जेठमा पनि पानी नपरेपछि नवलपुरमा गरियो इन्द्र पूजा

हिमाल प्रेस २९ जेठ २०८० ८:२२
8
SHARES
जेठमा पनि पानी नपरेपछि नवलपुरमा गरियो इन्द्र पूजा फाइल तस्बिर।

नवलपुर– लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दुम्कौलीमा इन्द्र पूजा गरिएको छ। देवचुली नगरपालिका-१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिक रूपमा इन्द्रको पूजा गरेका हुन्।

जेठ अन्तिम हुँदा पनि पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै वैदिक मन्त्रसहित इन्द्रको पूजा गरेका हुन्।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिल पाठकले मन्दिरमा पूजाआजा गरी नजिकै रहेको नारायणी नदी किनारमा पुगेर पानी मागिएको उनले जानकारी दिए।

इन्द्र पूजा गरेमा पानी पर्ने जनविश्वासका साथ गाउँका सबै जना भेला भएर सो पूजा गरिएको उनले जनाए।

‘देशको अन्य स्थानभन्दा दुम्कौलीको तापक्रम धेरै बढेको कारण स्थानीय भेला भएर इन्द्र पूजा गरेका हौं,’ उनले भने।

जेठको सुरुदेखि नै तापक्रम वृद्धि भइरहेको दुम्कौलीमा शुक्रबार यस वर्षको सबैभन्दा बढी ४४ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।

दिव्यधाम मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णचन्द्र बस्ताकोटीले गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको मकै सुकेको बताए।

‘घोगा लाग्ने बेलाको मकै खडेरीका कारण झर्‍यामझुरुम भएर सुकेको छ,’ उनले भने, ‘मकैमात्रै होइन कृषकले लगाएको केराबाली सुक्न लागे पानी नपर्दा बर्खे धानको बीउ राख्नसमेत ढिला भइसकेको छ।’

इन्द्र खुसी भएमा पानी पारिदिने जनविश्वाससहित स्थानीयले मन्दिरमा ब्रह्मणद्वारा पाठ पारायणसहित हवन र भजन कीर्तन गरेका छन्। -रासस

प्रकाशित: २९ जेठ २०८० ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =