कर्णाली प्रदेशमा लागूऔषध दुर्व्यसनीको डरलाग्दो तथ्यांक

हिमाल प्रेस २० माघ २०७९ १७:३१
8
SHARES
कर्णाली प्रदेशमा लागूऔषध दुर्व्यसनीको डरलाग्दो तथ्यांक

सुर्खेत– कर्णालीमा लागूऔषध दुर्व्यसनी बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। लागूऔषधको अवैध ओसापसार र बिक्री वितरण रोक्ने विशेष पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ। सबैको समन्वयमा नै अहिले बढिरहेको लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिने उनहरूको भनाइ छ।

नागरिक समाजका अगुवा पिताम्बर ढकालले विभिन्न नाकामा कडाइ गर्नाका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सुझाव दिए। ‘प्रदेश भित्रिने नाकामा कडाइ गर्नुपर्छ, कडाइ मात्र गरेर भएन, सचेतनाका कार्यक्रम आम नागरिकसम्म पुर्‍याउन सके मात्रै लागूऔषध न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने।

पछिल्लो समय कर्णालीमा लागूऔषध दुर्व्यसनी बढिरहेको बताउँदै यसको न्यूनीकरणमा अहिलेदेखि नै नलागे भयावह स्थिति आउन सक्ने ढकालले बताए। सरोकारवाला नारायण सुवेदीले पनि लागूऔषध दुर्व्यसन प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेको भन्दै दुर्व्यसनी बढ्नुका कारणको खोजी हुनुपर्ने सुझाव दिए।

गैरसरकारी संस्था र सरकारले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी नभएको उनले बताए। ‘लागूऔषध न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै विभिन्न सरकारी तथा गैरसरकारी निकायले गरेका कार्यक्रमलाई प्रभावकारी बनाउन म सुझाव दिन्छु,’ उनले भने।

प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिकको हालसम्म लागूऔषधको ओसारपसार, प्रयोग र बिक्री वितरणका ५५ मुद्दा प्रहरीमा दर्ता भएका छन्। उक्त घटनामा १ सय २ जनालाई प्रतिवादी बनाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए। त्यसमा ९८ पुरुष र ७ महिला संलग्न रहेका छन्।

आर्थिक वर्ष ०७८/७९ मा ९५ मुद्दा प्रहरीमा दर्ता भएका थिए। त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले एक सय ७२ जनालाई मुद्दा दायर गरी पक्राउ गरेको थियो। प्रहरी प्रवक्ता श्रेष्ठले बर्सेनि लागूऔषध दुर्व्यसन बढेको भन्दै नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याए।

‘विद्यालय तहदेखि नै लागूऔषध नियन्त्रणसम्बन्धी सचेतना फैलाउन आवश्यक छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अब सबै पक्षले हातेमालो नगरे कर्णाली प्रदेशमा लागूऔषध दुर्व्यसनी दर भयावह हुन सक्छ, त्यसैले विद्यालय तहदेखि सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ।’ -रासस

प्रकाशित: २० माघ २०७९ १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =