दान गरेको रगत सदुपयोग नहुनु अपराध हो : स्वास्थ्यमन्त्री बस्‍नेत

हिमाल प्रेस १२ साउन २०८० १२:१०
6
SHARES
दान गरेको रगत सदुपयोग नहुनु अपराध हो : स्वास्थ्यमन्त्री बस्‍नेत

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले रक्तदाताले दान गरेको रगतको सदुपयोग हुनुपर्ने बताएका छन्। ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा शुक्रबार काठमाडौँमा नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले यस्तो बताएका हुन्।

दाताले दान गरेको रगतको सदुपयोग मा नेपाल रेडक्रस सोसाइटीले विशेष ध्यान दिनु पर्ने उनको भनाइ छ। ‘दाताले दान गरेको रगत सदुपयोग भएन भए त्यो अपराध हो। त्यो हुनु हुँदैन,’ उनले भने।

विश्वमा नै नेतृत्वदायी भूमिका खेलिरहेको रेडक्रसले आफ्नो छवि धमिलो बनाउने कामबाट टाढै रहन मन्त्री बस्नेतले सुझाव दिए। ‘पवित्रतामा थोरै धमिलो भए पनि छवि बिग्रिन्छ। रेडक्रस जस्ता संस्थाले यो कुरा बुझ्नु पर्छ,’ उनले भने।

आफू पनि ४० वर्षदेखि रक्तदानलगायत सामाजिक काममा होमिएको बताउँदै बस्नेतले प्राकृतिक प्रकोपको बेला नेपाल रेडक्रसले गरेको मानवीय सेवा उल्लेखनीय रहेको स्मरण गरे।

मैनबत्तीले आफू बलेर अरूलाई उज्यालो दिए जस्तै रेडक्रसमा लागेका व्यक्तिहरूले आफ्नो व्यक्तिगत फाइदा भन्दा अरूको भलाइका लागि काम गर्नु पर्नेमा जोड दिँदै मन्त्री बस्नेतले सामाजिक भावना र संकल्प बोकेको व्यक्ति मात्र रेडक्रसमा लाग्नुपर्ने उल्लेख गरे।

रक्तदानमा उल्लखनीय सेवा गरेका विभिन्न व्यक्ति र संस्थाहरूलाई सो अवसरमा मन्त्री बस्नेतले सम्मान गरेका थिए।

सम्मानित हुनेहरूमा रेयुकाई नेपाल, रोटरी क्लव, स्वयंसेवी रक्तदाता समाज, ब्लोदान, विभिन्न नगरपालिका, रेडक्रसका विभिन्न जिल्ला शाखासहित कर्मचारी र सामाजिक संस्थाहरू छन्।

कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुणा झाले एक वर्षअघि गरिएको अनुसन्धानले नेपालका ब्लड बैंकहरूको अवस्था दयनीय रहेको देखाएको जानकारी गराउँदै ब्लड बैंकहरूको सुधारमा रेडक्रसले ध्यान दिन आवश्यक रहेको बताइन्।

रक्तसञ्चार केन्द्रले लिने गरेको सेवा शुल्कसम्बन्धी पनि विरोध आउने गरेको स्मरण गराउँदै डा. झाले त्यसलाई पनि गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिइन्।

रेपिड टेष्टको प्रयोगका विषयमा अन्तर्राष्ट्रियस्तरमा पनि कुरा उठेकाले रेपिड टेष्ट बन्द नै गर्नु पर्ने उनले सुझाव दिइन्।

समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले मानवीय सेवालाई मूल लक्ष्य बनाएको रेडक्रसले त्यही लक्ष्य अनुसार काम गर्नु पर्ने बताउदै परिषद्ले असल काममा सधै सहयोग गर्ने बताए।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शन नेपालले रेडक्रसले सबै मानवीय सेवालाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twenty =