अर्थमन्त्री र विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्षबीच भेटवार्ता

हिमाल प्रेस २५ जेठ २०८० १६:३९
2
SHARE
अर्थमन्त्री र विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ। बिहीबार अर्थ मन्त्रालयमा भएको भेटमा वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौती, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल भएको थियो।

आयोजनालाई पुनप्र्राथमिकीकरण गर्ने, सहयोग रकम उत्पादनशील क्षेत्रमा लगानी गर्ने, सहुलियत दरमा कर्जा प्रवाह गर्नुपर्नेलगायत विषयमा छलफल भएको बताइएको छ। विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिकाप्रति धन्यवाद दिँदै अर्थमन्त्री महतले अब पूर्वाधार विकासमा जोड दिन आग्रह गरे।

पूर्वाधार र सामाजिक विकासका सूचकबीच घनिष्ठ सम्बन्ध रहेको र पूर्वाधार विकासबाट गरिब तथा पिछडिएको वर्गमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो। बसाइँसराइले अवसरसँगै साना सहरमा चाप परेकाले पूर्वाधार विकासमा थप स्रोत आवश्यक रहेको उल्लेख गर्दै जलविद्युत्, सूचना प्रविधि, पर्यटन क्षेत्रको विकासमा सडक पूर्वाधारमा नेपालले ध्यान दिएको महतले जानकारी गराएका थिए।

माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि विश्व बैंकले वित्तीय स्रोत जुटाउन बहन गरेको नेतृत्वदायी भूमिकाका लागि धन्यवाद दिँदै अर्थमन्त्री डा. महतले उक्त आयोजना कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

भेटमा उपाध्यक्ष मार्टिनले स्रोतको समुचित परिचालनमा समस्या रहेको र त्यसलाई सम्बोधन गर्न संयुक्तरुपमा काम गर्न आग्रह गरे। खरिद तथा ठेक्का व्यवस्थापन विद्युतीय माध्यमबाट गर्ने र समयमै आयोजना कार्यान्वयनमा अन्तरनिकाय समन्वयमा ख्याल गर्नुपर्ने उनको जोड थियो।

भेटमा विश्व बैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेन, उपक्षेत्रीय निर्देशक फारिस हद्दाद जर्भाेसलगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका उच्च अधिकारीको पनि उपस्थिति थियो।

प्रकाशित: २५ जेठ २०८० १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =