आपत्कालीन उपचारका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनुपर्छ : स्वास्थ्यमन्त्री बस्‍नेत

हिमाल प्रेस ८ असार २०८० १३:३४
4
SHARES
आपत्कालीन उपचारका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनुपर्छ : स्वास्थ्यमन्त्री बस्‍नेत

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले आपत्कालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्वस्वास्थ्य संगठनको संयुक्त आयोजनामा ललितपुरमा आजदेखि सुरु भएको आपत्कालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशाला शुभारम्भ गर्दै उनले उक्त निर्देशन दिएका हुन्।

‘आपत्काल कतिबेला आउँछ अन्दाज गर्न सकिँदैन। हाम्रो देशमा हरेक वर्षजसो बाढीपहिरो आएकै हुन्छ। त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौ भने उपचारबाट बञ्चित हुनुपर्ने अवस्था रहँदैन,’ उनले भने।

आपत्कालीन अवस्था आउनुभन्दा पहिले नै हामीले कम्तीमा पनि सम्भावित क्षेत्रमा खाद्यान र औषधि उपलब्ध गराउनका लागि सम्भावित क्षेत्रमा औषधि पठाइसकेको उनले जानकारी दिए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले मन्त्रालयले आपत्कालीन अवस्थामा उपचारका लागि देशका २५ अस्पताललाई हब अस्पताल बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको बताए।

‘कुनै ठाउँमा संकट आइपर्दा सबै एक ठाउँमा आएर संकट व्यवस्थापन गर्न सक्षम छौं,’ उनले भने।

सातवटै प्रदेशमा आपत्कालीन सेवाकेन्द्रमार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकले गरिरहेको डा. सिंहको भनाइ छ।

प्रकाशित: ८ असार २०८० १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =