मलाई केही समयपछि परराष्ट्र मन्त्रालयमा भेटिन्छ : उपेन्द्र यादव [अन्तर्वार्ता]

हिमाल प्रेस २७ फागुन २०८० १८:१३
438
SHARES
मलाई केही समयपछि परराष्ट्र मन्त्रालयमा भेटिन्छ : उपेन्द्र यादव [अन्तर्वार्ता] स्वास्थ्य मन्त्रालयमा पदबहाली गरेपछि उपेन्द्र यादव। तस्बिर : यादवको सचिवालय

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ लिएर पदबहाली भएका छन्। दुई मन्त्री र एक राज्यमन्त्री पाएपछि जसपा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल भएको हो। यादवले एमालेसहितको सत्ता गठबन्धनमा हस्ताक्षर गरेपछि कांग्रेस सभापति शेरबहादुरलाई भेट्न पुग्दा नयाँ गठबन्धनमा हल्लाखल्ला भएको थियो। उनी सरकारमा सहभागी नहुने भन्ने शंका पनि बढ्दै थियो। मधेश प्रदेश सरकारमा रहेका मुख्यमन्त्रीलाई थमाउने सर्तमा यादव सरकारमा गएका हुन्। आफ्नो पार्टी नेतृत्वको प्रदेश सरकार जोगाएर उपप्रधानमन्त्री बनेका यादवसँग हिमाल प्रेसका चन्द्रशेखर अधिकारीले गरेको कुराकानी:

तपाईँ त परराष्ट्रमन्त्री हुने हल्ला थियो तर स्वास्थ्य मन्त्रालयमा जानुभयो नि?

हो, हल्ला ठिकै हो। केही समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक सुधार गरेर परराष्ट्रमा जाने नि। हुन्न र? यति नै भन्ने त टुंगो छैन तर केही समयपछि तपाईँले मलाई परराष्ट्रमै भेट्नुहुनेछ। स्वास्थ्य क्षेत्रमा धेरै चुनौती छ। यसलाई केही दिशा दिएर एउटा लाइनमा ल्याउनेछु।

तपाईँको भनाइको तात्पर्य गठबन्धन धेरै समय जान सक्दैन भन्ने हो कि अर्को सरकारमा परराष्ट्र लिने भन्ने हो?

लामो हाँसो…, यो सरकार लामै समयसम्म जान्छ नि। सबै मिलिसकेको छ। केही समयपछि जिम्मेवारी हेरफेर मात्र हुनसक्छ भनेको हुँ। सबै दलका सबै नेता प्रयोग भइसकेकाले कसले के गर्ने भन्ने चासो हुनु स्वाभाविकै हो। यो सरकारले नगरे कसले गर्ला? त्यसैले यो सरकारलाई पूरा समय लैजाने हो र काम पनि गर्दै जाने हो। लोकतन्त्रमा काम नगरेमा पछि परिन्छ। काममा विश्वास राख्नेहरूले आमनागरिकका लागि केही न केही गर्न आवश्यक छ। अर्को सरकार बन्ने विषयमा मैले सोचेको पनि छैन। लामोछोटो जतिसुकै कार्यकाल भए पनि इमानदार भएर जिम्मेवारी सम्पन्न गर्नेछु।

प्रतिपक्षी दलसँग पनि छलफलमा रहेको व्यक्ति हुनाले कुनै दिन यो गठबन्धनलाई धोका दिएर अर्कोतिर जाने योजना छैन नि?

हाँसो…, म त सधैँ सबैलाई सम्मान गर्छु। प्रतिपक्ष दलको नेता शेरबहादुर देउवाज्यूसँग भेटघाट हुन्छ। बस्छु, केही कुरा हुन्छ। केपी ओलीजीसँग कुराकानी हुन्छ। माधव नेपालजी, झलनाथ खनालजी सबैसँग कुराकानी हुन्छ। सबैप्रति मेरो उत्तिकै सम्मान छ। त्यसैले यो वा त्यो निहुँमा यताउता गर्ने भन्ने होइन। हामी लोकतन्त्रका लागि लडेर आएको मानिस हुनाले न्यायको सिद्धान्त अंगीकार गर्छौँ।

अहिलेको क्याबिनेटमा विभिन्न आरोप लागेका नेताहरू पुगेका छन् भनेर टिप्पणी भइरहेको छ। त्यही कारणले पनि गठबन्धनको आयुमा शंका भएको हो कि?

