बजेट सुधार नगरे द्वन्द्व उत्पन्न हुने यादवको चेतावनी

हिमाल प्रेस २४ जेठ २०८० १८:५३
58
SHARES
बजेट सुधार नगरे द्वन्द्व उत्पन्न हुने यादवको चेतावनी प्रतिनिधिसभा बैठकमा सांसद यादव। तस्बिर : रासस

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बजेट संशोधन गनरे मुलुकको द्वन्द्व उत्पन्न हुने चेतावनी दिएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष यादवले यस्तो चेतावनी दिएका हुन्।

‘बजेटलाई नसुधार्ने हो भने देशको लागि दुर्भाग्य हो। जनताले दुःख पाउँछन्। विकासको गति अवरुद्ध हुन्छ। मुलुकमा द्वन्द्वको सिर्जना गर्छ’, यादवले भने।

यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर संविधानको पालना गरेको प्रतिक्रिया अध्यक्ष यादवले दिएका छन्। उनले राष्ट्रपतिले संविधानको रक्षा गरेको पनि बताए। यादवले भने, ‘संसदले दुई–दुई पटक पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले जुन प्रमाणीकरण गरे, राष्ट्रपतिले संविधानको पालना गरेका छन्। रक्षा गरेका छन्।’

नागरिकका सन्तानलाई नागरिकता दिन रोक्ने जुन कार्य गरेर अन्याय भएको उनको भनाइ छ। यस्तै उनले प्रधानमन्त्रीको भारत भ्रमण दुई देशको सम्बन्धलाई अगाडि बढ्ने एउटा अवसर रहेको बताए। उनले भने, ‘केही अगाडि बढ्यो, धेरै कुरा अगाडि बढ्न बाँकी छ।’

यस्तै उनले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन्। उनले बजेट संविधानले परिकल्पना गरे अनुरुपको समाजवादउन्मुख पनि नभएको बताए।

यादवले भने, ‘बजेट समाजवादउन्मुख छँदै छैन। बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ। यस किसिमको बजेटले समाजवादउन्मुख बाटो पक्रन सक्दैन।’ यस्तै उनले आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत हासिल गर्न असम्भव रहेको बताए।

उनले भने, ‘२०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुन पनि सम्भव छैन।  भ्रष्टाचारलाई नियन्त्रण गर्ने कुनै कन्ट्रोल प्लान छ? कहीँ केही छैन त। कुरा गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन।’

प्रकाशित: २४ जेठ २०८० १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 20 =