प्रचण्डले भने : म अलिकति भावनात्मक छु नै, यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के?

हिमाल प्रेस २५ असार २०८० १७:०५
54
SHARES
प्रचण्डले भने : म अलिकति भावनात्मक छु नै, यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के?

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भावनात्मक भएको बताएका छन्। भारतीय व्यापारी प्रितम सिंहको पुस्तक विमोचनमा बोलेको अभिव्यक्तिका कारण प्रश्न खेपिरहेका उनले प्रतिनिधिसभाको सोमबारको बैठकमा जबाफ दिँदै यस्तो प्रस्टीकरण दिएका हुन्।

प्रचण्डले सिंहसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको पनि दाबी गरे। पुस्तक विमोचनमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले नेपाल र भारतमा नेताहरूसँग कुरा गरेको बताएका थिए। ‘म अलिकति भावनात्मक छु नै। यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? थोरै भावनामा म आएँ। मैले त्यो कुरा नभने हुन्थ्यो। भन्नुपर्ने जरुरी थिएन। तर मैले भनेँ। मनमा आयो भनेँ। राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ?,’ उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो। मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुबा भएर बोलेँ। त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ। सदासयताका निम्ति धन्यवाद दिन पुगेँ। त्यति त हो कुरा।’

प्रचण्डकी  छोरी ज्ञानु बिरामी भएका बेला उनै सिंहको घरमा राखेर रेखदेख गरिएको थियो। दिवंगत छोरीको अन्तिम अवस्था सम्झिएर प्रधानमन्त्री प्रचण्ड संसद्‌मा निकै भावुक बनेका थिए।

प्रचण्डले सिंह कुनै राजनीतिक शक्ति केन्द्र नभएको र कसैलाई प्रधानमन्त्री बनाउने हैसियत नराख्ने पनि बताए। ‘सिंहले भनेर कसैलाई प्रधानमन्त्री हुने वा बन्ने भन्ने होइन। कसैलाई प्रधानमन्त्री बनाउँने सामर्थ पनि छैन। त्यस्तो खालको व्यक्ति पनि होइनन्,’ उनले भने, ‘हिजो अस्ति प्रितम आफैँले पनि भनेका छन् मेरो के हैसियत। उनीसँग नेता तथा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन। उनीसँग बिरामी छोरीलाई सहयोग गरेको कृतज्ञ बाबुको सम्बन्ध मात्रै हो।’

उनले आफूलाई निजी र सार्वजनिक कार्यक्रममा फरक रुपमा प्रस्तुत हुन गाह्रो परेको पनि बताए। उनले यसलाई आफ्नो कमजोरीका रूपमा पनि औँल्याए।

‘मेरो सबल पक्ष वा कमजोरी जे भने पनि सार्वजनिक र निजी कार्यक्रममा फरक रूपमा प्रस्तुत हुन धेरै गाह्रो पर्छ। सायद यो मेरो कमजोरी पनि हो र सायद सबल पक्ष पनि यसभित्र अन्तर्निहित छ कि?,’ उनले भने, ‘निजीजस्तै सार्वजनिक अभिव्यक्तिमा पनि म मनले बोल्छु। प्रधानमन्त्रीले बोल्नुपर्ने त दिमागले हो। यो कुराको सैद्धान्तिक ज्ञान मलाई नभएको होइन। तर मान्छेको स्वत्व, जिन, उसको प्रवृत्ति विशेषता जसले हामीलाई अलगअलग बनाएको छ, त्यही स्वत्वभित्र यो पर्छ। म दिमाग र मन दुवैले बोल्छु। कहिले मन अगाडि हुन्छ कहिले दिमाग।’

आफूलाई धेरै साथीहरूले यस्तो स्वभाव परिवर्तन गर्न सुझाव दिने गरेको प्रचण्डले बताए। ‘तर ७० वर्षतिर अगाडि बढिरहेको समयमा यो बदल्ने कुरा फलामको कुरा हुँदो रहेछ। अब बदल्छु भन्यो बोल्न जाँदा आइहाल्छ। इमानदारीका साथ यो तथ्य राख्नुबाहेक मसित के विकल्प छ ? यही हो म, यही हो प्रचण्ड’, उनले भने।

यो तहको भावुकता ठिक नभएको निष्कर्षमा आफू पुगेको उनले बताए। सार्वजनिक अभिव्यक्तिमा आफ्नो भाषा नमिलेको उनको स्वीकारोक्ति थियो। ‘स्वभाववश म अन्तरमनको आवाजतिर फर्किहाल्दो रहेछु। मनभित्र मैलो छैन। नियत सफा भए भित्र र बाहिरका अभिव्यक्ति समान हुँदा रहेछन्। म आत्मसमीक्षा गर्न चाहन्छु। भविष्यमा सतर्क हुन उत्प्रेरित गरेको ठानेको छु।’

रोस्टमबाट प्रधानमन्त्रीको प्रश्न : प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो?

प्रकाशित: २५ असार २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =