आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णयमा अध्ययन गर्दै एनसेल

हिमाल प्रेस २९ जेठ २०८० २१:१४
14
SHARES
आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णयमा अध्ययन गर्दै एनसेल

काठमाडौँ- एनसेल आजियाटा कम्पनीले इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)को मध्यस्थतासम्बन्धी निर्णयमा थप अध्ययन गर्ने बताएको छ।

कम्पनीले सोमबार विज्ञप्ति निकालेर आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णयप्रति सम्मान गर्ने बताउँदै बताउँदै त्यसमा थप अध्ययन गर्ने बताएको हो।

मोबाइल फोन सेवा प्रदायक एनसेलले न्यायाधीकरणको निर्णयप्रति सम्मान रहेको उल्लेख गर्दै निर्णयको सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारसँग छलफल गरिरहेको बताएको हो।

विज्ञप्तिः
आजियाटा इन्भेस्टमेन्टस् (यूके) लिमिटेड (आजियाटा यूके) र एनसेल आजियाटा लिमिटेड (एनसेल)ले ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्डको संयुक्त अधिराज्य र नेपाल सरकारबीच फाल्गुन १९, २०४९ (बीआईटी मध्यस्थता)मा भएको द्विपक्षीय लगानी प्रवर्द्धन र संरक्षण सम्झौताअनुसार आफ्नो दाबीहरू राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल (नेपाल)को विरुद्ध आजियाटा यूकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत सेयर अप्रत्यक्ष रूपमा अधिग्रहण (कारोबार) गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन दिएको निवेदनका सम्बन्धमा इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)ले आफ्नो मध्यस्थता कारबाही (मुद्दा नम्बर एआरबी-१९-१५) सम्बन्धी निर्णय दिएको आजियाटा गु्रप बरहाद (आजियाटा) पुष्टि गर्दछ।

आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले जेठ २६, २०८० मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको हो। न्यायाधीकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिबाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको छ।

मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधीकरणको आदेशको पालना नगरेका कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको छ। यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गरी करिब १४ लाख अमेरिकी डलर रहेको छ। यो निर्णयअनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी रहेको छैन।

आजियाटा न्यायाधीकरणको निर्णयलाई सम्मान गर्दछ र निर्णयका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको छ। यस विषयमा अद्यावधिक जानकारीहरू पछि घोषणा गरिनेछन्। आजियाटा आईसीएसआईडी र प्रक्रियामा संलग्न सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दछ र नेपाल सरकारसँग सदा झै रचनात्मक रूपमा संलग्न रहनेछ।

आजियाटा र एनसेलले नेपालको आर्थिक सामाजिक विकासका लागि उलेख्ख योगदानहरु पुर्याएको छ। देशको एक ठूलो करदाताका रूपमा एनसेलले स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्ममा कर तथा विविध शुल्कहरूबापत रू. २ खर्ब ८३ अर्ब योगदान गरेको छ। एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी २५ हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ र १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत जोडेको छ।

आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेलले राष्ट्रका लागि महत्त्वपूर्ण भनेर पहिचान गरिएका क्षेत्रहरू शिक्षा, स्वास्थ्य, र वातावरणका विभिन्न आयोजनाहरूमा १ अर्ब ७५ करोडभन्दा बढी लगानी गरिसकेको छ। एनसेल आफ्ना ग्राहक र नेपाली जनतालाई सेवा दिन पूर्ण रूपमा प्रतिबद्ध छ।

प्रकाशित: २९ जेठ २०८० २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =