हिन्दु राष्ट्र र यसको औचित्य

राजाराम बर्तौला २४ वैशाख २०८१ १२:३६
24
SHARES
हिन्दु राष्ट्र र यसको औचित्य

नेपालमा भएको राजनीतिक परिवर्तनपछि राष्ट्रिय कद कायम गरेका नेताहरू एवम् तिनलाई मानक र आदर्श मानेर हिँड्ने कार्यकर्ताहरूले नेपालको अविकसित वा ढिलो विकासको अवस्थालाई केन्द्रीय शासन पद्धति, हिन्दु धर्म, परम्परागत मान्यता, रूढिवाद र अन्धविश्वासलाई दोष लगाउने गरेका छन्। त्यसमा पनि राजनीतिक भाष्य सिर्जना गरी राजतन्त्र, हिन्दु धर्म र भाग्यवादलाई नेपाल पछि पर्नुको कारकका रूपमा लिएर कुप्रचार गर्दै आएका छन्। देशले भोग्नुपरेको रोग, भोक, र शोकका लागि एकात्मक राज्य र हिन्दु राष्ट्र नै कारक तत्त्व हो भन्ने जुन भाष्य निर्माण गरिएको छ त्यो नितान्त गलत छ। दलका नेताहरूले यसबारे जुन भाष्य निर्माण गरेका छन् त्यो यथार्थको नजिक वा अनुकूल थिएन र छैन।

नेपालको जनसंख्याको आकारबमोजिम ९४ प्रतिशत ॐ कार परिवार छ। ॐकारबाहेकका गैरसनातनीहरूको कुप्रचार र धर्मान्तरणको प्रभावमा नेपाली समाज ग्रसित हुँदै गएको अवस्था देखिन्। यसबाट सनातनी परम्पराको अवलम्बनकर्ताहरूमा जागरुकता र संवेदनशीलताको अभाव देखिएको छ। हिन्दु धर्म र हिन्दुत्वको विषयलाई ठीकसँग बुझिएको छैन। हामी धेरैले धर्म भनेको कर्मकाण्ड हो भन्ने सम्झेका छौँ। आफ्नो रीति, संस्कार गर्न पाएकै छौँ। धर्मान्तरणको विरोध किन गर्नु भन्ने अधिकांशको प्रतिक्रिया पाइएको छ।

नेपालमा विभिन्न धार्मिक समुदाय मिलेर सदीयौँदेखि बसेका छन्। आआफ्नो संस्कार र संस्कृतिको अवलम्बन गर्दै आएका छन्। एकले अकर्माको तेरो र मेरो गरेर धर्मान्तरणका लागि बाध्य पार्ने काम गरेका छैनन्। नेपालमा आएको राजनीतिक परिवर्तनपछि भने धर्मान्तरणको प्रयास र प्रभाव बढ्दै गएको छ। यसले हाम्रो पहिचान संकटमा पर्ने देखिएको छ।

छिमेकी भारतमा लामो समयको विदेशी अतिक्रमण र विदेशी शासनले गर्दा (सन् ७०० देखि १९४७ सम्म, पहिला इस्लाम र पछि ख्रिस्तानी) हिन्दु धर्ममा मिसावट आएको छ। पृथ्वीनारायण शाहको असली हिन्दुस्थाना भन्नुको निहितार्थ पनि यसैमा हो।

धर्मलाई कुनै व्यक्तिले बनाएको होइन। यो अपौरुषेय हो। धर्म र मजहवको बीचमा ठूलो खाडल छ। धर्म शासन हुँदैन। धर्म सभ्यता हुन्छ, आचरण र नैतिकता हुन्छ। धर्म भनेको अंग्रेजी शब्दको रिलिजन होइन। सम्प्रदाय होइन। रिलिजन पौरुषेय अर्थात् कसैले बनाएको हो। पूर्वीय संस्कृतिले भन्ने धर्मको उपयुक्त र सही अर्थ दिने अंग्रेजी रुपान्तरण छैन। अंग्रेजी रिलिजन भनेको पन्थ हो, सम्प्रदाय हो। यो संस्थागत हुन्छ, यसको एउटा निर्देशन गर्ने शास्त्र हुन्छ, केन्द्रीकृत प्राधिकार बोकेको संस्था हुन्छ।

सौर्यमण्डलभित्र ग्रह, उपग्रह, नक्षत्र भएजस्तै तिनीहरू सञ्चालनका लागि निश्चित नियम छन्। नियममा नै रहेर ऋतु परिवर्त हुन्छ। जीवन र मरण सृष्टिको पद्धति हो।

‘धारयति इति धर्म’ अर्थात् जीवले धारण गरेको चरित्र, जीवन कला र पद्धति नै धर्म हो। सनातनी नियममा चल्नुलाई हिन्दुत्व भनिन्छ। सारा जगतलाई एउटै नियममा चलाउनु मात्र धर्म हो। अतः जीवन पद्धतिलाई चिनाउने कला हुन् धर्म र संस्कृति। यही परम्पराको निरन्तरता हो सनातनी परम्परा। यो सम्प्रदाय मात्र होइन। सम्प्रदाय विभक्त हुन्छ, पन्थ पनि विभक्त हुन्छ। परम्परा र स्वधर्म विभक्त हुँदैन। हिन्दु धर्म हाम्रो जीवन पद्धति र पहिचान हो भने हिन्दुत्व दर्शन हो। हिन्दु राष्ट्र भनेको चाहिँ एउटै नीति, नियम, आस्था, रीत, परम्परा, मूल्य र मान्यतालाई अवलम्बन गर्ने जनसुदाय हो। यसको दायरा फराकिलो हुन्छ, सीमित आकार र घेरामा बाँधिँदैन।

धर्मको अर्थ व्यापक छ। पन्थ, सम्प्रदाय पछि जन्मिएका हुन्। सृष्टिको आरम्भदेखि नै समाजलाई व्यवस्थित गर्न बनेको सामाजिक रीतिथिति, मूल्यमान्यता, विश्वास र संस्कार नै पछि गएर धर्म बनेको हो। यो कसैले बनाएको नभई स्वतः सिर्जित हुँदै गएको सामाजिक आचारसंहिता हो। प्रकृतिले स्वतः आफैँ सिर्जना गरेको साश्वत नियम र मान्यताहरू तथा मानवीय सद्कर्म हुन् स्वधर्म।

नैतिकता, आदर्श, सत्य, आत्मा र परमात्माको पहिचान गर्न गरिने अन्वेषण र खोज नै हो धर्म। जसरी परमात्माको अंश हरेका आत्मामा रहेको हुन्छ त्यो तत्त्वको बोध, अनुशीलन, परिशीलन नै अध्यात्मको विषय हो, जसको क्षेत्र व्यापक छ।

सत्यको खोजी धर्मको लक्ष्य हो। सत्य त एउटा नै हुन्छ, तर त्यसको आयाम, दृश्य र परिधि फरकफरक देखिँदा विद्वान्हरू ‘एकम् सत्य विप्रा वहुधा वदन्ति’ भन्छन्। अहिलेको आधुनिक समाजले बहुलवाद भनेर नामकरण गरे पनि विविध विचार, मन्त्रणा, धारणाहरूको सम्मान गर्नुपर्दछ भनेर हाम्रा तत्त्वदर्शी ऋषिहरूले उहिले नै व्यक्त गरेका हुन्, जो सनातनी छ।

हिन्दु धर्मको व्यापकताले गर्दा यो एउटा सीमित घेराभित्रको नामबोध मात्र भएर रहन सक्दैन। यो साश्वत, चीरकालीन मानवीय चेतको माथिल्लो अवस्था भएको हुँदा वेद निःसृत ऋचाका मन्त्रहरूले सिञ्चित जीवनदर्शन हो। यो धर्मप्रति आस्थावान् परम्परामा धर्मान्तरण हुँदैन। कसैले जबरजस्ती धर्मान्तरण गराउने प्रयत्न गर्नु पनि दोषयुक्त कार्य हुन जान्छ।

हिमवत् खण्ड, आर्यावर्तका आर्यहरूले अवलम्ब गर्दै आएको हुँदा यसलाई आर्य धर्म पनि भनिन्छ। हिमालसँग इन्दु (नदी) मिलेर हिन्दु भएको भन्नेहरू पनि छन्। पारसीहरूको उच्चारण भेदले गर्दा सिन्धुबाट हिन्दु भएको पनि भनियो। यद्यपि यी भनाइहरूमा विद्वान्हरू एकमत छैनन्। यो हाम्रो सनातनी परम्परमा भगवान्लाई मान्ने र नमान्ने पनि यसै हिन्दु परिवारभित्रको मानिएको छ। सनातनी परम्पराभित्र पन्थ, सम्प्रदाय, धार्मिक, अधार्मिक सबै अटाउन सक्छन्। यसको विशिष्टीकृत विशेषता नै यही हो।

हिमालय क्षेत्रदेखि हिन्द महासागरसम्म फैलिएको यो विशाल भूमण्डलभित्र अटाएका ॐ परिवारभित्रका सनातनीहरूको वेद श्रुति, स्मृति परम्पराबाट आएको हो। यसैको आधारमा टेकेर जनजीविकाको विधिविधान बनेका छन्। यज्ञ र होमहोमादीका प्रक्रिया र पद्धति बनेका छन्। वेद, उपनिषद् र गीतालाई हिन्दु धर्मको आधार मानिएको छ। प्राचीनकालमा हाम्रा ऋषिमुनिहरूको अटल विश्वास, एकाग्रता, तप र ध्यानबाट आर्जित ज्ञानले समाजको मार्ग निर्देशन गर्दै आएको छ। सामाजिक मूल्य र मान्यता कायम गरेका छन्।

यी तपस्वीहरूले र हाम्रा वेद, धर्म र दर्शनले के भन्छ भने ‘योजगत्मा हरेकको निश्चित निर्धारित कर्म छ जसलाई स्वधर्म पनि भनिन्छ र त्यो कर्म गर्नु पर्दछ।’ यसले धर्म, अर्थ, काम र मोक्षमा विश्वास गर्दछ। असल कर्मको असल र खराब कर्मको खराब नतिजा भोग्नुपर्दछ पनि भनिएको छ। अतः हामीले गर्ने कर्म स्वतन्त्र छैन। कर्मको बन्धन हुन्छ र त्यो बन्धनले हामी बाँधिएका हुन्छौँ। साथै आफ्नो परिवेश, स्थान, वातावरण र संलग्नता भित्रका अरुका कर्महरूले पनि असर गरिरहेका हुन्छन्।

जसरी हाम्रो कर्मले हाम्रो नतिजा निर्धारण गर्दछ, त्यसै गरी हामीहरूको यस जीवनको कर्मले पुनर्जन्ममा असर गर्दछ। हिन्दु धर्मले पुनर्जन्म र अवतारमा विश्वास राख्दछ। साथै वर्णाश्रम र आश्रम व्यवस्थामा पनि विश्वास राख्दछ। वर्णाश्रम भनेको चार वर्णहरूको विभाजन हो भने आश्रम व्यवस्था भनेको मानिसको उमेरअनुसार विभाजित कर्म र आश्रम हो।

वर्णाश्रमको कुरा गर्दा वेदले मानिसको गुण र स्वभावको आधारमा जे भनेर वर्गीकरण गरेको हो त्यसको व्याख्या तथा पुनर्कथन गर्दै पौराणिक कालका मुनिहरूले समयकाल अनुकूल यसलाई अर्थ लगाए। उनीहरूले श्रम विभाजनका हिसाबले समाजको समेत वर्गीकरण गरी छुत र अछुत परम्परामा विकास गरे। आधुनिक समाजमा त्यसको औचित्य तथा मानवीय आधारसमेत पुष्टि गर्ने आधार नदेखिँदा यस किसिमको व्यवस्थालाई निरन्तरता दिन आवश्यक देखिँदैन।

