२०२५ देखि ईपीएस परीक्षा वर्षमा एकपटक, मागको तीन गुणा बढीले मात्रै आवेदन दिन पाउने

रमेश भारती २८ वैशाख २०८१ ८:३०
214
SHARES
२०२५ देखि ईपीएस परीक्षा वर्षमा एकपटक, मागको तीन गुणा बढीले मात्रै आवेदन दिन पाउने परीक्षा दिँदै।

काठमाडौँ– सन् २०२५ देखि कोरियाको ईपीएस भाषा परीक्षा वर्षमा एकपटक मात्र सञ्चालन हुने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाका अनुसार आगामी वार्षिक रूपमा ईपीएस परीक्षाका लागि आवेदन खुलाइने छ।

एचआरडी कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत लैजाने कामदारको हकमा सबै क्षेत्रमा एकैपटक आवेदन आह्वान गर्ने सूचनामार्फत जानकारी गराएको शाखाले जनाएको छ। सन् २०२५ देखि ईपीएस भाषा परीक्षा वर्षमा एकपटक मात्र सञ्चालन हुने सूचना कोरियाबाट आएको इपीएस शाखाकी निर्देशक मैया कँडेलले जानकारी दिइन्। उनका अनुसार आगामी वर्षदेखि वार्षिक रुपमा मात्र कोरियाको आवेदन खुल्ने छ। सन् २०१७ देखि यता वर्षैभरि परीक्षा हुँदै आएको छ।

कोरियाले सबै क्षेत्रमा एकैपटक परीक्षाको आवेदन खुलाउने सूचना दिएको छ। त्यसैका आधारमा परीक्षा सञ्चालन र व्यवस्थापनका लागि छलफल भइरहेको उनले बताइन्। ‘कोरियाले माग गरेको सबै क्षेत्रमा चाहिने आवश्यक जनशक्तिको एकैपटक परीक्षा लिने भएको छ। आगामी वर्षदेखि कृषि, उत्पादनमूलक, सीप बिल्डिङ तथा सेवामूलक सबै क्षेत्रको आवेदन एकैपटक खुल्छ’ उनले भनिन्।

कोरियान भाषा परीक्षा फरक–फरक समयमा चलाउँदा लथालिङ्ग भयो भन्ने एचआरडीको गुनासो छ। त्यही भएर सबै क्षेत्रमा लागू हुनेगरी एकैपटक आवेदन दिन सकिने व्यवस्था कोरिया लागू गरिसकेको उनको भनाइ छ।

ठूलो संख्यामा कोरियान भाषा पढेर कोरिया जान तयारीमा रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिँदा परीक्षा सञ्चालनमा कठिनाइ हुने र परीक्षा उत्तीर्ण गरेका कामदार छनोट तथा रोस्टरमा सूचीकृत गर्ने समस्या भइरहेको शाखाले जनाएको छ।

कोरियाले ईपीएस प्रणालीमार्फत नेपाललगायत १६ वटा देशबाट कामदार रोजगारीमा लैजान्छ। कोरियाले व्यवस्था गरेअनुसार एक वर्षमा एउटा क्षेत्रमा मात्र भाषा परीक्षाका लागि आवेदन दिन पाइन्छ। तर नेपालबाट सबै क्षेत्रमा आवेदन दिने गरेका कारण परीक्षा सञ्चालनमा समस्या भइरहेको कोरियाले बताउँदै आएको छ।

मागको तीन गुणा मात्र आवेदन लिने

आवेदन दिने परीक्षार्थीको संख्या पनि उच्च भएपछि कोरियाले माग संख्याको तीन गुणा मात्र आवेदन लिने भएको छ। श्रम,रोजगार तथा सामाजिक मन्त्रालयले भने सबै क्षेत्रमा परीक्षा लिने मिल्ने व्यवस्था यही साता मात्र लागू गरेको छ। तर कोरियाले भने आगामी वर्षदेखि माग गरेको कोटाभन्दा तीन गुणा मात्र आवेदन लिने निर्णय नै गरेर पठाएको शाखाले जनाएको छ।

गत वर्ष करिब २० हजार नेपाली श्रमिक रोजगारीका लागि कोरिया पुगेको ईपीएस शाखाले जनाएको छ। यति कोटामा दुई लाखभन्दा बढी आवेदन पर्दा परीक्षा सञ्चालनमा समस्या भएपछि कोरिया यस्तो निर्णय गरेको शाखाले जनाएको छ।

तीन गुणा मात्र आवेदन लिने विषयमा भने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, विभागअन्तर्गतको ईपीएस कोरिया शाखा र एचआरडी कोरियाबीच छलफल भइरहेको छ। कोरियाको एचआरडीले माग संख्याको तीन गुणामात्रै आवेदन लिन मिल्ने गरी अनलाइन प्रणालीको व्यवस्था गरिसकेको शाखाकी निर्देशक कँडेलले जानकारी दिइन्।

कोरिया भाषा परीक्षाका लागि अनलाइनमार्फत आवेदन दिने व्यवस्था छ। जसका कारण एउटा क्षेत्र छनोट गरेका आवेदकले अर्को क्षेत्र छनोट गर्ने अवसर नपाउने गरी पद्धति निर्माण भएको समेत उनले जानकारी दिइन्।

कोरियाले हाल विभिन्न चार क्षेत्रमा नेपाली कामदार लैजान्छ। विगतमा कृषि र उत्पादनमूलक क्षेत्रमामात्र श्रमिक लैजाने गरेको कोरियाले दुई वर्षयता सीप बिल्डिङ र सेवामूलक क्षेत्रमा समेत नेपाली कामदार लैजान थालेको हो।

कोरियाले नेपाली श्रमिकहरूलाई प्रथामिकतामा राख्दै माग संख्या पनि बढाउँदै लगेको छ। कोरियाले रोजगारीको क्षेत्र बढाउँदै लैजाँदा नेपालबाट जाने श्रमिकको संख्या पनि उल्लेख्य वृद्धि भएको शाखाको तथ्यांकमा छ।

सन् २००८ देखि कोरियाले सरकारीस्तरमा श्रम सम्झौता गरेर नेपाली कामदार लैजान थालेको हो। हाल कोरियामा १ लाख ५० हजारभन्दा बढी नेपाली कार्यरत छन्। कोरियाले पछिल्लो समयमा नेपाली कामदारले ई–सेभन भिसा पाएपछि परिवार लैजाने सुविधासमेत दिएको छ।

प्रकाशित: २८ वैशाख २०८१ ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =