तनहुँका रेग्मीले कोरियाबाट फर्केर गरे कागती खेती, तर हावाहुरीले बगानमा नै क्षति

हिमाल प्रेस ९ जेठ २०८० ७:२३
16
SHARES
तनहुँका रेग्मीले कोरियाबाट फर्केर गरे कागती खेती, तर हावाहुरीले बगानमा नै क्षति

तनहुँ– केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका-१३ आसापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्‍याएको छ। स्थानीयवासी राजु रेग्मीले व्यावसायिक रूपमा सुरु गरेको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो।

२६ रोपनी क्षेत्रफलमा १ हजार बोट लगाएकामा हावाहुरीले ३ सय बोट नष्ट गरेको उनले जानकारी दिए। उनका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा कागती खेती गरिएको छ।

‘हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, ३ सयभन्दा बढी बोट भाँचिएको छ, बगान ध्वस्त बनाएको छ,’ उनले भने। कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उनले गुनासो गरे।

४ वर्ष कोरिया बसेर फर्किएका उनले कागतीलाई नै मुख्य पेसा बनाउने सोचसहित अगाडि बढेका छन्।

हालसम्म ३५ लाख लगानी भएको उनले बताए। अघिल्लो वर्ष ५ लाखको कागती बिक्री गरेकामा यस वर्ष २५ लाखको बिक्री गर्ने लक्ष्य थियो। ‘कागती राम्रो फलिरहेको थियो, यो वर्ष विस्तार पनि गरेको थिएँ, तर हावाहुरीले बोटहरू जरैदेखि भाँचिएको छ,’ कृषिप्रधान देश भनिए पनि कृषिमा सम्बन्धित निकायको कम चासो रहने गरेको उनले गुनासो गरे।

कृषि ज्ञान केन्द्रका प्रमुख कुल तिवारीले हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको जानकारी दिए। उनका अनुसार जिल्लाभर क्षतिको विवरण संकलन भइरहेको छ। कृषिमा पुगेको क्षतिको मूल्यांकन गरेर कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

‘हामी सम्बन्धित निकायमा यसबारेमा जानकारी गराउँछौं, कृषकलाई क्षतिपूर्तिको व्यवस्था नगर्ने हो भने उनहरू कृषि पेसाबाटै विमुख हुनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने।

आसापानीका कागती खेती कृषकको बगानमा पुगेर अवलोकन गर्दा धेरै ठूलो क्षति भएको जानकारी पाएको उनले बताए। उनले भने, ‘कृषकले राम्रो व्यवस्थापनका साथ कागती खेती गरेको थियो, बगान व्यवस्थापन आकर्षण छ, तर हावाहुरीले एकतिहाइ बोट जरैदेखि नष्ट गरिदियो।’

पछिल्लो समय कृषिमा युवाहरूको आकर्षण बढिरहेकाले युवालाई कृषि क्षेत्रमा टिकाइराख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। जिल्लाभरको हावाहुरीको क्षतिको विवरण आइनसकेको भन्दै उनले भने, ‘हामीले स्थलगत रूपमा क्षतिको विवरण संकलनको काम गरिरहेका छौं।’

व्यास नगरपालिकाले हावाहुरी, असिनापानीका कारण भएको क्षतिको विवरण संकलन गर्न लागेको छ। केही दिन अगाडि आएको हावाहुरी, असिनापानीका कारणले नगरपालिका क्षेत्रका विभिन्न वडामा पारेको असरको विवरण संकलन गरी सात दिनभित्र वडा विपद् समितिबाट निर्णय गराई नगर विपद् समितिमा सिफारिस गर्न सबै वडा समितिलाई निर्देशन दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 18 =