मानहानि मुद्दामा न्याय मिलेपछि राहुल गान्धीले भने, घृणाविरुद्ध प्रेमको विजय

हिमाल प्रेस १९ साउन २०८० १६:०६
58
SHARES
मानहानि मुद्दामा न्याय मिलेपछि राहुल गान्धीले भने, घृणाविरुद्ध प्रेमको विजय भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी।

काठमाडौँ- मानहानि मुद्दामा भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई उन्मुक्ति मिलेको छ। भारतीय सर्वोच्च अदालतले शुक्रबार उनीविरुद्धको मुद्दामा सजाय दिने आधार नरहेको आदेश दिएपछि उनको सांसद पदसमेत पुनर्बहाली हुने भएको हो।

‘मोदी सरनेम मुद्दामा सुरतको एक अदालतले राहुललाई दुई वर्षको जेल सजाय सुनाएको थियो। गुजरात उच्च अदालतले सो सजायमा रोक लगाउन अस्वीकार गरे पनि सर्वोच्चले त्यस सजायमा रोक लगाएको छ। ‘पर्याप्त कारण र बिनाआधार किन राहुललाई सजाय सुनाइयो र सांसद पद खारेज गरियो?’ शुक्रबार सर्वोच्च अदालतले तल्लो अदालतलाई प्रश्न गरेको छ। सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता केसी कौशिकले अदालतले सजायलाई रोकेको बताए।

सर्वोच्चको निर्णयपछि राहुल गान्धीले घृणाविरुद्ध प्रेमको विजय भएको प्रतिक्रिया दिएका छन्। उनले कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट पोस्ट गरेका छन्, ‘घृणाविरुद्ध प्रेमको विजय हो।’

आफ्नो ट्विटर ह्यान्टबाट भने उनले ‘आउँदैछु प्रश्न गर्ने नै छु’ भनेर लेखेका छन्। साथै एउटा तस्बिर पनि पोस्ट गरेका छन्। जसमा संसद्‌मा यसअघि भारतका प्रधानन्त्री नरेन्द्र मोदी र व्यवसायी गौतम अडानीबीचको सम्बन्धबारे आफूले प्रश्न गरेको तस्बिर छ।

अदालतको आदेशपछि कांग्रेस नेत्री प्रियंका गान्धीले आफ्नो ट्विटर एकाउन्टमा लेखेकी छिन्, ‘गौतम बुद्धले तीन कुरा सूर्य, चन्द्रमा र सत्यलाई धेरै दिन लुकाएर राख्न सकिँदैन भनेर बताउनुभएको छ।’ साथै उनले न्यायपूर्ण फैसला सुनाएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएकी छन्।

कांग्रेस नेता केसी वेणुगोपालले राहुललाई सांसद पदमा पुनर्बहालीका सम्बन्धमा सभामुखले निर्णय गर्नुपर्ने बताए। सिंगो भारत र विश्वको नजर सभामुखतर्फ सोझिएको  उनको भनाइ छ। उनले सञ्चारकर्मीसँग भने, ‘अब यस विषयमा सभामुखले निर्णय लिनुपर्छ। सिंगो देश र विश्वको नजर सभामुखतर्फ केन्द्रित छ।’ राहुलको संसद् सदस्यता खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने पनि उनले बताए।

गत मार्च २३ मा गुजरातको एक अदालतले राहुललाई उनको ‘मोदी सरनेम’टिप्पणीविरुद्ध आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको थियो।

राहुलले त्यति बेला‘सबै चोरजति मोदी नै किन छन्’भनेर राहुलले टिप्पणी गरेका थिए। उनीविरुद्ध भाजपाका विधायक तथा गुजरातका पूर्वमन्त्री पूर्णेश मोदीद्वारा अप्रिल १३, २०१९ मा मुद्दा दर्ता गरिएको थियो। दोषी ठहरिएको एक दिनपछि मार्च २४ मा राहुललाई लोकसभामा अयोग्य घोषित गरिएको थियो।

प्रकाशित: १९ साउन २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =