अन्तर्वार्ता

दलका प्रतिनिधिले जसरी दबाब सहनुपरेको छैन

गोपाल हमाल, मेयर, धनगढी उपमहानगरपालिका

पदमराज भट्ट २१ जेठ २०८० १५:१९
290
SHARES
दलका प्रतिनिधिले जसरी दबाब सहनुपरेको छैन

गोपाल हमाल गत वर्ष भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धनगढी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका नृपबहादुर वडलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रमुख बनेका उनले उपमहानगरपालिकाको कुनै सेवासुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिई ‘धनगढी मोडेल’ स्थापित गर्ने घोषणा गरेका थिए। नगर प्रमुख भएको एक वर्ष पुगेका अवसरमा हमालसँग हिमाल प्रेसका पदमराज भट्टले गरेको कुराकानीको सम्पादित अंश :

कार्यकालको पहिलो वर्ष भएका कामलाई कसरी लिनुभएको छ?

काम गर्न सजिलो छैन। हामीले बनाएका योजनालाई कार्यान्वयन गर्न लागिपरेका छौँ। गत वर्ष प्लास्टिकमा बन्देज लगायौँ। गुटखाको र्‍यापर बन्द गर्‍यौँ। खोलानाला, तालतलैया र सार्वजनिक स्थानमा भएको अतिक्रमण हटाउन अभियान सुरु गर्‍यौँ। जसलाई पाँच वर्षसम्म निरन्तरता दिनेछौँ।

साउनदेखि हरेक महिना विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन गरिरहेका छौँ। विशेषगरी गर्भवती महिलाले लाभ पाइरहेका छन्। अल्ट्रासाउन्ड, ईसीजी प्रयोगशालाका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराइरहेका छौँ। स्त्रीरोग विशेषज्ञ र फिजिसियन छन्।

निजी अस्पतालको संघसँग मिलेर हाडजोर्नी, मानसिक, आँखासम्बन्धी थप सेवा सञ्चालन गरेका छौँ। प्रत्येक महिना १९ वडामै विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन गर्छौँ।

स्थानीय तहको सरकारलाई गाउँको सिंहदरबार बनाउन केकस्ता काम भइरहेका छन्?

हामीले प्राथमिकता तोकेर काम गरिरहेका छौँ। यो वर्ष शिक्षालाई सुदृढीकरण गर्ने योजना छ। सोहीअनुसार प्रत्येक वडाको एक विद्यालयको प्रधानाध्यापकलाई अध्ययन भ्रमणका लागि भारतको नयाँदिल्ली पठाएका छौँ। अध्ययन गरेर आउनुस् र सरकारी विद्यालयलई पनि राम्रो बनाउनुस् भनेका छौँ।

सरकारी विद्यालयलाई बलियो बनाउन सकिन्छ भन्ने कुराको उदाहरण दिल्लीका सरकारी विद्यालय हुन्। त्यहाँ सरकारीमा भर्ना नपाएपछि मात्र विद्यार्थी निजीमा जान्छन्। त्यही बुझ्न अध्ययनका लागि पठाएका हौँ।

आमा बचाउ अभियान पनि सुरु गरेका छौँ। सुत्केरी व्यथा लागेपछि गाडा, ट्याक्टरमा ल्याउँदा आमा र बच्चाको ज्यान जाने जोखिममा पर्छ। अभियानअन्तर्गत चारवटा एम्बुलेन्स निःशुल्क रूपमा राखेका छौँ।

केन्द्र तथा प्रदेश सरकारसँगको समन्वय कस्तो छ?

केन्द्र र प्रदेशले भन्दा पनि हामीले आफ्नो तर्फबाट समन्वय गरिरहेका छौँ। आगामी दिनमा बजेट आएर कार्यान्वयन भएपछि बल्ल भूमिका थाहा हुन्छ। धनगढी उपमहानगरपालिकाका प्रदेश तथा प्रतिनिधिसभाका सांसद, सामानुपातिक सांसदलाई बोलाएर एउटा संयन्त्र निर्माण गरेका छौँ। स्थानीय सरकारका प्रतिनिधि, प्रदेश सांसद र प्रतिनिधिसभाका सदस्यको जनता एउटै हो। त्यसैले प्राथमिकताका आधारमा विकास गर्नुपर्छ र पहुँचको आधारमा होइन।

राजनीतिक दलबाट आएका प्रतिनिधिको सहयोग अपेक्षाअनुरूप पाउनुभयो कि भएन?

स्वाभाविक रूपमा प्राथमिकतामा फरक पर्छ। राजनीतिक दलले पार्टी, कार्यकर्ताको फाइदा हेर्छ। म स्वतन्त्र रूपमा नगरप्रमुख भएको हुँ। मैले धनगढीको जनताको दीर्घकालीन फाइदाबारे सोच्छु।

धनगढीका प्रमुख समस्यामध्ये डुबान एक हो। त्यसको समाधानका लागि अहिलेसम्म के-के काम भए? अबका दिनमा केकस्ता काम हुनेछन्?

पहिलो वर्ष प्राकृतिक नदी, नाला, कुलोका क्षेत्राधिकार छुट्याउँदै छौँ। ठाउँठाउँमा कुलो खोलिरहेका छौँ। धेरै पानी त्यताबाट बगेर जान्छ। त्यसलाई स्थायी रूपमा पक्की बनाउन प्रदेश सरकार तथा केन्द्र सरकारसँग प्रस्ताव गरेका छौँ।

केही समयअघि एक सार्वजनिक कार्यक्रममा आफूलाई असहयोग भइरहेको भन्नुभएको थियो, के रहेछ?

दुई महिनायता साँच्चैमा असहयोग भइरहेको छ। हामी व्यक्ति हेरेर, पार्टी हेरेर योजना बनाउँदैनौँ। धनगढी र धनगढीका जनतालाई हेरेर योजना बनाउँछौँ। योजना बनाउँदा उपभोक्ता समिति गठनलाई निरुत्साहित गरिएको छ। हामी कोटेसनमा काम गर्दैनौँ, टेन्डरबाट काम गर्छौँ। सूचना निकाल्छौँ। सार्वजनिक गर्छौँ। कतिपयलाई यो कुरा अप्ठ्यारो लाग्छ। अहिलेसम्म चलिरहेको परिपाटीमा ब्रेक लागेको छ। कसैलाई कुपन दिँदैनौँ। खाना खाएको पैसा तिर्दैनौँ। यस्ता अनावश्यक कुरा कटौती गरेका छौँ। त्यसैले प्रत्यक्ष रूपमा यो काम गरेन भन्ने त छैन तर अप्रत्यक्ष रूपबाट असहयोगको वातावरण बनेको छ।

राजनीतिक दलका प्रतिनिधिसँग काम गर्न कत्तिको गाह्रो छ?

उनीहरूका र हाम्रा कुरा मिल्दैनन्। दलबाट आएका प्रतिनिधिले राजनीतिक एजेन्डा बोकेका हुन्छन्। उनीहरूमाथि दलको दबाब हुन्छ। हामीले विकासको एजेन्डा बोकेका हुन्छौँ। हाम्रो प्राथमिकता भनेको कसरी राम्रो गर्ने, कसरी जनतालाई राहत दिने भन्ने हुन्छ। उनीहरूका प्राथमिकता जनता हुँदैनन्। दल हुन्छ, दलको कार्यकर्ता हुन्छ। त्यसैले काम गर्न चुनौतीपूर्ण हुनु स्वाभाविक हो।

अन्य स्वतन्त्र मेयरजस्तै तपाईंको चर्चा किन हुँदैन? काम नभएर हो कि प्रचार?

यो मैले बोल्ने कुरा होइन। जनताले मूल्यांकन गर्ने हो। अहिले नै अन्तिम परीक्षाको बेला भएको छैन। परीक्षा दिँदैछु। परिणाम पछि नै थाहा हुन्छ।

प्रकाशित: २१ जेठ २०८० १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =