जित्नैपर्ने खेलमा नेपालको खराब ब्याटिङ

हिमाल प्रेस ९ असार २०८० १६:३०
12
SHARES
जित्नैपर्ने खेलमा नेपालको खराब ब्याटिङ

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा पुग्ने सम्भावना जीवित राख्न जित्नै पर्ने खेलमा नेपालले खराब ब्याटिङ गरेको छ। जिम्बाबेको टाकासिंहा स्पोर्ट्स क्लब, हरारेमा नेदरल्यान्ड्ससँगको खेलमा नेपाल १६७ रनमा सीमित भएको हो। नेपाल ४४.३ ओभरमा अलआउट भयो।

टस हारेर ब्याटिङ गरेको नेपालका लागि कुनै ब्याट्सम्यानले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न सकेनन्। कप्तान रोहित पौडेलले बनाएको ३३ रन नेपालका लागि कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक स्कोर रह्यो। ओपनर आशिफ शेखलाई शून्यमा गुमाएको नेपाल २० ओभरको समाप्तिमा ६९/४ को स्थितिमा पुगेको थियो।

अर्का ओपनर कुशल भुर्तेलले भीम शार्कीसँग मिलेर नेपाली इनिङ्स सम्हाल्ने अपेक्षा गरिए पनि ती दुईले मात्र ३९ रनको साझेदारी गर्नसके। कुशल १५ औँ ओभरमा २७ रन बनाएर आउट भए भने भीम १९ औँ ओभरसम्म टिके। क्लेटन फ्ल्योडको बलमा आउट हुनुअघि भीमले २२ रन बटुलेका थिए।

मध्यक्रमका रोहितले आक्रामक सुरुवात गरे पनि धेरै नेपाली इनिङ्सलाई डोर्‍याउन सकेनन्। उनी ३२ औँ ओभरमा लोगान भान बिकको बलमा आउट भए। नेपाली इनिङ्स धरासयी बनाउन भान बिक डच टिमका मुख्य हतियार साबित भए। किनभने उनको नाममा कुल चार विकेट रह्यो। रोहितबाहेक आशिफ, दिपेन्द्र सिंह ऐरी र तल्लोक्रमका सन्दिप लामिछानेको विकेट उनै भान बिकले लिए।

दीपेन्द्रले २१ बलमा १४ रन बनाए भने सन्दिपले ३३ बल सामना गरेर २७ रन बटुल्न सफल भए। मध्यक्रमका कुशल मल्ल १२ र गुल्शन झा १५ रनमा समेटिए। सन्दिप र गुल्शनले आठौँ विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।

विश्वकप छनोटमा तेस्रो खेल खेलिरहेको नेदरल्यान्ड्सका लागि बास डे लिड्स र विक्रमजित सिंहले दुई–दुई तथा फ्ल्योड र आर्यन दत्तले एक–एक विकेट हात पारे।

समूह ‘ए’ बाट सुपर सिक्समा पुग्न शीर्ष तीनमा पर्न प्रतिस्पर्धा गरिरहेका नेपाल र नेदरल्यान्ड्सका लागि यो खेल महत्त्वपूर्ण छ। नेपालले सुपर सिक्समा पुग्ने सम्भावना जीवित राख्न हाे भने नेदरल्यान्ड्सलाई हराउन आवश्यक छ। उता नेदरल्यान्ड्स नेपालमाथि विजयी भए अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित हुँदा पनि सुपर सिक्समा पुग्नेछ।

नेपाल यसअघिका तीन खेलमध्ये एकमा मात्र विजयी भएको थियो भने नेदरल्यान्ड्सले दुई खेलमा एक जित हात पारेको थियो। दुवै टिमले अमेरिकालाई पराजित गरेका हुन्।

प्रकाशित: ९ असार २०८० १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =