डा. गोविन्द केसीले धम्क्याउँदैमा सरकार पछि हट्दैन : स्वास्थ्यमन्त्री बस्नेत

हिमाल प्रेस २५ मंसिर २०८० १२:३०
10
SHARES
डा. गोविन्द केसीले धम्क्याउँदैमा सरकार पछि हट्दैन : स्वास्थ्यमन्त्री बस्नेत

चितवन- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृयाबाट सरकार पछि नहट्ने बताएका छन्। सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा अभियन्ता डा. गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री बस्नेतले कोही सुत्छु भन्दै सरकार ऐन संशोधनबाट पछि नहट्ने बताएका हुन्।

चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले गर्दा नेपालमा मेडिकल शिक्षा जुन ढङ्गले अघि बढ्नु पर्ने हो त्यो ढङ्गले अघि बढ्न नसकेको उनको भनाइ थियो । उनले भने,‘संशोधनको विषयमा प्रधानमन्त्रीज्यू तयार हुनुहुन्छ। क्याबिनेटमा समेत यसको विषयमा छलफल अब सुरु हुन्छ ।’ अहिलेसम्म ऐन संशोधनको विषयमा दुई पटकसम्म बैठक भइसकेको र संशोधनको प्रक्रियामा अघि बढेको उनको भनाइ छ।

चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उनले जानकारी दिए। चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम भइरहेको बताउँदै उनले यसलाई थप गरेर अघि बढ्ने बताए। उनले भने, ‘कुनै एक जना व्यक्तिले अनसन बस्छु भन्दैमा देशको हितका लागि हुने काममा राज्यले खुट्टा कमाउनु हुँदैन र कमाउँदैन पनि । त्यहाँ भएका राम्रा कुराको कार्यान्वयन र नराम्रा कुराको सुधार एवं संशोधन गरेर अघि बढ्छौँ।’

यो ऐनलाई संशोधन गरेर गुणस्तरीय शिक्षा र शुल्क निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने कुरा गर्नुपर्ने उनको भनाइ थियो। अहिलेको शिक्षा नीति केही खुकुलो हुनुपर्नेमा उनको जोड थियो । सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पतालहरूलाई नर्सिङ् र प्यारामेडिकस् पढाउन दिने र तीन सयभन्दा बढी शय्या भएका अस्पतालहरूलाई एमबिबिएस पढाउन दिने गरी खुकुलो पार्न लागेको उनले जानकारी दिए। सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर मेडिकल शिक्षा सञ्चालन गरिने मन्त्री बस्नेतले बताए।

एक फरक प्रसंगमा बोल्दै मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा लगाइँदै आएको कर अब स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउने गरी काम भइरहेको जानकारी दिए।

प्रकाशित: २५ मंसिर २०८० १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =