भारतको प्रधानमन्त्री निवास अगाडिबाट राहुल, प्रियन्का र अखिलेश पक्राउ

हिमाल प्रेस ५ साउन २०८३ २०:४० | Tuesday, July 21, 2026
18
SHARES
भारतको प्रधानमन्त्री निवास अगाडिबाट राहुल, प्रियन्का र अखिलेश पक्राउ

काठमाडौँ- शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै ककरोच जनता पार्टी (सीजेपी) को विरोध प्रदर्शन भारतको राजधानी नयाँदिल्लीस्थित जन्तरमन्तरमा जारी छ।

अर्कोतर्फ विपक्षी दल कांग्रेसका सांसदहरूले नेता राहुल गान्धीको नेतृत्वमा मंगलबार दिउँसो प्रधानमन्त्री निवास ७ लोक कल्याणमार्ग बाहिर धर्ना प्रदर्शन सुरू गरेका थिए।

कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै धर्ना प्रदर्शन गरेको हो।

प्रधानमन्त्री निवासअगाडि धर्ना प्रदर्शन गरिरहेका लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी, कांग्रेस नेत्री प्रियन्का गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।

कांग्रेस प्रवक्ता पवन खेडाका अनुसार राहुल र प्रियन्कालाई प्रहरीले दुव्र्यवहार गरेको छन्। नियन्त्रणमा लिएर उनीहरूलाई कहाँ राखिएको भन्नेबारे कुनै जानकारी नदिइएको उनले बताएका छन्।

यसअघि प्रधानमन्त्री निवासनजिकै धर्ना दिइरहेका राहुल र अन्य कांग्रेस नेताहरूलाई भेट्न मन्त्री जितेन्द्र सिंह पुगेका थिए।

भेटपछि उनले यसबारे सामाजिक सञ्जाल एक्समा एउटा लामो पोस्ट लेखे। मन्त्री सिंहले विपक्षी दलका नेता राहुलले प्रतिबद्धता जनाएर आफ्नो भनाइबाट पछि हटेको दाबी गरेका थिए।

अर्कोतर्फ कांग्रेसले विद्यार्थी र युवाहरूले न्याय नपाएसम्म आफ्ना नेताहरू प्रधानमन्त्री निवास अगाडिबाट नहट्ने बताएको थियो। कांग्रेसले प्रधानमन्त्री मोदी आफ्नो निवासबाट बाहिर आउनैपर्ने अडान लिएको छ। हाल मन्त्री सिंहका दाबीहरूबारे कांग्रेसको कुनै प्रतिक्रिया आएको छैन।

चिकित्सा प्रवेश परीक्षा ‘नीट’ को प्रश्नप्रत्र बाहिरिएपछि सीजेपीका साथै विपक्षी दलहरू प्रदर्शनमा उत्रिँदै प्रधानमन्त्री मोदी र शिक्षामन्त्री प्रधानको राजीनामा माग गरिहेका हुन्।

यसैबीच मंगलबार प्रधानमन्त्री मोदीले नीटको प्रश्नपत्र बाहिरिएपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका छन्। मोदीले केन्द्रीय संसदीय मामिलामन्त्री किरेन रिजिजुमार्फत आफ्नो भनाइ राखेका हुन्।

विपक्षी दलका नेता राहुलले युवा विद्यार्थीहरूको प्रदर्शनमा राज्यको तर्फबाट प्रदर्शन भएको क्रूरताबारे प्रधानमन्त्री मोदीसँग जवाफ माग्न प्रदर्शन गरेको बताएका छन्।

‘सरकारले कुनै जवाफदेहिता लिन चाहँदैन वा संसद्मा यसमाथि बहस चाहँदैन। भारतका युवाहरूको भविष्य बर्बाद पारेकाले प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ,’ राहुलले सामाजिक सञ्जालमा लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast