गण्डकीमा ४८ हजार पशु लम्पी स्किन संक्रमित, १० करोड बराबरको क्षति

विजय नेपाल ३१ असार २०८० १७:२५
12
SHARES
गण्डकीमा ४८ हजार पशु लम्पी स्किन संक्रमित, १० करोड बराबरको क्षति

पोखरा- हिमालपारिको जिल्ला मनाङमा पनि लम्पी स्किन राेगकाे संक्रमण बढेकाे छ। अन्य सबै जिल्लामा यसअघि नै फैलिसकेकाे याे राेग पछिल्लाे एक सातायता मनाङमा पनि बढेकाे हाे।

योसँगै गण्डकीका ११ वटै जिल्लामा बाच्छाबाच्छी, गाई, गोरु, पाडापाडी, राँगोलगायत पशुवस्तुमा अहिले लम्पी स्किन महामारीकाे रूपमा फैलिएको छ। गण्डकीका ८५ पालिकामध्ये ८० पालिकामा संक्रमण फैलिएको छ।

एक तथ्यांकअनुसार गण्डकी प्रदेशमा लम्पी स्किनले करिब २ हजार पशु मरेका छन्। हालसम्म ४८ हजार पशु संक्रमित भएकोमा १ हजार ८ सय १ पशु चौपाया मरेका छन्। मरेकामध्ये गण्डकीको नवलपुर (पूर्वी नवलपरासी) मा सबैभन्दा बढी छन्।

त्यहाँ ४ सय ८ वटा अर्थात् ६.८५ प्रतिशत पशुचौपाया लम्पी स्किनले मरेको गण्डकी प्रदेश पशु सेवा निर्देशनालयले जानकारी दिएको छ। संक्रमण भने सबैभन्दा धेरै गोरखाका पशुमा देखिएकाे छ। गोरखामा १३ हजार ८ सय ३६ पशुचौपाया संक्रमित छन्।

गण्डकीमा लम्पी स्किनले मरेकामध्ये सबैभन्दा बढी गाई छन्। गाईमात्र ८ सय ४९ तथा गोरु ७ सय मरिसकेका हुन्। मुस्ताङमा बाच्छाबाच्छी १३ र गाई २० गरी ३३ वटा संक्रमित छन्। संक्रमितमध्ये मुस्ताङमा ४ गोरु मरेका छन्।

मनाङ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले लम्पी स्किनबाट मनाङ पनि अछूतो नरहेको भन्दै सचेत हुने बेला आएकाे बताए। मनाङको चामेस्थित थान्चोकका किसानले पालेको गोरुमा पहिलो पल्ट लम्पकी स्किन देखा परेपछि नियन्त्रणका लागि अभियानै सुरु भएको उनले बताए।

रोग थप फैलिन नदिन मनाङका गाउँगाउँमा खोप अभियानलाई तीव्रता दिइएकाे उनकाे भनाइ छ। २०७७ सालमा पहिलाे पटक नेपालमा याे राेग देखापरेकाे थियाे। समयमै नियन्त्रण र रोकथाम गर्न नसक्दा अहिले देशभर २५ लाखभन्दा बढी पशुमा संक्रमण फैलिएकाे छ।

गण्डकीमा लम्पी स्किनका कारण १० करोड रुपैयाँभन्दा बढीकाे नोक्सान भएको अनुमान छ। पशुविज्ञका अनुसार लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्छ। संक्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र वा गर्भाधान र सुईको प्रयोगबाट पनि फरक पशुलाई रोग सर्न सक्छ।

यो रोग लागेका गाईभैँसीको छालामा १ देखि ५ सेन्टिमिटरको साह्रा र गोला गाँठा हुने गर्दछन्। विज्ञहरूका अनुसार लम्पी स्किन पशुबाट मान्छेमा सर्दैन। लम्पी स्किनबाट ठूलो क्षति बेहोरे पनि सरकारले कुने सहयोग नगरेको किसानहरूको गुनासो छ। पशु बिमा गराएका किसानले भने त्यहीँबाट क्षतिपूर्ति रकम पाउने अपेक्षा गरिएकाे छ। लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा देखिएको थियो।

पशु स्वास्थ्यमा गैरजिम्मेवार सरकार

प्रकाशित: ३१ असार २०८० १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =