काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको समग्र राजनीतिक अवस्था अझै सहज नभएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले निर्वाचनपछि जनताले व्यक्त गरेको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाए।
‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन। हामीले आफ्नोआफ्नो मत राखेका छौं, यो राम्रो कुरा हो। गत निर्वाचनमा हामीले जसरी आफ्ना कुरा राख्यौं,जनताले जसरी आफ्नो अभिमत प्रकट गरे,त्यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन,’ उनले भने।
प्रचण्डका अनुसार सरकारले जनविश्वास बढाउने काम गर्न नसक्दा देशको अवस्था झन् असहज बन्दै गएको छ। ‘बरु दिनप्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ। जनता झन् झस्किएको जस्तो देखिन्छ,’उनले भने।
सुनसरीको कप्तानगन्ज घटनाको प्रसंग जोड्दै उनले राजनीतिक नेतृत्वले राम्रो काममात्र होइन, बेथिति र अराजकताको जिम्मेवारी पनि लिनुपर्ने बताए।


