सम्भावना सुपर सिक्सको

हिमाल प्रेस ५ असार २०८० २१:१२
32
SHARES
सम्भावना सुपर सिक्सको

काठमाडौँ- भीम शार्की र दीपेन्द्र सिंह ऐरीले अविजित ७४ रनको साझेदारी गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप छनाेटमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ। अमेरिकाले दिएको २०८ रनको लक्ष्य ४३ ओभरमा पूरा गरेको नेपालका लागि भीमले सर्वाधिक ७७ रनको योगदान गरे। दीपेन्द्रले भने ३९ रन जोडे।

हरारेस्थित टाकासिंहा स्पोर्ट्स क्लबमा मंगलबार टस जितेर बलिङ गरेको नेपालले अमेरिकालाई २०७ रनमा सीमित गरेको थियो। अमेरिकालाई सामान्य योगफलमा समेट्न करण केसीले चार र गुल्शन झाले तीन विकेट लिएका थिए। त्यसैगरी दीपेन्द्रको नाममा दुई विकेट रह्यो भने ललित राजवंशीले एक विकेट थपे।

बलियो बलिङ गरे पनि नेपाली ब्याटिङ विभागको प्रदर्शन ठिकठाक मात्र रह्यो। कुल २११ रन बनाएको नेपालले सुरुवात बेजोड गर्न सकेको होइन। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि जम्मा २५ रनको मात्र साझेदारी गरेका थिए। आशिफ (१२) पाँचौँ ओभरमा सौरभ नेत्रभाल्करको एलबीडब्लू धरापमा परे भने कुशल १७ औँ ओभरसम्म टिक्दै ३९ रनमा आउट भएका थिए।

नेपाली इनिङ्स सम्हालिन आवश्यक रहेका बेला भीमले जिम्मेवारपूर्वक ब्याटिङ गरे। छैटौँ ओभर सकिनै लाग्दा ब्याटिङ सुरु गरेका भीमले ११४ बल सामना गर्दा सात चौका र एक छक्का प्रहार गरे। उनले दीपेन्द्रसँग मात्र होइन कुशलसँग पनि महत्तवपूर्ण साझेदारी गरे। दोस्रो विकेटका लागि भीमले कुशलसँग ४९ रनको साझेदारी गरेका थिए।

आशा गरिएका मध्यक्रमका दुई ब्याट्सम्यान भने अमेरिकी बलरसामु फिक्का साबित भए। कप्तान रोहित पौडेल १६ र अर्का युवा ब्याट्सम्यान कुशल मल्ल १३ रनमा सीमित भए।

बलिङतर्फ अमेरिकाका नेत्रभाल्कर, नोस्थुस केन्जिघे, निसार्ग पटेल र स्टिभन टेयलरले एक–एक विकेट हात पारे।

त्यसअघि अमेरिकाले सामान्य योगफल बनाउँदा शायान जाहानगिरले शतक प्रहार गरेका थिए। मध्यक्रमका जाहानगिरको नाममा १ सय रन रह्यो। २२ औँ ओभरमा ६५/५ को स्थितिमा रहेको अमेरिकाको इनिङ्स यिनै जाहानगिरले उकासेका थिए। चार ब्याट्सम्यानले मात्र दोहोरो अंकको रन जोड्दा अमेरिका ४९ ओभरमा २०९ रनमा सीमित भएको थियो।

पहिलो खेलमा जिम्बाबेसँग हारेको नेपालले अमेरिकाविरुद्ध बलियो सुरुवात गरेको थियो। टस हारेर बलिङ गरेको नेपालले १० ओभर सकिँदा अमेरिकालाई १९ रनमा सीमित गरेको थियो। सुरुका चारै विकेट करण केसीले लिएका थिए।

ओपनर स्टिभन टेयलर चार र साइटेजा मुकुमल्ला शून्य रनमा करणको बलमा आउट भएका थिए। अर्का ओपनर शुसान्त मोदानी ४२ रन बनाएको स्थितिमा करणकै बलिङको सिकार बने। कप्तान आरोन जोन्सलाई दुई रनमा समेटेका करणले कुल ३३ रन खर्चिए।

गुल्शनले निशराग पटेल, सौरभ नेत्रभाल्कर र कायल फिलिपलाई आउट गरे। निशरागले आठ र नेत्रभाल्करले चार रन बनाए भने कायलले रनको खाता खोल्न सकेनन्। नेत्रभाल्कर र फिलिप ४९ औँ ओभरमा आउट भएका थिए।

उपल्लो क्रम र मध्यक्रममा लगातार विकेट गुमाए पनि अमेरिकाले पछिल्लो नौ ओभरमा बलियो ब्याटिङ गर्‍यो। जहानगिर एक्लैले ५३ रन जोड्दा अमेरिका १४३ बाट २०८ रनको स्थितिमा पुगेको थियो।

‘प्रदर्शनबाट खुसी छु’
अमेरिकामाथि जित दर्ता गरेपछि नेपालका कप्तान रोहित पौडेलले टिमको समग्र प्रदर्शनमा सन्तुष्ट व्यक्त गरे। ‘हाम्रो लक्ष्य जित थियो। लक्ष्य पूरा गर्‍यौँ। आज करणको बलिङ उत्कृष्ट रह्यो। करणसँगै ललितको बलिङ पनि तारिफयोग्य थियो। खासमा ललितका कारण पनि करणलाई सजिलो भयो,’ जितपछि रोहितले भने।

रोहितले भीमको तारिफ गर्न बिर्सिएनन्। ‘भीमले गजब ब्याटिङ गरे। दीपेन्द्र दाईको योगदान पनि कम थिएन। आशा छ हामी अर्को खेलमा कुनै गल्ती गर्ने छैनौँ। वेस्ट इन्डिजविरुद्ध हामीले गल्ती नगरी, उच्च लयमा क्रिकेट खेल्न आवश्यक छ,’ रोहितको भनाइ थियो।

प्लेयर अफ द म्याच बनेका करणले खेल आफ्नो योजना अनुसारले बगेको प्रतिक्रिया दिए। ‘हाम्रो योजना थियो, टस जिते बलिङ रोज्ने। फेरि मैले पनि लक्ष्य अनुसारको प्रदर्शन गर्न सकेँ। विशेषगरी सुरुवाती ओभरहरुमा मैले बिनादबाब बलिङ गरे। अब हामीले दुई खेल खेल्न बाँकी छ, तीमध्ये एउटा जिते सुपर सिक्समा पुग्ने सम्भावना रहन्छ,’ करणले भने।

उता अमेरिकी कप्तान आरोन जोन्सले खराब बलिङका कारण हार व्यहोर्नु परेको बताए। ‘मलाई लाग्छ हामीले प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो। तर हामी बलिङमा चुक्यौँ। तर हारे पनि सकारात्मक छौँ। विश्वकपमा छनोट हुने सम्भावना सकिएको छैन,’ जोन्स आशावादी देखिए।

जितपछि नेपाल समूह ‘ए’ को तेस्रो स्थानमा छ। दुई खेलबाट तीन अंक जोडेको नेपाल पहिलो खेलमा घरेलु टिम जिम्बाबेसँग आठ विकेटले पराजित भएको थियो। उता अमेरिका पाँच टिमसम्मिलित समूहको चौथो स्थानमा छ। अमेरिका यसअघि वेस्ट इन्डिजसँग ३९ रनले हारेको थियो। समूहको पहिलो स्थानमा जिम्बाबे छ। मंगलबार नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको जिम्बाबेसँग चार अंक छ।

नेपालले अब दोस्रो स्थानको वेस्ट इन्डिजसँग बिहीबार र पुछारको नेदरल्यान्ड्ससँग शनिबार खेल्नेछ। समूहको शीर्ष तीनमा रहे मात्र सुपरसिक्समा पुग्ने भएकाले नेपाललाई कम्तीमा एक जितको आवश्यकता छ। सुपर सिक्समा ६ टिमले प्रतिस्र्धा गर्नेछन् र तीमध्ये दुईले विश्वकपमा स्थान पक्का गर्नेछन्।

समूह ‘बी’ मा श्रीलंका शीर्षस्थानमा छ। श्रीलंकाले जस्तै एक जित हात पारेको ओमान दोस्रो स्थानमा छ। आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) एक–एक खेल खेल्दा जितविहीन छन्। स्कटल्यान्डले खेल्न बाँकी छ।

प्रकाशित: ५ असार २०८० २१:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =