खडेरीको मारमा किसान : कतै भ्यागुताको बिहे, कतै बजार परिक्रमा

हिमाल प्रेस २८ जेठ २०८० २२:२१
6
SHARES
खडेरीको मारमा किसान : कतै भ्यागुताको बिहे, कतै बजार परिक्रमा आइतबार महादेवसँग पानी मागेर जलधारा गर्दै चितवन नारायणगढका स्थानीय। तस्बिर : रासस

काठमाडौँ- असार लाग्न थाल्यो। किसानहरू मानो खाएर मुरी उब्जाउने कार्यका लागि खेतबारीमा हुने बेला हो। खेतमा धान रोप्न र बारीमा कोदो रोप्न बीउ राख्ने बेलामा लामो समय खडेरी परेको छ। केही किसानले धान रकोदोको बीउ राखिसकेका छन्। केहीले पानीकै अभावका कारण अझै पनि राख्न सकिरहेका छैनन्। खडेरीका कारण किसान चिन्तित त छँदैछन्। बीउ राखिसकेका किसान पनि बीउ जोगाउन चिन्तित देखिन्छन्।

केही दिनयता तापक्रम बढ्दै जाँदा मकैका बोटहरू सुक्दै गएका छन्। किसानले व्यावसायिक तथा घरमै प्रयोग गर्न लगाएका तरकारी तथा अन्य बालीहरू सुक्दै गएका छन्।

लामो समयदेखि पानी नपरेपछि वर्षा होस् भनेर विभिन्न उपाय अपनाउन थालिएको छ। नारायणगढका युवाले हरहर महादेव पानी देऊदेऊ भन्दै बजार परिक्रमा गरेका छन्। उनीहरूले गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन्।

कार्यक्रमका संयोजक मनोज घिमिरेका अनुसार मन्दिरमा पूजा गरेर बाजागाजासहित नारायणगढ बजार परिक्रमा गरिएको हो। लामो समयदेखि पानी नपर्दा जनजीवन प्रभावित बन्दै गएपछि यो कार्यक्रम आयोजना गरिएको उनले बताए।

युवाहरूको समूहले बजारको परिक्रममा गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियो। स्थानीयवासीले आआफ्नो घरबाट पानीले स्वागत गरेका थिए। सो क्रममा ‘हरहर महादेव पानी देऊदेऊ, यतिले पुगेन अझै थपिदेऊ’ जस्ता श्लोक गाइएको थियो। लामो समयसम्म पानी नपर्दा जिल्लामा लगाइएका मकै तथा तरकारी बाली सुकेका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ स्थित एक कृषि फर्ममा बारीमै सुकेका बन्दा। तस्बिर : रासस

स्याङ्जाको लामो समय पानी नपरेपछि पुर्खाहरूले गर्दै आएको भ्यागुताको बिहे गरी इन्द्रदेवसँग पानी माग गरिएको बेहुली पक्ष वालिङ–६ भरुवाका नारायणप्रसाद भण्डारीले बताए।

वालिङ–८ को ब्याङतुङबाट बेहुला पक्ष जन्तीसहित भरुवा पुगेर विधिपूर्वक भ्यागुताको बिहे गरिएको हो। ‘पहिले पहिले लामो समयसम्म खडेरी पर्दा पुर्खाहरूले भ्यागुताको बिहे गर्थे’, उनले भने, ‘चार वर्षअघि पनि यस्तै खडेरीमा भ्यागुताको बिहे गरेका थियौँ, उक्त दिन पानी आएको पनि थियो, यसपटक आकाश त गर्जियो तर पानी परेन ।’

रूढीवादी परम्पराजस्तो देखिने भ्यागुताको बिहे पूरै विश्वास गर्न पनि नसकिने र कहीँकतै विश्वास पनि अडिएको आफूलाई लाग्ने गरेको उनी बताउँछन्। ब्याङतुङबाट भ्यागुतालाई डोलीमा राखेर जन्तीसहित बेहुली लिन गएको बेहुला पक्षका गोपालधन सुवेदीले बताए। विधिपूर्वक पूजापाठ गरी भ्यागुताको बिहे गरिएको थियो। राससको सहयोगमा

प्रकाशित: २८ जेठ २०८० २२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =