स्थानीय सरकारको एक वर्ष

नगर प्रमुखको उत्साहले व्यवस्थित बन्दै धनगढी

पदमराज भट्ट २२ जेठ २०८० १५:२५
418
SHARES
नगर प्रमुखको उत्साहले व्यवस्थित बन्दै धनगढी धनगढी बजार।

स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएर प्रमुखमा निर्वाचित हुनेमध्येका एक हुन् गोपाल हमाल। हमालले धनगढी उपमहानगरपालिकाको नेतृत्व सम्हालेको एक वर्ष बितेको छ।

स्वतन्त्र रूपमा चुनाव जितेका केही जनप्रतिनिधि सामाजिक सञ्जालमा लोकप्रिय छन्। उनीहरू सञ्जालबाटै आफूले गरेका कामको विवरण सार्वजनिक गर्छन्। आलोचना र प्रशंसा पाएर चर्चामा आउन खोज्नु उनीहरूको विशेषता बनेको छ।

धनगढीका प्रमुख हमाल भने सामाजिक सञ्जालमा त्यति देखिँदैनन्। खुरुखुरु आफ्नो जिम्मेवारीमा सक्रिय हमाल पञ्चवर्षीय योजना बनाएर नगर विकासमा सक्रिय छन्। डेढ दशकअगाडि कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा संघलाई सर्वोत्कृष्ट शाखाको पुरस्कार दिलाउन सफल हमाल नगर प्रमुखमा चाहिँ कति सफल हुने हुन् त्यो त आगामी दिनले बताउला। यहाँ उनै हमालले धनगढीको प्रमुख पद सम्हालेपछि थालनी गरेको विकास निर्माणका केही पक्ष चर्चा गरिएको छ।

वडा क्लिनिक सेवा

नगरप्रमुख हमालले धनगढीको योजनाबद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाई अघि बढ्ने पहिलो निर्णय गरेका थिए। जसमा उनले सीमित स्रोतसाधनलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्य राखेका थिए।

उपमहानगरले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा प्राथमिक योजनामा रहेको वडा क्लिनिक सेवा चालु आर्थिक वर्षको पहिलो दिनमा नगरप्रमुख हमालले सुरु गरेका थिए।

क्लिनिक सेवामा दुई फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरको मासिक २/२ लाख रुपैयाँका दरले चिकित्सकीय शुल्क भाटभटेनी सुपरमार्केटले पाँच वर्षसम्मका लागि बेहोर्ने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य जाँचको मेसिनरीको सहयोग उपलब्ध भएको छ। औषधि व्यवसायी संघ र व्यवसायी र समाजसेवी दाताले औषधि दिएका छन्।

वडा क्लिनिकमा गाउँघरमा निःशुल्क स्वास्थ्य परीक्षण, प्रयोगशाला सुविधा, अल्ट्रासाउन्ड सेवा, ईसीजी सेवा, आँखा रोग, दाँतसम्बन्धी समस्याको परीक्षण तथा निःशुल्क औषधि वितरण गरिएको छ। वैशाख मसान्तसम्म सेवा लिने बिरामीको संख्या ३३ हजार ५ सय ६६ छ।

आमा बचाउ कार्यक्रमअन्तर्गत वडा नं १६, १८, र १९ मा दुईवटा एम्बुलेन्सको व्यवस्था गरी गर्भवती सुत्केरी आमालाई निःशुल्क सेवा प्रदान गरिएको छ।

चार पुराना सडक कालोपत्रे, दुइटा पुल निर्माणाधीन

पहिलो वर्षको बजेट तथा कार्यक्रममा पुराना योजनालाई प्राथमिकता दिएको उपमहानगरले भौतिक पूर्वाधार विकासमा पनि उत्तिकै जोड दिएको छ।

उपमहानगरपालिकाका अनुसार चारवटा पुराना सडक कालोपत्रको काम पूरा भएको छ। साढे तीन किलोमिटर सडक कालोपत्रका लागि एक वर्षमा चार करोड रुपैयाँ खर्च भएको छ।

३५ वटा सडक नालीसहित निर्माणको चरणमा छन्। दुईवटा पक्की पुल निर्माण हुँदैछन्। उपमहानगरले १० वटा कालोपत्र सडक मर्मत गरेको छ भने १० वटा मर्मत गर्न ठेक्का सम्झौता गरेर काम सुरु भएको छ।

नगरप्रमुख हमाल नेतृत्वको टिमले पहिलो वर्ष बेहडाबाबा, जाखोर ताल र तौलहवा तालको बाँकी रहेको कामसमेत पूरा गरेको छ। ताल संरक्षणका लागि यस वर्ष ६ करोड रुपैयाँ खर्च भएको डिभिजनल इन्जिनियर दीजराज भट्ट बताउँछन्।

‘केही योजना पुराना सरेर आएका थिए,’ उनी भन्छन्, ‘केही योजना नयाँ थिए। चालु वर्षमा ६४ करोड खर्च गरेका छौँ। पुँजीगतअन्तर्गत ३६ करोड खर्च भएको छ।’ भट्टका अनुसार विद्यालयका चारवटा भवनको काम पूरा भएको छ। धनगढी नमुना माध्यमिक विद्यालयको भवन उद्घाटनसमेत भइसकेको उनी बताउँछन्। तीनवटा विद्यालयका भवनको निर्माण भइसक्दा चार करोड भुक्तानी गरिसकिएको छ। थप आठवटा नयाँ भवन निर्माणको चरणमा छन्।

मुख्य सडकका ४२८ संरचना खाली

लथालिंग अवस्थाका योजनालाई पूरा गर्न पहिलो प्राथामिकता राखेको उपमहानगरले मुख्य सडकका संरचना खाली गरेको छ। मुख्य सडक क्षेत्रका घर तथा जग्गाधनीले भौतिक संरचना हटाएका छन्।

धनगढीमा मुख्य सडकको २.३ किलोमिटर क्षेत्रभित्र रहेका ४ सय २८ भौतिक संरचना खाली गर्नु नगरप्रमुख हमालको मुख्य उपलब्धि हो। सुदूरपश्चिम सरकारले धनगढीको मुख्य सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा ठेक्का सम्झौता गरेको छ। २४ महिनाभित्र मुख्य सडक निर्माणको काम पूरा हुनेछ। मुख्य सडकको १५ मिटर दायाँ र १५ मिटर बायाँका निजी संरचना खाली गरिएको थियो। सरकारी कार्यालयलाई सडकको सेटब्याकसमेत छोड्न भनिएको छ।

सडकको सेटब्याक रहेको क्षेत्रमा वृक्षरोपण गर्ने उपमहानगरको योजना छ। धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको सडक क्षेत्रीय सहरी विकासमार्फत कालोपत्र हुने र कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सडक प्रदेश सरकारले कालोपत्र गर्ने भएपछि धनगढीको मुख्य सडकस्तरीय हुने नगरवासीको अपेक्षा छ।

उज्यालो धनगढीको सुरुवात

भौतिक पूर्वाधार निर्माणमा सबैले देख्ने गरी भएको काम सडकबत्ती जडान हो। मोहनापुल-अत्तरिया ६ लेन सडकमा नेपाल विद्युत् प्राधिकरणको ४० तथा उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा स्मार्ट सडकबत्ती जडान गरिएको छ। स्मार्ट सडकबत्ती जडानमा २ करोड ७० लाख खर्च भएको छ। उज्यालो धनगढी अभियानअन्तर्गत थप १५ वटा हाइमास्ट लाइट जडान गरिएको छ।

मोहनापुल-अत्तरिया ६ लेन सडकमा १०, फूलबारी क्षेत्रमा तीन तथा बेहडाबाबा र शिवपुरी धाममा एकएकवटा हाइमास्ट लाइट जडान गरिएको छ। उपमहानगरले हाइमास्ट लाइट जडानमा एक करोड खर्च गरेको छ। ६ लेन सडकको बाँकी रहेको क्षेत्रमा स्मार्ट लाइट जडानका लागि ठेक्का लागिसकेको छ।

९४ लाखका नयाँ लाइट खरिद कार्य अघि बढेको छ। नगरप्रमुख हमालले असारसम्म चौराहदेखि भन्सारसम्मको बत्ती जडानको काम पूरा हुने बताए। ‘सुरुवात ६ लेन सडकबाट गरेका हौँ,’ उनी भन्छन्, ‘१९ वटै वडामा बनाउने हो। क्रमिक रूपमा गर्दै जाने हो।’

एक वर्षमा ६ वटा गाडी खरिद

उपमहानगरपालिकाले पूर्वाधार निर्माणमा एक वर्ष अवधिमा ३६ करोड खर्च गरिसकेको छ। यस अवधिमा ६ वटा सवारीसाधन खरिद गरिएको हमाल बताउँछन्।  नगर प्रहरीका लागि ४४ लाख ९५ हजारको जिप, ८० लाखका दुई डोजर, फोहोर बोक्नका लागि २१ लाखको ट्याक्टर र ५७ लाखको फोहोर संकलन गर्ने कम्प्रेसर खरिद गरिएको छ। साथै एक थान ट्रिपर खरिद प्रक्रियामा छ। नगरप्रमुख हमालले आफूले भने व्यक्तिगत गाडी प्रयोग गर्दै आएका छन्।

हमालले सरकारी सेवासुविधा उपभोग नगर्ने घोषणा गरेका थिए। पूर्व नगरप्रमुखको गाडी विशेषज्ञ वडा क्लिनिकमा प्रयोग हुँदै आएको छ।

सबै वडाका सडकमा ग्राभेल

१९ वटै वडाका सडकमा उपमहानगरपालिकाका ट्रिपर प्रयोग गरी ग्राभेल गर्ने काम जारी छ। नगरवासीको मागअनुसार सबै वडाका सडकमा ग्राभेल भइरहेको छ।

हमाल भन्छन्, ‘प्रत्येक दिनको ग्राभेलको हिसाब दिएका छौँ। एक वडामा एक दिनमा ग्राभेल हुँदैछ। दिनमा ग्राभेल गरिन्छ, साँझ जेसीबीले मिलाउँछ। धनगढीका सबै वडाका बाँकी सडकमा १८ करोडको ग्राभेल लाग्ने भएको छ।’

१९ वटै वडाका सबै सडकमा ग्राभेल नहुँदा हुने समस्या नआओस् भनेर काम भइरहेको हमाल बताउँछन्। बिजुली, कल्भर्ड, ह्युमपाइपलगायत काम पनि क्रमिक रूपमा भइरहेको उनको भनाइ छ।

खोला अतिक्रमणमा अंकुश

धनगढीको मुख्य समस्या डुबान हो। डुबान समस्या समाधानका लागि नगरप्रमुख हमालको टिमको खोलानाला तथा सार्वजनिक सम्पत्तिमाथि अतिक्रमण खाली गर्ने काम जारी छ।

गत वर्षको असार १ गतेबाट खोलाको अतिक्रमण हटाउन सुरु गरिएको थियो। खोलानालामाथि भएको अतिक्रमण नहटाउँदासम्म डुबानको समस्या समाधान नहुने भन्दै असार १ गतेदेखि अतिक्रमित क्षेत्र खाली गर्न थालिएको नगरप्रमुख हमाल बताउँछन्।

‘अतिक्रमण हटाउने अभियान जारी छ,’ उनी भन्छन्, ‘धनगढीको वडा नम्बर २, ३, ४ र १ का विभिन्न खोला तथा सार्वजनिक जमिन खाली गराइएको छ।’

हरित धनगढी अभियान

हरित धनगढी अभियानअन्तर्गत मोहनापुल-अत्तरिया ६ लेन सडकमा वृक्षरोपण गरिसकिएको छ। सडकको मिडियनमा मात्रै ३ हजार १ सय २५ बिरुवा उपमहानगरपालिकाले रोपेको छ। फुटपाथमा छाया दिने वृक्षरोपणको कामसमेत सुरु भएको छ। कैलाली भन्सार क्षेत्रमा बिरुवा रोप्नका लागि खाल्डा खन्ने काम भइरहेको छ।

कानुन तथा कार्यविधि निर्माण

उपमहानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालनको ६ वटा कार्यविधि निर्माण गरेको छ। विशेष वडा स्वास्थ्य क्लिनिक सञ्चालन कार्यविधि, सम्पति कर व्यवस्थापन कार्यविधि, विषयगत समिति (कार्य सञ्चालन) कार्यविधि, विपद् व्यवस्थापन सञ्चालन कार्यविधि र नमस्ते मेयर जनगुनासो सुनुवाइ सञ्चालन तथा व्यवस्थापन कार्यविधि र आमा बचाउ कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गरेको छ। त्यसैगरी नगर स्वास्थ्य नीति २०७९ समेत निर्माण गरेको छ।

धनगढी उपमहानगरपालिकाले एक वर्षमा ६ वटा ऐन निर्माण गरेको छ। नगर शिक्षा ऐन, २०७४ दोस्रो संसोधन ऐन २०७९, धनगढी उपमहानगरपालिका बजार व्यवस्थापनसम्बन्धी ऐन २०७९, प्लास्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी ऐन, विद्युतीय रिक्सा र अटो रिक्सा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी ऐन, खेलकुद विकास ऐन र छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन ऐन निर्माण गरेको छ।

धनगढी बजारमा रहेको सवारीसाधन पार्किङको समस्यालाई समाधान गर्न मालपोत सडकमा रहेको कर्मचारी मिलन केन्द्र जग्गामा बहुतले कार पार्किङ र वडा नं ४ मा रहेको बसपार्क साँघुरो भएकाले वडा नं ३ को कालिका नगरमा निर्माण गर्ने कार्यका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न नगर विकास कोषलाई अनुरोध गरिएको हमालले बताए।

उनी जनताले आफ्नो कामको मूल्यांकन गर्नेमा ढुक्क छन्। हमाल भन्छन्, ‘मैले यो यो काम गरेँ भनेर हल्ला गर्नुको औचित्य छैन। जनताले मूल्यांकन गर्ने हो।’

दलका प्रतिनिधिले जसरी दबाब सहनुपरेको छैन

प्रकाशित: २२ जेठ २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =