पीएनजीमाथि नेपालकाे सजिलाे जित

हिमाल प्रेस २९ फागुन २०७९ १३:०९
10
SHARES
पीएनजीमाथि नेपालकाे सजिलाे जित

काठमाडौँ- नेपाल आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियाेगिताकाे नजिक पुगेको छ। लिग-२ को आफ्नो ३५ औँ खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई नौ विकेटले हराएपछि नेपालले विश्वकप छनोट खेल्ने सम्भावना प्रबल भएको हो।

सोमबार पीएनजीमाथि सजिलो जित दर्ता गरेपछि नेपालको ३८ अंक भएको छ। जुन तेस्रो स्थानको नामिबियाको भन्दा एक अंक कम हो। अब बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराए नेपाल तेस्रो स्थानमा उक्लिनेछ। लिग-२ को तेस्रो स्थानले नेपाललाई जिम्बाबेमा हुने विश्वकप छनोटमा पुर्‍याउनेछ।

लिग-२ का शीर्ष तीन टिमले विश्वकप छनोटमा स्थान बनाउने हुँदा पहिलो र दोस्रो स्थानका स्कटल्यान्ड तथा ओमानले यसअघि नै विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन्। विश्वकप छनोट आगामी जुन-जुलाईमा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि आशिफ शेखले अर्धशतक बनाए। २१ बलमा ५३ रन बनाउन उनले तीन छक्का र आठ चौका प्रहार गरे।

आशिफ जस्तै अविजित रहेका कुशल मल्ल १३ बलमा १२ रन जोडे। त्यसअघि कुशल कुर्तेल १४ बल खेल्दै ३३ रन बनाएर आउट भएका थिए। उनले दुई छक्का र चार चौका प्रहार गर्न भ्याए।

नेपाली बलरहरूले फेरि एकपल्ट अनुपम बलिङ गरेपछि पपुवा न्युगिनी (पीएनजी) ३२ ओभरमा ९५ रनमा अलआउट भएको थियो। यो योगफल पीएनजीले एकदिवसीयमा बनाएको दोस्रो सर्वाधिक योगफल हो। पाहुना टिम पीएनजीलाई धराशयी बनाउन सन्दीप लामिछानेले पाँच विकेट लिए।

नेपालले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७१ रनमा समेटेको थियो। यूएईलाई हराएपछि नेपालको एकदिवसीय मान्यता सुरक्षित भएको थियो।

कप्तान असाद भालाले बनाएको २० रन नै पीएनजीका लागि सर्वाधिक स्कोर रह्यो। ओपनरद्वय किप्लिन डोरिगा र हिरी हिरीले पहिलो विकेटका लागि मात्र पाँच रनको साझेदारी गरेको पीएनजीले लगातार विकेट गुमाइरह्यो। डोरिगाले दुई र हिरीले १४ रन बनाए।

कप्तान भालाबाहेक सेसे बाउ, चाल्र्स अमिनी, हिला भारे र सेमो कामिआ सन्दीपको बलिङको सिकार बने। बाउ १८, अमिनी १६ र भारे सात रनमा आउट भए भने कामिआ शून्यमा सीमित भए।

यूएईविरुद्धको खेलमा २० रन खर्चिएर पाँच विकेट लिएका ललित राजवंशीले पीएनजीका दुई विकेट हात पारे। उनले जम्मा १३ रन मात्र खर्च गरे। तीन ओभर बलिङ गरेका कुशल मल्लले दुई विकेट लिए।

प्रकाशित: २९ फागुन २०७९ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =