जितपछि वेस्ट इन्डिजका कप्तानको प्रतिक्रिया : नेपाली स्पिनरले दुःख दिए

हिमाल प्रेस ७ असार २०८० २१:५०
98
SHARES
जितपछि वेस्ट इन्डिजका कप्तानको प्रतिक्रिया : नेपाली स्पिनरले दुःख दिए

काठमाडौँ- वेस्ट इन्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल अन्ततः १०१ रनले पराजित भएको छ। जिम्बाबेमा जारी आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले व्यहोरेको यो दोस्रो हार हो। यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टिम जिम्बाबेसँग आठ विकेटले पराजित भएको थियो।

हरारे स्पोर्टस् क्लबमा बिहीबार कप्तान साई होप र निकोलस पुरनले शतक प्रहार गरेपछि दुई पटकको विश्वकप च्याम्पियन वेस्ट इन्डिजले ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल तयार पारेको थियो। नेपाल भने ४९.४ ओभरमा २३८ रन बनाएर अलआउट भयो।

हारपछि नेपालका कप्तान रोहित पौडेलले टेस्ट टिमसँग खेल्दा सिक्ने मौका पाएको प्रतिक्रिया दिए। ‘हामी वेस्ट इन्डिजसँग प्रतिस्पर्धा पूर्णरूपमा तयार भएरै मैदान ओर्लिएका थियौँ। सुरूमा हामीले बलिङ राम्रो गरेको हो। तर फिल्डिङ राम्रो भएन। केही क्याच छुटे। त्यसपछि पुरन र होपले आक्रामक ब्याटिङ गरे। उनीहरूलाई रोक्ने मौका गुमायौँ। हारे पनि टेस्ट टिमसँगको यो खेलबाट सिक्ने मौका पाएका छौँ,’ रोहितले भने।

दोस्रो हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ। समूह ‘ए’ मा रहेको नेपालसँग तीन खेलबाट दुई अंक छ। पाँच टिमसम्मिलित समूहमा चौथो रहेको नेपाल र तेस्रो स्थानको नेदरल्यान्ड्सको अंक बराबर छ। यद्यपि नेदरल्यान्ड्सले एक खेल कम खेलेको छ।

विश्वकप छनोटमा कुल १० टिम सहभागी छन्। जसलाई दुई समूहमा विभाजित गरिएको छ। दुई समूहको शीर्ष तीनमा रहने टिम सुपर सिक्समा पुग्नेछन्। शीर्ष तीनमा रहन अब नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउनै पर्नेछ। नेदरल्यान्ड्सले नेपालबाहेक वेस्ट इन्डिजसँग खेल्न बाँकी छ। अमेरिका सुपर सिक्स समीकरणबाट बाहिरिसकेकाले तेस्रो बन्ने प्रतिस्पर्धामा नेपाल र नेदरल्यान्ड्स छन्। शीर्ष दुईमा वेस्ट इन्डिज र जिम्बाबे छन्। दुवैले चार–चार अंक जम्मा गरेका छन्।

नेपाललाई हराएपछि वेस्ट इन्डिजका कप्तान साई होपले दबाब सहेर ब्याटिङ गरेको बताए। ‘हामी यो खेलमा अन्तिमसम्मै ब्याटिङ क्षमताको प्रयोग गर्न चाहन्थ्यौँ। इनिङ्सलाई तन्काउन सक्यौँ। पुरनको ब्याटिङ गजब थियो। हामीले नेपाली बलरहरूको तारिफ गर्नैपर्छ। विशेषगरी स्पिनरहरूले हामीलाई दुःख दिए। तर स्पिनरहरूको चुनौतीलाई हामीले पार भने गर्नसक्यौँ,’ होपको भनाइ थियो।

नेपालको कमजोर ब्याटिङ

आरिफ शेख र गुल्शन झाले मिलेर बनाएको ६८ रन नेपाली टिमका लागि सर्वाधिक ठूलो साझेदारी रह्यो। यही साझेदारीका कारण हार थप फराकिलो बनेन। मध्यक्रमका आरिफले ९३ बलमा ६३ रन जोडे। १२ ओभरको समाप्तिमा ४८/३ रनको स्थितिमा रहेको नेपाललाई आरिफको ब्याटिङले उकासेको थियो। ४६ औँ ओभरसम्म टिकेका आरिफलाई गुल्शनले साथ दिए। ४४ औँ ओभरसम्म ब्याटिङ गरेका गुल्शनले ५८ बलमा ४२ रन बनाए।

आसिफ शेखसँग ओपनिङ गरेका कुशल भुर्तेल पाँच रनमा आउट भएपछि नेपाल सुरूमै अप्ठ्यारोमा पर्‍याे। कुशलपछि ब्याटिङ गरेका भीम शार्की त दुई रनमै समेटिएका थिए। आशिफ र कप्तान रोहित पौडेल मिलेर नेपाली इनिङस सम्हाल्न खोजेका थिए। तर यी दुई मिलेर २५ रन मात्र बनाउन सके। आशिफ २८ रन बनाएर १२ औँ ओभर र रोहित २० औँ ओभरमा ३० रन बनाएर बाहिरिए। रोहितले आरिफ शेखसँग ३३ रनको साझेदारी गर्न भ्याए। आरिफले दीपेन्द्र सिंह ऐरीसँग ३७ रनको साझेदारी गरेका थिए।

तल्लो क्रममा करण केसीले आक्रामक ब्याटिङ गरेका थिए। तर उनले २७ बलमा बनाएको २८ रन हार टार्न पर्याप्त भएन।

नेपाललाई जितबाट रोक्न जेसोन होल्डरले तीन विकेट लिए। त्यसैगरी अल्जारी जोसेफ, किमो पौउल र अकिल होसेनले दुई–दुई विकेट हात पारे।

वेस्ट इन्डिजविरूद्ध नेपालले सुरूवात भने बलियो ढंगमा गरेको थियो। करण केसीले दोस्रो ओभरमा ओपनर कायल मेयर्सलाई एक रन र गुल्शन झाले पाँचौँ ओभरको पहिलो बलमा जोन्सन चाल्र्सलाई शून्यमा आउट गरेका थिए।

सन्दिप लामिछानेले ब्रान्डन किंगलाई १६ औँ ओभरमा आउट गर्दा वेस्ट इन्डिज ५५/३ रनको स्थितिमा पुगेको थियो। तर होप र पुरनले २१६ रनको साझेदारी गरेपछि वेस्ट इन्डिज विशाल योगफल तर्फ अघि बढेको थियो। होप र पुरनको साझेदारी दीपेन्द्र सिंह ऐरीले ४४ औँ ओभरमा भत्काएका थिए।

उसो त पुरन पटक पटक आउट हुनबाट बचे। यसको कारण थियो, आशिफ शेखले दुई पटक क्याच छाड्नु। आशिफको यो गल्तीका कारण पुरनले अन्ततः आक्रामक शतक प्रहार गर्न भ्याए। आशिफले पहिलो पटक क्याच छाड्दा पुरनले तीन रन जोडेका थिए। त्यसपछि उनी १७ औँ ओभरमा पनि बचे। आखिरमा पुरनले ९४ बलमा १० चौका र चार छक्का प्रहार गर्दै ११५ रन जोडे।

कप्तान होपले पनि जिम्मेवारीपूर्वक ब्याटिङ गरे। उनले तेस्रो विकेटका लागि ब्रान्डनसँग ४६ र पाँचौँ विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए। उनलाई ललित राजवंशीले अन्तिम ओभरमा आउट गरे। ललितले अन्तिम पाँच ओभरमा कुल तीन विकेट हात पारे। अन्तिम ओभरमा होपसँगै किमो पउलको विकेट लिएका ललितले ४८ औँ ओभरमा रोभ्मन पोवेललाई पनि आउट गर्नसके।

अरू चार नेपाली बलरकाे नाममा एक–एक विकेट रह्यो। करण, गुल्शन, सन्दिप र दीपेन्द्र सबैले एक–एक विकेट लिएका थिए।

प्रकाशित: ७ असार २०८० २१:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =