नेपाली बलरसामु रोकिएन वेस्ट इन्डिज

हिमाल प्रेस ७ असार २०८० १६:५४
22
SHARES
नेपाली बलरसामु रोकिएन वेस्ट इन्डिज

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले वेस्ट इन्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ। हरारे स्पोर्ट्स क्लबमा बिहीबार टस जितेर बलिङ रोजेको नेपालविरुद्ध वेस्ट इन्डिजका दुई खेलाडीले शतक प्रहार गरे।

कप्तान साई होपले १३२ र निकोलस पुरनले ११५ रन बनाए। यी दुईको आक्रामक ब्याटिङसँगै वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल तयार पारेको हो। एक दिवसीय क्रिकेटमा नेपालले पाएको यो सर्वाधिक ठूलो लक्ष्य हो।

दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध नेपालले सुरुवात भने बलियो ढंगमा गरेको थियो। करण केसीले दोस्रो ओभरमा ओपनर कायल मेयर्सलाई एक रन र गुल्शन झाले पाँचौँ ओभरको पहिलो बलमा जोन्सन चाल्र्सलाई शून्यमा आउट गरेका थिए।

सन्दिप लामिछानेले ब्रान्डन किंगलाई १६ औँ ओभरमा आउट गर्दा वेस्ट इन्डिज ५५/३ रनको स्थितिमा पुगेको थियो। तर होप र पुरनले २१६ रनको साझेदारी गरेपछि वेस्ट इन्डिज विशाल योगफल तर्फ अघि बढेको थियो। होप र पुरनको साझेदारी दीपेन्द्र सिंह ऐरीले ४४ औँ ओभरमा भत्काएका थिए।

उसो त पुरन पटक पटक आउट हुनबाट बचे। यसको कारण थियो, आशिफ शेखले दुई पटक क्याच छाड्नु। आशिफको यो गल्तीका कारण पुरनले अन्ततः आक्रामक शतक प्रहार गर्न भ्याए। आशिफले पहिलो पटक क्याच छाड्दा पुरनले तीन रन जोडेका थिए। त्यसपछि उनी १७ औँ ओभरमा पनि बचे। आखिरमा पुरनले ९४ बलमा १० चौका र चार छक्का प्रहार गर्दै ११५ रन जोडे।

कप्तान होपले पनि जिम्मेवारीपूर्वक ब्याटिङ गरे। उनले तेस्रो विकेटका लागि ब्रान्डनसँग ४६ र पाँचौँ विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए। उनलाई ललित राजवंशीले अन्तिम ओभरमा आउट गरे। ललितले अन्तिम पाँच ओभरमा कुल तीन विकेट हात पारे। अन्तिम ओभरमा होपसँगै किमो पउलको विकेट लिएका ललितले ४८ औँ ओभरमा रोभ्मन पोवेललाई पनि आउट गर्नसके।

अरु चार नेपाली ब्याट्सम्यानको नाममा एक-एक विकेट रह्यो। करण, गुल्शन, सन्दिप र दीपेन्द्र सबैले एक-एक विकेट लिएका थिए।

प्रकाशित: ७ असार २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =