छुट्टै गठबन्धन निर्माणको कसरतमा देउवा!

हिमाल प्रेस २३ फागुन २०८० १८:४१
208
SHARES
छुट्टै गठबन्धन निर्माणको कसरतमा देउवा!

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी-एमाले गठबन्धनविरुद्ध छुट्टै समीकरण निर्माणको गृहकार्यमा जुटेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिएको भन्दै सभापति देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतका साना दल मिलाएर ‘इन्क्लुसिभ डेमोक्रेटिक एलाइन्स’ गठनमा जुटेको देउवा निकट कांग्रेसका एक नेताले जानकारी दिए।

यस क्रममा देउवाले बधुबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुरलगायतका नेतासँग आफ्नै निवास बूढानीलकण्ठमा छलफल गरेका छन्।

राप्रपा र जनमत नयाँ गठबन्धनमा सहभागी भएका छैनन्। गठबन्धन निर्माणमा हस्ताक्षर गरे पनि जसपाले सरकारमा जाने निर्णय गरेको छैन। नागरिक उन्मुक्तिले पनि तत्काल सरकारमा नजाने निर्णय गरेको छ।

कांग्रेसका ती नेताका अनुसार देउवा प्रदेश सरकार जोगाउने कसरतमा लागेका हुन्। यादवले वर्तमान माओवादी गठबन्धनलाई साथ दिएर सरकारमा सहभागी भएमा मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार ढल्ने सम्भावना छ। सोही कारण उनले तत्काल संघीय सरकारमा जाने निर्णय नगरेका हुन्।

यसैगरी सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिएर भए पनि प्रदेश सरकारमा माओवादी-एमाले गठबन्धनलाई नदिने प्रयासमा देउवा रहेको ती नेताले बताए। संघीय सरकारमा वर्तमान गठबन्धनविरुद्ध बहुमत पुर्‍याउन भने सजिलो छैन।

विद्यमान संघीय संसद्‌मा कांग्रेसको ८८ सिट छ। यसैगरी राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६, लोसपाको ४ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट छ। २७५ सदस्यीय संसद्‌मा बहुमत पुर्‍याउन १३८ सदस्य चाहिन्छ। एमाले–माओवादी गठबन्धनमा एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र नेकपा एकीकृत समाजवादीको १० सिट छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + sixteen =