हिन्दु राष्ट्रसम्बन्धी अवधारणा पूर्वीय दर्शन र शास्त्रहरू निर्देशित साहित्य, धर्म, संस्कृति र परम्परामा आधारित विचार हो। यो अमुर्त अवधारणा होइन। यसका निश्चित दर्शन, मान्यता र आधार छन्। यो एउटा सुयोग्य, सक्षम, समृद्ध र न्यायोचित समाजमा निर्माण गर्ने र सामाजिक रुपान्तरणको अभियान हो। यो एउटा आफ्नो पहिचान स्थापनाका लागि गरिने संघर्ष हो, खोज हो, अनुसन्धान हो।

हिमवत् खण्ड नेपाल वैदिक अनुसन्धान हुने ठाउँ हो। उपभोगवादी संस्कारले पश्चिमाको अवधारणाबाट शासन सत्तामा परिवर्तन आएको हो। सन् ६२९ देखि १९४७ सम्म भारतमा १३१८ वर्षसम्म विदेशीहरूको शासनसत्ता रह्यो। भारत पहिला इस्लामिक शासनको र पछि अंग्रेजहरूको शासनको गुलाम रह्यो। यस अवधिमा विधर्मीहरूबाट विश्वविद्यालयहरू नष्ट गरिए। यिनीहरूको अतिवाद र विध्वंशबाट शास्त्रहरू जलाएर खरानी बनाइए। तन्त्रविज्ञान र सूक्ष्मतत्त्व विज्ञान अझैसम्म पनि पाउन सकिएको छैन। विदेशीहरूको राजमा हिन्दु धर्मलाई इस्लाम र कृस्चियानिटीसँग मिसमास गरेर अशुद्ध गर्ने काम गरियो।

नेपालका राजनीतिक दलहरू धर्मका विषयमा भ्रममा छन्। दलहरूले धर्म बुझेको भए मुलुकलाई धर्मनिरपेक्ष बनाउने नै थिएनन्। नेपाली समाजमा धार्मिक विखण्डन र विकृतिको बीजारोपण पाश्चात्य मिसनरीहरूको प्रवेशपछि भएको देखिन्छ।

नेपालको गरिबी तथा अशिक्षाको फाइदा उठाउँदै मिसनरीहरूले धर्मान्तरण गराएको देखिन्छ। धार्मिक सहिष्णुता र सद्भाव भएको समाजमा भाइरस छिरेको छ। सायद यो संविधान निर्माण गर्ने समयमा भएको अनुमान गरिन्छ। यो क्रम बढेको छ घटेको छैन। अहिले झन् मुलुक धर्म निरपेक्ष घोषणा भएपछि यसको झनै विस्तार भएको छ। मुलुक धर्मान्तरणको आक्रमणको चपेटामा परेको छ। प्रत्येक गाउँमा एउटा चर्च हुनुपर्दछ भन्ने योजनासहित मिसनरीहरू अगाडि बढेका छन्। त्यसलाई रोक्ने कुनै वैधानिक उपाय देखिएको छैन।

विश्वशान्ति मात्र होइन अन्तरिक्षसमेतको शान्तिको कामना गर्ने दर्शन हामीहरूको वैदिक दर्शन ५००० वर्षदेखि रहँदै आएको छ। हामी प्रत्येक शुभ कार्य गर्दा ‘द्यौ शान्ति, पृथ्वी शान्ति, अन्तरिक्ष शान्ति, वनस्पतीय शान्ति, ..’ मन्त्र उच्चारण गर्दछौँ। १८ पुराण लेखिसकेर पछि व्यासले ‘अष्टादश पुराणेषु व्यासस्य वचनम् द्वयम्, परोपकार पुण्याय पापाय परपीडनम्’ भने। यसको तात्पर्य हो परोपकार र परहितमा लाग्ने संस्कार हिन्दु धर्मले मात्र सिकाउँछ।

हामीहरूसँग केही शताब्दी वा सहस्राब्दीभन्दा अगाडिको अभिलेख छैन। धर्मग्रन्थ र शास्त्रहरूले नेपाल भनेको हिमवत खण्ड, मानसखण्ड, तपोभूमि भनिरहँदा हामी निरपेक्ष ढंगले आफ्नो पहिचान नखोजी बस्न मिल्दैन। हिन्दु धर्म र समाजको विषयमा अहिलेसम्म गहन अध्ययन भएकै छैन।

राष्ट्र र राज्य दुई फरक विषय हुन्। आधुनिक राज्यको अवधारणा पश्चिमा मुलुकहरूमा चौधौ शताब्दीतिर जन्मिएको हो। पूर्वीय दर्शन र साहित्यमा राज्य भनेको के हो र आदर्श राज्य कस्तो हुनुपर्दछ भन्ने विसारद चर्चा हजारौँ वर्ष अघिदेखि गरिएको छ। राज्य हुनका लागि निश्चित भूगोल, जनता र सरकार आवश्यक पर्दछ।

हेगेलको दर्शनमा आधारित ‘सामाजिक अनुबन्ध’ राज्यका लागि अनिवार्य तत्त्व हो। राष्ट्र हुनका लागि समान आकांक्षा, संस्कृति, परम्परामा आधारित एकीकृत समुदाय या समाज हो। एउटा निश्चित सिद्धान्त, एकताबद्ध, सद्भाव र सहयोगात्मक भावनाले बाँधिएको पहिचानसहितको समुदाय हो। मातृभूमि भनेको आदर्श आत्मा हो। राष्ट्रको आत्मा भनेको आदर्श हो। त्यो आदर्श भनेको धर्म, संस्कृतिक पहिचान हो। उद्योग, कलकारखाना, सडक, भवन, भौतिक निर्माण मात्र विकास हो। आध्यात्मिक उन्नयन पनि विकासको एउटा प्रमुख तत्त्व हो।

तसर्थ पहिचानका लागि, सांस्कृतिक संवर्धनका लागि, राष्ट्रिय एकताका लागि, समावेशीताका लागि, लोकतन्त्रका लागि, सामाजिक समन्वय, नैतिक मूल्य, मान्यता र स्वस्थ्य समाज निर्माणका लागि, समृद्धिका लागि, ‘वसधैव कुटुम्वकम्’को मान्यताका लागि, अल्पसंख्यक धार्मिक समुदायको अधिकारको संरक्षणका लागि र धर्मान्तरण रोक्नका लागि हिन्दु राष्ट्रको औचित्य स्थापित हुँदै गरेको अवस्था छ।

हामी सनातनीहरूको डीएनएमा नै प्रजातन्त्र र गणतन्त्रको तत्त्व समावेश छ। वेदमा ४० ठाउँमा ‘जनतन्त्र’, र ‘सभा’ को कुरा उल्लेख छ। पौराणिक समाजमा गणतन्त्र, गणराज्य र राजतन्त्र अभ्यासमा रहेका प्रशस्त उदाहरण छन्। अतः हाम्रा लागि गणतान्त्रिक व्यवस्थामा लोकतन्त्रको अभ्यास गर्नु कुनै नौलो कुरा होइन।

हाम्रो संविधानमा ‘समाजवाद’ भनेर लेखिरहन आवश्यक पनि थिएन। हाम्रो वैदिक संस्कार नै, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्भवेत्’ भनेर लेखिएकै थियो। यो भन्दा उच्च श्रेणीको समाजवाद कहाँ पाइएला जुन समाजमा सवैको कल्याण र सुखको कल्पना गरिएको होस्। यो भन्दा उत्कृष्ट उद्गार, दर्शन र पथप्रदर्शन अरू के होला?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =