नेक्रम नरोकिएकाले दूधको उत्पादन अझै घट्न सक्छ।’

भेटेरिनरी अस्पतालमा संकलित तथ्यांकअनुसार हालसम्म धादिङमा आठ हजारभन्दा बढी गाईभैँसीमा लम्पी स्किनको संक्रमण देखिएको छ। त्यसमध्ये ७० प्रतिशतभन्दा बढी सङ्क्रमण दुधालु गाईभैँसीमा देखिएको सिलवालले जानकारी दिए। गाउँगाउँमा खटिएका प्राविधिकले पनि दूधको उत्पादनमा ५० प्रतिशतभन्दा बढीले घटेको बताएका छन्।

गोरुभन्दा गाईमा बढ संक्रमण देखिएको नीलकण्ठ नगरपालिका–८ का पशु स्वयंसेवक इशु तामाङले बताइन्। ‘म जहाँ पुगेको छु त्यहाँ दुधालु पशु धेरै मरेको पाएको छु,’  उनले भने, ‘संक्रमणको दर बराबरजस्तै भए पनि असर दुधालु पशुमा नै देखिएको छ,’ तामाङ भनिन्, ‘दूध दिइरहेका र ब्याउने बेला भएका गाईमा रोगको संक्रमण देखिए पनि किसान चिन्तामा छन्।’

स्थानीय तहले समयमै जानकारी नदिँदा जिल्लाको एकीन तथ्यांक आउन नसकेको पशु विकास अधिकृत डा. सिलवालले बताए। जिल्लामा भएका १३ वटै स्थानीय तहले भेटेरिनरी अस्पताललाई जानकारी गर्नुपर्ने भए पनि स्थानीय तहबाट तथ्यांक लिनै कठिन भइरहेको उनको भनाइ छ।

स्थानीय तहहरूले रोग नियन्त्रणका लागि गाउँगाउँमा प्राविधिक परिचालन गरिरहेको बताए पनि रोग नियन्त्रण हुन सकेको छैन। विगत तीन महिनादेखि रोग देखा परे पनि हालसम्म यसको संक्रमण बढ्दो छ। रासस

प्रकाशित: १८ असार २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =