स्वास्थ्यमन्त्रीको गुनासो : डाक्टरलाई दरबन्दी भएको ठाउँमा पठाउँदा धम्की आयो

हिमाल प्रेस २८ असार २०८० १२:३७
12
SHARES
स्वास्थ्यमन्त्रीको गुनासो : डाक्टरलाई दरबन्दी भएको ठाउँमा पठाउँदा धम्की आयो

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्। बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने जोखिम रहेको उल्लेख गरे। आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको उनको भनाइ थियो। दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने पनि उनले दाबी गरे।

स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिवद्धता जनाउँदै स्वास्थ्य मन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच नभएको स्थानमा डाक्टरहरुको पहुँच पुर्‍याएर नै छोड्ने बताए।

८ सय डाक्टरहरु काजमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने उनले बताए। ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था आफूले देखेको बताए।

कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै उनले यसमा अप्रेसन नै गर्नुपर्ने दाबी गरे। ‘८ सय डाक्टर स्वास्थ्य मन्त्रालयमा काजमा बसेका छन्। म जस्तै मन्त्रीले राखेका हुन्। मैले एक जना पनि ल्याएको छैन। कर्मचारी व्यवस्थापन कडाइका साथ कदम चालेन भने स्वास्थ्य मन्त्रालय सुधार गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अब यसरी चल्ने वाला छैन। कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्नेवाला छैन। यसलाई अप्रेसन गर्नुपर्ने अवस्था छ। ’

डडेलधुरामा १६ जनाको दरबन्दीमा एक जना डाक्टर नपुगेको र ट्रमा सेन्टरमा २० जना भए पुग्ने ठाउँमा २२ जना अर्थोपेडिक डाक्टर कार्यरत रहेको आफूले पाएको मन्त्री बस्नेतले बताए।

प्रकाशित: २८ असार २०८० १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =