कर्नाटकमा कांग्रेस जितको जस ‘भारत जोडो यात्रा’

हिमाल प्रेस ३१ वैशाख २०८० १७:४९
100
SHARES
कर्नाटकमा कांग्रेस जितको जस ‘भारत जोडो यात्रा’

काठमाडौँ-  कर्नाटक राज्यको विधानसभा चुनावमा भारतीय राष्ट्रिय कांग्रेसले प्रचण्ड जित हात पारेको छ। राज्यका २ सय २४ सिटमध्ये १ सय ३६ सिटमा कांग्रेस उम्मेदवार निर्वाचित भएका हुन्। भारतीय जनता पार्टी (भाजपा) का ६५ र जनता दल (सेक्युलर) जीडीएसका  १९ उम्मेदवार निर्वाचित भएका छन्। चार सिटमा अन्य दलका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसको जितलाई लिएर अनेक अडकलबाजी भइरहेका छन्। कांग्रेस नेताहरू ‘भारत जोडो यात्रा’ कै कारण चुनावी नतिजा आफ्नो पक्षमा आएको बताउँछन्।  कतिपय विश्लेषकहरू पनि कांग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ का कारण नै कर्नाटकमा कांग्रेसले जितेकोमा सहमत छन्। भाजपाको साम्प्रदायिक र अतिवादी नीतिका कारण पनि जनताले कांग्रेसलाई रुचाएको उनीहरूको प्रतिक्रिया छ।

जितसँगै  दिल्लीस्थित कांग्रेस मुख्यालयमा उत्सवको वातावरण छ।  जितको उत्सव बेंगलुरुदेखि नयाँदिल्लीसम्म देखिएको छ। राहुल गान्धीले भारतीय मिडियालाई सम्बोधन पनि गरे। उनले सबैभन्दा पहिले कर्नाटकका जनतासँगै पार्टी कार्यकर्ता र नेताहरूलाई बधाई दिए। साथै हरेक राज्यमा अब यसरी नै जित हात पार्ने दाबी पनि गरे। अर्थात् अब आउने हरेक विधानसभा चुनावमा भाजपाले हार्ने उनको भनाइ थियो।

‘कांग्रेस पार्टी कर्नाटकका गरिब जनताको साथमा छ,’ राहुलले भने, ‘हामीले गरिबको मुद्दामा चुनाव लडेका हौँ। हामीले घृणा र गलत शब्द प्रयोग गरेर यो लडाइँ लडेनौँ। यही सबैभन्दा सुन्दर पक्ष हो।’

राहुलले भारतलाई घृणा होइन प्रेम मन पर्ने कर्नाटकका जनताले चुनावमा स्पष्ट पारेको बताए। उनले भने, ‘कर्नाटकमा घृणाको पसल बन्द भएको छ, यहाँ प्रेमका पसल खुलेका छन्। यो सबैको जित हो। यो कर्नाटकको जित हो। हामीले कर्नाटकका जनतासँग पाँच बाचा गरेका छौँ। पहिलो दिन, पहिलो क्याबिनेटमा तिनलाई पूरा गर्नेछौँ।’

राहुल गान्धीले पनि ट्विट गरेका छन्, ‘गरिबको शक्तिले भाजपाका पुँजीपति मित्रको तागतलाई हराएको छ।’

सन् २०२४ का चुनावका लागि यो जित महत्त्वपूर्ण मानिएको छ। ‘कर्नाटकमा जो सफल हुन्छ २०२४ मा त्यसै पार्टीले जित्ने’ मानिँदै आएको छ। त्यसैले कांग्रेस र भाजपाले त्यहाँ जित्न न्वारानदेखिको बल लगाएका थिए।

अर्कोतिर चुनावको परिणाम आउने अघिल्लो दिनदेखि तयारी सुरु गरेको भाजपाका सबै तयारी खेर गएको छ। चुनावमा आफ्नो पार्टी जित्ने आशामा भाजपाको मुख्यालयमा विभिन्न तयारी भइरहेका थिए।  कर्नाटक चुनावको परिणामले उनीहरू निराश भएका छन्। भाजपाले जितेको भए प्रधानमन्त्री नरेन्द्र मोदी त्यहाँ आएर सम्बोधन गर्ने योजना थियो। तर पार्टी हारेपछि प्रधानमन्त्री त के, कुनै नेता पार्टी मुख्यालय आएनन्।

प्रधानमन्त्री मोदीले चुनावी र्‍‍याली र रोड सो गरेका थिए। तर कर्नाटकको जनतामा खासै प्रभाव नपरेको चुनावी परिणामले देखाएको छ। कर्नाटकमा हारसँगै दक्षिणमा भाजपाको पत्तासाफ भएको छ। प्रधानमन्त्री मोदीले कांग्रेसलाई बधाई र शुभकामना दिएका छन्।  -भारतीय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: ३१ वैशाख २०८० १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =