काठमाडौँ- भारतमा प्रमुख विपक्षी दलका नेता राहुल गान्धी मंगलबार अचानक नयाँदिल्लीको ७ लोककल्याण मार्गमा रहेको प्रधानमन्त्री निवासबाहिर धर्नामा बसे। राहुलको यो योजनाबारे कसैलाई जानकारी थिएन। उनी धर्नामा बसिसकेपछि मात्रै सञ्चारमाध्यमले थाहा पायो।
विपक्षका धेरैजसो नेताहरू कक्रोच जनता पार्टी (सीजेपी) र सोनाम वाङ्चुकको विरोध प्रदर्शनमा सहभागी हुन जन्तरमन्तर गइरहेका बेला राहुलले ७ लोक कल्याण मार्गमा धर्ना बस्ने निर्णय गरे। मंगलबार एनसीपी (शरद पवार समूह) का प्रमुख शरद पवार र आम आदमी पार्टीका नेता अरविन्द केजरीलावले जन्तरमन्तर पुगेर प्रदर्शनकारीहरूसँग भेट गरेका थिए।
यद्यपि सुप्रिया सुले, ७ लोक कल्याण मार्ग पनि पुगिन्, जहाँ राहुल र प्रियन्का गान्धी धर्नामा बसेका थिए। पछि राहुल, प्रियन्का, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसहितका नेताहरूलाई नियन्त्रणमा लिएर प्रहरीले त्यहाँबाट लग्यो।
सबैभन्दा महत्वपूर्ण कुरा के रह्यो भने, मोदी सरकार राहुलसँग तत्काल वार्ता गर्न पुग्यो।
नरेन्द्र मोदी सन् २०१४ मा प्रधानमन्त्री बनेपछि विपक्षको विरोधमा सरकार यसरी ‘एक्सन’ मा विरलै देखिएको छ। प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री जितेन्द्र सिंहलाई सरकारका तर्फबाट राहुलसँग वार्ता गर्न तत्काल जिम्मेवारी दिइएको थियो।
सिंहले सरकार नीट परीक्षाको प्रश्नपत्र बाहिरिएको विषय र सोमबार सीजेपीको नेतृत्वमा निकालिएको विरोध मार्चका क्रममा प्रशासनको रवैयाबारे छलफल गर्न तयार रहेको बताए।
मन्त्री सिंहका अनुसार पहिले सहमति जनाए पनि राहुल पछि हटे।
सरकारको ‘विनम्रता’ किन?
सिंहले भने,‘हामी त्यहाँ पुग्दा मैले धेरै विनम्रता र सम्मानका साथ राहुल गान्धीलाई अनुरोध गरेँ कि यो विरोध जनाउने उचित तरिका होइन। उहाँले यदि सरकार संसद्मा नीट परीक्षा, प्रश्नप्रत्र लिक र यसससँग सम्बन्धित सबै मुद्दाहरूमा छलफल गर्न तयार छ भन्ने आश्वासन दिइन्छन भने यो धर्ना स्थगित गर्न तयार रहेको बताउनुभयो।’
मोदी सरकारको यो ‘विनम्रता’ लाई धेरै राजनीतिक विश्लेषकहरूले निकै महत्वपूर्ण मानेका छन्।
पञ्चाब विश्वविद्यालयका राजनीतिक शास्त्रका प्राध्यापक आशुतोष कुमार भन्छन् संसद्मा बहसका लागि तत्काल तयार हुनुले सरकार दबाबमा रहेको देखाउँछ।
उनी भन्छन्,‘सरकार दबाबमा छ। भारतको जनसंख्या हेर्ने हो भने युवाहरूको संख्या ठूलो छ। युवाहरूले मतदान पनि गर्छन्। युवा नै मोदीका समर्थक रहँदै आएका छन्।
तर अब परिस्थिति बदलिँदै गएको देखिन्छ। बीजेपीलाई भोट गुम्ने डर छ। नीट मध्यम वर्गको मुद्दा हो, जुन २० देखि २५ प्रतिशत छ र मोदीको समर्थक रहँदै आएको छ।’
सरकारको तत्कालको प्रतिक्रिया डरका कारणले देखिएको उनको भनाइ छ।
‘मध्यमवर्ग धेरै महत्वाकांक्षी छ। सरकारको तत्कालको प्रतिक्रिया विपक्षीप्रतिको माया होइन, बरू उनीहरूको आफ्नै डर हो। न खान्छु, न खान दिन्छु को यो जादु भत्किँदै गएको देखिन्छ। यो छविमा धक्का लागेको छ। सरकारले अब धेरै भ्रममा रहन सकिँदैन भन्ने कुरा बुझ्नुपरिरहेको छ,’ आशुतोषले भने,‘सरकारका लागि यो चेतावनी हो। प्रश्नपत्र बाहिरिएपछि सहरी र मध्यमवर्गलाई घाटा भएको छ। बलियो सरकारको छवि कमजोर भएको छ। सरकार अब बहस गर्न पनि तयार छ।’
राहुलको विरोध प्रदर्शनलाई सोमबार साँझ भारतका सबै टीभी च्यानलहरूले प्रमुखताका साथ देखाए। भारतमा जनादेश निर्माणमा टीभी च्यानलहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ।
मोदी सरकारको रणनीति
मंगलबार साँझ वरिष्ठ पत्रकार राजदीप सरदेसाईले सामाजिक सञ्जाल एक्समा लेखे,‘यो ती दुर्लभ दिनहरूमध्ये एक हो, जब राहुल गान्धी लगभग हरेक समाचार बुलेटिनको केन्द्रमा छन् र यसपटक फरक कुरा के छ भने विपक्ष होइन, सरकार बचाउको मुद्रामा छ र प्रश्नको जवाफ दिइरहेको छ।’
धर्ना मथ्थर पार्न तत्काल वार्ता गर्ने सरकारको रणनीति हुनसक्ने प्राध्यापक आशुतोषको बुझाइ छ। उनी भन्छन्,‘मिडियामा राहुलका कुराहरू आउन थालेका थिए। मोदीले यो धेरै बेरसम्म हुन दिन सक्दैनथे। अझै पूरै खेल बाँकी नै छ।’
पत्रकार सरदेसाई जनतमानसमा सरकार कठघरामा उभिएको र यो धेरै महत्वपूर्ण कुरा भएको बताउँछन्।
राहुलले किन रोजे ७ लोककल्याण मार्ग?
सीपेजीभन्दा पहिले राहुलले नीट प्रश्नपत्र लिकको विषयमा अभियान सुरू गरेका थिए। तर, सीजेपीको आन्दोलनमा मानिसहरू बढी जोडिए।
यस्तो अवस्थामा राहुल र कांग्रेसका लागि यो असहज बनाउने विषय थियो। सीजेपीका संस्थापक अभिजित दिपकेको विगत आम आदमी पार्टीसँग पनि जोडिएको छ। र, उनी राहुलको ‘भारत जोड यात्रा’ को विरूद्धमा व्यङ्ग्य गर्थे।
प्राध्यापक आशुतोष भन्छन्,‘राहुल गान्धी आफ्नो मुद्दाको लडाइँको श्रेय अरू कसैलाई दिन चाहँदैनथे र अभिजितको आम जनता पार्टीसम्बन्धी विगतले कांग्रेसलाई असहज पनि बनाउँछ।’
वरिष्ठ पत्रकार सोमबारको संसद् मार्चमा सीजेपीको ठूला भूमिका ठान्छन्। उनका अनुसार सीजेपीमा एकखाले नयाँपन थियो।
‘राहुल गान्धीलाई लाग्न थाल्यो कि यो मुद्दा त कांग्रेसले उठाएको थियो। आम आदमी पार्टी पहिले दिनदेखि नै सीजेपीलाई समर्थन गरिरहेको छ। कांग्रेसलाई लाग्छ कि सीजेपीलाई आम आदमी पार्टीले ओभरटेक गर्छ। यस्तोमा कांग्रेसले टेकओभर हुनुअघि नै अर्को मोर्चा खोलिदियो,’ उनी भन्छन्,‘विपक्षको नेता यदि प्रधानमन्त्रीको घरबाहिर प्रदर्शनमा बस्छ भने मिडियाले स्थान दिनैपर्छ। यसको फाइदा पनि भयो। मिडियाले यसलाई उपेक्षा गर्न सक्दैनथ्यो।’
नरेन्द्र मोदी सत्तामा आएदेखि नै राहुल गान्धी उनलाई चुनौती दिन सक्षम छन् कि छैनन् भन्ने प्रश्न लगातार उठ्दै आएको छ।