हो, आरोप लागेकाहरू मन्त्री नियुक्त भएका छन्। लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ। आरोप लगाउन पनि पाइन्छ। सँगै न्यायालय पनि छ। त्यसले पनि त काम गर्ला। दोषी उम्कन हुँदैन भने निर्दोष पर्नु पनि भएन। आरोप लागेका मन्त्रीहरूसँग कुराकानी भइरहेको छ। उनीहरूका कुरा सुन्दा आरोपमात्रै हो कि भन्ने पनि लाग्छ। उनीहरूले पनि मनन गरेर काम गर्लान्। मैले त के भन्ने हो र?

प्रश्न गर्ने नाममा आरोपितलाई तत्काल सजाय दिन भन्दै गालीगलौजमा जानु भएन। लोकतन्त्र भनेको भीडतन्त्र होइन। न्यायालयबाट कारबाहीको प्रसंग उठेपछि आफैँ बाहिरिने वा स्वार्थ बाझिने भन्दै नेतृत्वले जिम्मेवारी लिने काम हुन्छ। भीडले दोष लगाउँदैमा दोषी हुने होइन। आरोप त जे पनि लाग्न सक्छ। प्रमाणित गर्ने निकायले शंकाको घेरामा राखेर छानबिन थाल्यो भने हामीले चासो दिने हो। अन्यथा राजनीति गर्नेमाथि अनेक आरोप लागिरहेका हुन्छन्।

आरोप लगाएर जिम्मेवारीबाट हटाइएकालाई मन्त्री पदमा दोहोर्‍याएको देख्दा प्रश्न उठ्नु स्वाभाविक होइन र?

प्रश्न उठाउन पाइन्छ। आरोप पुष्टि नहुँदासम्म जिम्मेवारी लिन त पाइन्छ। त्यही भएको होला सायद। यसमा मैले धेरै ध्यान दिन भ्याएको छैन। हाम्रो मन्त्रिपरिषद्मा त्यस्ता आरोपित धेरै छन् र? केही भएको भए शुद्धीकरण भइहाल्छ नि। यसमा हामी ढुक्क छौँ। हामीले संरचना बनाएका छौँ। त्यही संरचनाले कतैको प्रभावमा नपरी काम गर्छ। सुनकाण्डदेखि नुनकाण्डसम्म छानबिन हुन्छ अनि त्यहीअनुरूपको कैयौँले मुद्दा पनि हाल्लान्। अहिल्यै अनुमान र हल्लाको भरमा सबै छानबिन गर्न मिल्दैन।

आफैँ मन्त्री भएपछि त आफूलाई जोगाउने प्रयास होला अनि प्रमाण पनि नष्ट गर्लान् नि?

त्यस्तो गर्दा कर्मचारी चुप लागेर बस्लान् र? जोगिन त बाहिर बसेरै अनेकौँ उपाय अवलम्बन गर्न सकिन्छ। आरोप लागेकाहरू भित्र आएपछि झन् कमजोर हुन्छन्। प्रश्न गर्ने ठाउँबाट उत्तर दिने ठाउँमा आएपछि आफैँ असहजमा परिहाल्छन् नि। त्यसैले त्यस्तो हुँदैन बरु उल्टै उनीहरूका विषयमा कुरा उठेर छानबिन गर्ने निकाय थप सक्रिय हुन्छ। त्यही कारण पनि कतिपयलाई सरकारमा जान उत्साहित गरिएको हुन सक्छ। दोषी छन् भने जहाँ भए पनि पक्कै सजाय पाउँछन्। निर्दोषलाई बलजफती दोषी बनाउनु त भएन।

उसो भए सरकारमा बसेर काम गर्न सजिलो छ त?

सजिलो त के छ र दुनियाँमा? हामी असजिलो कुरा समाधान गर्न त आएका हौँ। हामी सबै अवरोध चिर्दै काम गर्नेछौँ। आमनागरिकलाई केन्द्रमा राखेर काम गर्ने सोचका साथ अघि बढेका छौँ। त्यसैले काम हुनेछ। मैले त्यहीअनुसार काम गर्नेछु। अन्य साथीहरुले पनि यसरी नै मेहनत गर्नुहोला भन्ने आशा छ। राजनीतिमा उतारचढाव आउँछ। त्यसअनुरूपको समाधान पनि गर्दै जानेछौँ।

पद तथा गोपनीयताको शपथ लिँदै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव। तस्बिर : यादवको सचिवालय

हामी निकै असजिलो भूराजनीति अवस्थामा छौँ भनिन्छ। तपाईँ त कूटनीति पनि बुझ्ने व्यक्तित्व हुनुहुन्छ। अझ केही समयपछि परराष्ट्र मन्त्रालयको नेतृत्वमा जान खोज्दै हुनुहुन्छ। जटिल भूराजनीतिलाई कसरी व्यवस्थापन गर्न सकिएला?

हामीलाई सजिलो त कहिले थियो र? राणाकालमा सजिलो भएको भए जंगबहादुरका खलक मासिने थिएनन्। त्यहाँभित्र सत्तामा काटाकाट हुने थिएन। नेपालको राजनीति सात सालपछि कहिल्यै स्थिर भएन। पञ्चायतको तीन दशक उकुसमुकुसमै बित्यो। हामी सधैँ उस्तै छौँ। हाम्रो नियति एउटै छ। हामी बाह्य प्रभावमा परिरहेका हुन्छौँ। अहिले पनि त्यो देखिन खोज्ला तर हामी बढो सचेत ढंगले अघि बढ्दैछौँ।

मुलुकलाई विकास र समृद्धितर्फ लैजानुपर्नेछ। हामीले त्यही लक्ष्यमा अडेर काम गर्ने हो। यो वा त्यो भनेर कसैलाई काखी च्याप्ने होइन। हाम्रो दुई छिमेक र पश्चिमा शक्तिलाई मुलुकपिच्छेको सम्बन्ध कायम गर्दै प्राथमिकताका आधारमा सहकार्य गर्ने हो। सरकारको घोषित नीति पनि यही हो।

तपाईँ संघीय सरकारमा गएपछि जनता समाजवादी नेतृत्वमा रहेको मधेश प्रदेशमा सरकारमा केही गडबडी हुन्छ कि भन्ने छ नि?

सुरुमा त थियो। यता आउँदा उताको व्यवस्थापनको विषय उठाउन नसकेको भए मधेश सरकारको नेतृत्व सीधै अर्को दलमा जाने थियो। अहिले यसमा ढुक्क छु। राजनीति हो, सधैँ ढुक्क त कसरी हुन सकिन्छ र? प्रदेशमा सरकार जोगाएर यता पनि उपप्रधान तथा स्वास्थ्यमन्त्री भएको छु। काम पनि गर्नेछु।

स्वास्थ्य क्षेत्रमा तपाईँका प्राथमिकता केके छन्?

मन्त्रालयको आँकडा लिएपछि योजना निर्माण  गर्ने हो। २०७६ सालमा स्वास्थ्यमन्त्री हुँदा नयाँ स्वास्थ्य नीति ल्याएको थिएँ। त्यही नै स्वास्थ्य मन्त्रालयको मूल मार्ग निर्देशन हो। त्यसलाई पूरा गराउनेछु। स्वास्थ्य नीति जहाँ अड्केको छ त्यहाँ फुकाउने र सम्बोधन गर्दै अघि बढ्ने हो। नागरिकको हितमा काम गर्ने हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =