खडेरीले किसानलाई धानको बिउ र मकै जोगाउनै मुस्किल

हिमाल प्रेस ७ असार २०८० ८:४९
6
SHARES
खडेरीले किसानलाई धानको बिउ र मकै जोगाउनै मुस्किल

बागलुङ– वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बिउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो। यसपछि अहिलेसम्म पानी परेको छैन।

लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बिउ सुक्न थालेका छन्। लामो समय खडेरी पर्दा ब्याडमा धानको बिउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन्।

अघिल्ला वर्षहरूमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे। वर्षा नहुँदा खोलानालासमेत सुकेका छन्। खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बिउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ।

जेठ अन्तिम सातदेखि रोपाइँ गर्ने किसान यति बेला आकास हेर्दै बस्न बाध्य छन्। कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवासमेत सुकेर मर्न थालेका हुन्। असार सुरु हुँदासमेत पानी नपर्दा धानको बिउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ।

गएका वर्षहरूमा यति बेला धेरै ६० प्रतिशतको हाराहारीमा रोपाइँ हुने गरेकोमा यस वर्ष करिब २० प्रतिशत मात्रै रोपाइँ भएको बडिगाडका कृषक प्रेम क्षेत्रीको भनाइ छ। लामो खडेरीका कारण धानसँगै मकै र कोदोको बिउसमेत सुकेको उनको भनाइ छ।

‘जेठको २०/२२ मै रोपाइँ गर्ने भनेर बैशाख महिनामै ब्याड राखियो, अहिले धानको बिउ हुर्किएर ठूलो-ठूलो भएका छन्, पानी पर्दैन, अब कसरी रोपाइँ गर्ने, ब्याड राख्ने बेलामा त बर्खा लागेजस्तै लगातार हप्ता दिन पानी पर्‍यो, यसपालि छिट्टै रोपाइँ गर्न पाइने भयो भन्ने लागेको थियो, अहिले धेरै दिन भयो पानी परेको छैन,’ उनले भने,’बारीमा एकोहोराउने बेलाका मकै मर्न थाले, कोदोको बिउ पनि यस्तै भएको छ, बढो समस्या पर्‍यो, बिउ जोगाउनै गाह्रो भयो।’

स्थानीय कृषक तुल जिसीले पहिले असार महिना सुरु हुनुपूर्वनै ढपक्क बर्खा लाग्ने हुँदा किसानलाई खेतीपाती गर्न सहज हुने गरेको भन्दै अहिले खडेरीले गर्दा आफूहरू समस्यामा परेको बताए। खेतमा लगाएको गहुँ स्यारेलगत्तै खनजोत गरेर धान रोप्नका लागि तयार हुने गरेको भन्दै अहिले पानी नपर्दा खेत बाँझोसमेत मार्न नपाएको गुनासो पोख्नुभयो। पानी नपर्दा ठाडो खोला सुकेको हुँदा सिँचाइ गर्न नपाएको उनको भनाइ छ।

‘पहिले-पहिले यस्तो समस्या त हुँदैनथ्यो, जेठको पहिलो/दोस्रो सातादेखि बर्खा लाग्थ्यो, अहिले असार लागि सक्दा पनि बर्खाको अनुभूति हुन सकेको छैन, जताजतै सुक्खैसुक्खा छ, पानी परेर मकै छरियो, ब्याड राखियो, अहिले सुकेर भुसाजस्तो भन्न थाले,’ जिसीले भने, ‘एक झर्का ठूलो पानी परेत मकै पानी राम्रो हुन्थ्यो, खेतमा रोपाइँ गर्न पनि सहज हुन्थ्यो, अब लगातार हप्ता दिनसम्म ठूलो पानी परेन भने रोपाइँ गर्न सम्भव छैन, खोलानाला बढे भने मात्रै रोपाइँ गर्न सकिला, अहिले गाउँका खोलामा कमिला हिँड्छन्, पानी छैन।’

अर्का किसान निलमाया विकले वैशाख पहिलो हप्ता झरेको मकै जेठ दोस्रो साता कुटाएको भन्दै यसयता पानी नपर्दा बारीमा लगाएको सबै मकैको बिरुवा सुकेर नष्ट हुन थालेको बताए। मकैसँगै लगाएको कोदोको बिउ पनि कामै नलाग्ने गरी सुकेको विकको भनाइ छ।

घरनजिक छेउमा रहेको बारीमा खानेपानीको पाइपबाट पानी लगाएर केही मकै र कोदोको बिउ हुर्काउन सफल भएको उनले बताए।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले हालसम्म जिल्लाभर १२ प्रतिशत मात्रै रोपाइँ भएको बताए। लामो समय खडेरी पर्दा कृषकले बिउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उनको भनाइ छ। उनका अनुसार यति बेलासम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सकिनुपर्ने थियो।

वैशाखको वर्षाले कृषक उत्साहित भएर धेरै बिउ उत्पादन गरेको हुँदा रोपाइँ क्षेत्रफल बढ्न सम्भावना बढेको प्रमुख भट्टराईको भनाइ छ।

‘गत वर्ष ५ हजार ८ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ हुन्छ भन्ने लागेको थियो, खडेरीले गर्दा केही समस्या परेको छ,’ प्रमुख भट्टराईले भने, ‘अब वर्षा भयो भने पनि किसानले धेरै नोक्सानी ब्यहोर्नुपर्ने थिएन, जिल्लामा अझै ७५ प्रतिशत रोपाइँ गर्न बाँकी छ।’

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार ५ सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। यसमध्ये ६ हजार १ सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ। खेतीयोग्य जमिनको २० दशमवलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ।

यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ। पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाझिँदै गएका छन्। गाउँमा प्रसस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नुपरेको कृषकको गुनासो छ।

प्रकाशित: ७ असार २०८० ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =