सुदूरपश्‍चिममा समुदायस्तरमै बढ्दै छ लागूऔषध सेवन

हिमाल प्रेस २३ असार २०८० ११:३०
4
SHARES
सुदूरपश्‍चिममा समुदायस्तरमै बढ्दै छ लागूऔषध सेवन

कञ्चनपुर– लागूऔषध मुद्दामा कैलाली कारागारमा रहेका छोरो भेट्न पुगेकी धनगढीकी कमला अवस्थीको साथबाट प्रहरीले केही दिनअघि लागूऔषध बरामद गर्‍यो।

छोरा ओमप्रकाशलाई भेट्न पुगेकी कमलालाई जाँच गर्ने क्रममा फेला परेको बिस्कुटको पाकेटभित्र लुकाइ राखेको अवस्थामा प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो। ओमप्रकाशकी पत्नी पनि लागूऔषधकै मुद्दामा कारागारमा रहेकी छन्।

यसैगरी कैलाली कारागारमै कैद भुक्तान गरिरहेका धनगढीका करन बमलाई भेट्न पुगेका आफन्त भीम बोगटीलाई पनि सेम्पुको डब्बाभित्र लागूऔषध लुकाएर लैजान लागेको अवस्थामा पक्राउ गरिएको थियो।

पछिल्ला महिनामा लागूऔषधको सेवन, ओसारपसार रोकथामका लागि आफ्नो सक्रियता बढाउँदै लगेको प्रहरीले दाबी गरेको छ।

यी घटनाले लागूऔषधको ओसारपसार र सेवन समाजमा डरलाग्दो रूपमा फैलिरहेको देखाउँछ। समाजमा हुने गरेका अधिकांश आपराधिक घटनामा लागूऔषध सेवनकर्ताको कुनै न कुनैरूपले संलग्नता देखिँदा सुरक्षा चुनौती पनि थपिएको प्रहरीको भनाइ छ।

‘बढी संख्यामा १६ देखि २२ वर्ष उमेर समूहका युवायुवती यस्तो कुलतमा फस्ने गरेको पाइएको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले भने, ‘चोरी, लुटपाट, झैँझगडाजस्ता घटना र कतिपय हत्या घटनामा समेत लागूऔषध सेवनकर्ताको संलग्नता रहने गर्दा सुरक्षा चुनौती थपिएको छ।’

नेपाल-भारतबीचको खुला सीमानाको फाइदा उठाउँदै यसको ओसारपसार गर्न सहज भइरहेको बताइन्छ। सीमापारि भारतीय बजारमा त्यहाँका व्यापारीले निर्वाध रूपमा लागूऔषध बेचबिखन गर्ने गरेको कारण यसको उपलब्धता सहज भइरहेको बताइन्छ।

अभिभावकको उचित संरक्षण एवम् रेखदेख नपाएकै कारण कतिपय युवायुवती आफ्ना साथीभाइको लहैलहमा लागेर लागूऔषधको कुलतमा फसिरहेको देखिएको छ।

घरपरिवारको बिग्रेको आन्तरिक माहोल, सञ्चार प्रविधिको दुरूपयोगले पनि धेरै व्यक्ति दुर्व्यसनीको सिकार भइरहेको पाइन्छ। कतिपय परिवारका अभिभावकले आफ्ना छोराछोरीसँग गर्ने गलत बानी व्यवहारका कारण पनि लागूऔषधको समस्या बढेको देखिएको प्रहरीको अध्ययनले देखाएको छ।

युवायुवती लागूऔषध दुर्व्यसनको सिकार भइरहँदा पनि सम्बन्धित अभिभावक भने बेखबरजस्तै देखिँदा यो समस्या रोकथाम जटिल बन्दै गएको प्रहरीको भनाइ छ। प्रदेश प्रहरी कार्यालयको तथ्यांकले बर्सेनि लागूऔषध मुद्दा दर्ता हुने संख्या बढ्दै गएको देखाएको छ।

आर्थिक वर्ष ०७६/७७ मा लागूऔषधका एकसय ७१ मुद्दा दर्ता भएकोमा आव ०७७/७८ सम्म आइपुग्दा यो संख्या बढेर २ सय ५३ पुगेका थिए। यस्तै आव ०७८/७९मा तीन सय ५३ मुद्दा दर्ता भएकोमा चालु वर्ष ०७९/८०को गत ११ महिनामा यो संख्या झण्डै ४ सय ९१ पुगेको छ ।

पछिल्लो ११ महिनामा दर्ता भएका मुद्दामा सबैभन्दा बढी एक सय ६८ जना १६ देखि २० वर्ष उमेर समूहका युवायुवती छन्। प्रदेशभरिका प्रहरी कार्यालयका थुनुवा कक्षमा विभिन्न अपराधमा हाल रहेका २ सय ६७ थुनुवामध्ये एक सय ३७ जना लागूऔषधसम्बन्धी मुद्दाका छन्।

उनीहरूमाथि थप अनुसन्धान गरी मुद्दा चलाउने प्रक्रिया चलिरहेको छ।

‘यो उमेर समूहका युवायुवतीको दिनचर्याको निरन्तर निगरानी गर्नमा अभिभावक, प्रहरी निकाय, शिक्षक सबैले गम्भीर हुनुपर्ने देखिएको छ,’ एसपी चौधरीले भने, ‘यसबाहेक लागूऔषधको उत्पादन हुने स्थल, सञ्चित गर्ने ठाउँ, आपूर्ति गरिने क्षेत्रलाई डिस्ट्रवाइ गर्न अति आवश्यक छ।’

दुर्व्यसनीको कुलतमा लागेकाले समूहगत रूपमा वा एक्लाएक्लै भए पनि एकान्त ठाउँको खोजी गरी टिपेक्स सुँघ्ने, गाँजा, चरेश, ब्राउन सुगर, ट्याब्लेटजस्ता कडा खालको लागूऔषध सेवन गरिरहेको बताइएको छ।

यस्ता लागूऔषधले धित नमर्ने अवस्था भएमा कुलतमा फसेका कतिपय युवाले सुईको माध्यमवाट टिटी जेसिक, नर्फिन, फेनारगनजस्ता कडा खालको लागूऔषध प्रयोग गर्ने गरेको पाइन्छ।

यस्तो लतमा सबै वर्ग समुदायका युवायुवती लागेको देखिन्छ। कतिपयले समाजमा बदनाम हुने डरले आफ्ना छोराछोरीको यस्तो आनीबानी लुकाउने गरेको पनि देखिन्छ।

यो समस्या समस्या समाधानको प्रयासस्वरूप प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिकासँग समन्वयमा उपमहानगर क्षेत्रको फूलबारीमा २ सय जना अट्ने क्षमताको सुधार केन्द्र स्थापनाको पहल थालेको छ।

कानुनी कारबाहीले मात्रै यो समस्या समाधान सम्भव नदेखिँदा कुलत हटाउन नियमित रूपमा ध्यान केन्द्र र सुधार केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरेर यो केन्द्र स्थापनाको पहल गरिएको बताइएको छ।

प्रकाशित: २३ असार २०८० ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =