सुनसरी र मोरङमा नागरिकता बनाउनेको भीड : कतै रातभर जागा, कतै पालिका विभाजन गरेर वितरण

विवेक विवश रेग्मी १३ असार २०८० १५:१४
80
SHARES
सुनसरी र मोरङमा नागरिकता बनाउनेको भीड : कतै रातभर जागा, कतै पालिका विभाजन गरेर वितरण

इटहरी- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै सुनसरी र माेरङमा वंशजका आधारमा नागरिकता लिनेको भीड लागेको छ। सुनसरी प्रशासनले पालिका विभाजन गरेर नागरिकता वितरण गर्ने निर्णय गरेको छ भने मोरङमा नागरिकता बनाउन रातभर जाग्राम बसेका छन्।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मंगलबारदेखि वंशजका आधारमा नागरिकता वितरण सुरु गरिएको जानकारी दिइन्। ‘हामीले कागजात पुर्‍याएर आएकाहरूलाई नागरिकता वितरण गरिरहेका छौँ,’ पाण्डेले हिमाल प्रेससँग भनिन्, ‘हिजो ४७ वटा नागरिकता दियौँ। आजका लागि १ सय ८० वटा टोकन वितरण गरिएको छ। करिब २ सय पुग्ला।’

नागरिकता बनाउनेको भीड लागेपछि पालिका विभाजन गरी नागरिकता बनाउन आउनेका लागि सूचना जारी गरिएको उनले बताइन्। ‘हामीले निरन्तर नागरिकता वितरण गर्ने हुनाले भीड नगर्न भनेर सूचना जारी गरेका छौँ,’ उनले भनिन्, ‘वंशजका आधारमा नागरिकता वितरण गर्ने भएसँगै केही दिनयता निकै भीड बढेको छ, स्वभाविक पनि हो।’

फेरि नागरिकता बनाउन रोक लाग्ने वा स्थगित गरिने हो कि भन्ने भयका कारण पनि भीड बढेको हुनसक्ने उनले बताइन्। यसअघि औसत १ सय वटा नागरिकता वितरण हुने गरेकाेमा अहिले त्याेभन्दा बढेको प्रजिअ पाण्डेले जानकारी दिइन्।

अहिले नागिरकता लिनहरूले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ बमोजिम नागरिकता लिइरहेका छन्।

धेरैजसोको कागजात पूरा नभएका कारण कागजात पुर्‍याएर आउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सूचनाअनुसार आइतबार इटहरी उपमहानगरपालिका, सोमबार रामधुनी नगरपालिका र भोक्राहा गाउँपालिका, मंगलबार बराहक्षेत्र नगरपालिका, बुधबार दुहबी नगरपालिका, बिहीबार इनरुवा नगरपालिका र गढी गाउँपालिका तथा शुक्रबार कोशी गाउँपालिकाका सेवाग्राहीले नागरिकता लिन जानुपर्नेछ।

बिहीबार (भोलि) सरकारले सार्वजनिक विदा दिए पनि सुनसरी प्रशासनले भने सेवाप्रवाह प्रभावित नपार्ने बताएकाे छ। प्रजिअ पाण्डेले जारी गरेको सूचनामा ईद पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिए पनि प्रशासनले नयाँ तथा प्रतिलिपि नागरिकता सेवा, राहदानी सम्बन्धि र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा प्रवाह गर्ने उल्लेख छ।

सूचनाअनुसार जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ अनुसार फाराम भर्नुपर्ने, बाबु र आमाको नागरिकताको प्रमाणपत्र, सक्कल जन्मदर्ता प्रमाणपत्र, आमाबुबा र नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपिलगायत कागजात संलग्न गर्नुपर्नेछ।

मोरङमा भने नागरिकता पाउन सेवाग्राहीह रातभर जागा बसेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङले टोकन प्रणाली अवलम्बन गरेर नागरिकता वितरण व्यवस्थित बनाउने प्रयास गरेको छ। तर पनि मंगलबार रातभर सेवाग्राहीहरू जागा बस्नु परेकाे हाे।

सोमबार र मंगलबार दिनमा ४० जनालाई नागरिकता वितरण गर्ने गरी कार्यालयले टोकन वितरण गरेको थियो। बुधबारबाट भने १ दिनमा ९० जनालाई नागरिकता दिने गरी टोकन वितरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय मोरङका सूचना अधिकारी प्रदीप साहले जानकारी दिए।

नागरिकता माग गर्नेहरूले वडाबाटै कागजपत्र रुजु गरेर सिफारिस लिएर आउने भएकाले नागरिकता वितरणमा कागजपत्र नपुग्ने समस्या नदेखिएको प्रशासनकाे भनाइ छ।

मंगलबार राति ९ बजेदेखि आएर सेवाग्राहीहरू जिल्ला प्रशासन कार्यालय अगाडि बसेका छन्। मोरङको बुढीगंगा गाउँपालिका-९ का सुनील सरदारले राति ९ बजे जिल्ला प्रशासनको गेट अगाडि सुतेको बताए।

लाइनमा बस्नेको पालो बिहानै पहिलो हुन्छ भनेपछि प्रशासनको गेट अगाडि सुतेको उनकाे भनाइ थियाे। पानी परेपछि रातभर जाग्राम बसेको उनले बताए। ‘राति पानी पर्दा समस्या भएको थियो। फेरि २ बजेदेखि पानीमा भिज्दै पनि लाइनमा बसेका छन्,’ भीड नियन्त्रणका लागि सुरक्षामा खटिएका एक प्रहरीले भने।

प्रकाशित: १३ असार २०८० १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =